उत्कृष्ट आर्टिकल लेख्ने क्रिएटरलाई एलन मस्कको एक्सले १४ करोड रुपैयाँ पुरस्कार दिने
माघ ४, २०८२ १६:४९
काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले लामो आर्टिकल लेख्ने उत्कृष्ट क्रिएटरका लागि १० लाख अमेरिकी डलर (करिब १४ करोड ५० लाख रुपैयाँ) पुरस्कारको घोषणा गरेको छ । कम्पनीले आफ्नो आगामी ‘क्रिएटर पेआउट साइकल’ मा लामो लेखलाई प्रोत्साहन गर्न यो विशेष पुरस्कारको व्यवस्था गरेको हो ।
एक्सको आधिकारिक क्रिएटर अकाउन्टले जारी गरेको सूचनालाई रिपोस्ट गर्दै मस्कले यस प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् । कम्पनीका अनुसार यसको मुख्य उद्देश्य समाजमा सार्थक बहस सिर्जना गर्ने, नयाँ समाचार ब्रेक गर्ने र संस्कृतिमा गहिरो प्रभाव पार्ने उच्च गुणस्तरका सामग्रीलाई पहिचान र सम्मान गर्नु रहेको छ ।
एक्सले प्लेटफर्मको वृद्धि विकासका लागि सन् २०२६ को मुख्य रणनीतिका रूपमा लामो लेखलाई अगाडि सारेको छ । “क्रिएटरले एक्समा सबैभन्दा राम्रो गर्ने काम भनेकै लेखन हो र हामी त्यसैमा केन्द्रित भइरहेका छौँ,” कम्पनीले भनेको छ । प्रतियोगिताको विजेता घोषणा आगामी ३० जनवरीमा गरिनेछ । यद्यपि लेख छनोटका विस्तृत मापदण्ड र समयसीमाका बारेमा कम्पनीले थप विवरण सार्वजनिक गरिसकेको छैन ।
$1M prize for the top 𝕏 article https://t.co/QbJXZeOlhk
— Elon Musk (@elonmusk) January 17, 2026
केही महिना अघि मात्र एक्सले ‘आर्टिकल्स’ नामक फिचर सार्वजनिक गरेको थियो । यस फिचरले क्रिएटरलाई ट्वीटरको परम्परागत शब्द सीमाभन्दा बाहिर गएर शीर्षक, फोटो, भिडिओ र लिङ्क समावेश गरी विस्तृत लेख लेख्ने सुविधा दिन्छ । सुरुवाति समयमा यो सुविधा 'प्रिमियम प्लस' प्रयोगकर्ता र केही छानिएका क्रिएटरका लागि मात्र उपलब्ध गराइएको थियो ।
मस्कको एक्सलाई एउटा ‘एभ्रिथिङ एप’ बनाउने योजना बनाएका छन् । यो पछिल्लो रणनीति त्यसैको हिस्सा हो । एभ्रिथिङ एपमा मिडिया, भुक्तानी र प्रकाशन सबै एकै ठाउँमा उपलब्ध हुनेछन् । यस फिचरमार्फत एक्सले ब्लगिङ प्लेटफर्म जस्तै सबस्ट्याक र लिन्क्डइनसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।
एलन मस्कले बारम्बार एक्सलाई परम्परागत सञ्चारमाध्यमको बलियो र राम्रो विकल्पका रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले एक्सलाई ‘संसारको सबैभन्दा सटीक सूचनाको स्रोत’ दाबी गर्दै प्रयोगकर्तालाई नै ‘तपाईं नै अबको मिडिया हो’ भन्ने सन्देश दिने गरेका छन् ।
पछिल्लो अध्यावधिक: माघ ४, २०८२ १६:४९
