ललितपुर-२ बाट उम्मेदवार बन्न रास्वपासँग सञ्चारमन्त्री खरेलको लबिङ, टिकेट पाए राजीनामा दिने
माघ ४, २०८२ १२:३७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ । उम्मेदवारको टिकेट पाए उनी ललितपुर-२ बाट चुनाव लड्ने छन् ।
रास्वपाको सम्बद्ध स्रोतले टेकपानासँगको कुराकानीमा खरेलले उम्मेदवारको टिकेटका लागि प्रयास गरिरहेको पुष्टि गरेको छ । आज आइतबार उम्मेदवार छनौटको विषय टुङ्ग्याउन पार्टीको केन्द्रीय समितिको बैठक समेत बोलाइएको छ ।
काठमाडौँ उपत्यकाका केही निर्वाचन क्षेत्र खाली छोडेर बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो सोही बैठकबाट लाग्ने अपेक्षा गरिएको छ । सोही बैठकबाटै टुङ्गिने वा मन्त्री खरेलले चाहेको निर्वाचन क्षेत्र खाली राख्ने दुवै सम्भावना रहेको स्रोतले बताएको छ ।
निर्वाचन आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारीका लागि मङ्गलबारको समय तोकेको छ । यदि रास्वपाबाट उम्मेदवारीका लागि टिकेटको टुङ्गो लागेमा मन्त्री खरेलले ६ गते अगावै पदबाट राजीनामा दिने जानकारी उनको सचिवालयले दिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ४, २०८२ १२:३७
