एसुसले अन्ततः बन्द गर्यो स्मार्टफोन व्यवसाय, अब एआई र रोबोटिक्समा केन्द्रित हुने
माघ ५, २०८२ १६:२३
काठमाडौँ । चर्चित प्रविधि कम्पनी एसुसले स्मार्टफोन बजारबाट पूर्ण रूपमा बाहिरिने घोषणा गरेको छ । कम्पनीका अध्यक्ष जोनी शिहले अब एसुस ब्रान्डका कुनै पनि नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने आधिकारिक पुष्टि गरेका हुन् ।
ताइपेई नाङगाङ प्रदर्शनी केन्द्रमा आयोजित एक विशेष समारोहका बीच अध्यक्ष शिहले स्मार्टफोन उत्पादन बन्द गरी कम्पनीको सम्पूर्ण ध्यान र स्रोत अब व्यावसायिक पिसी र फिजिकल एआई (रोबोटिक्स र स्मार्ट चस्मा) को अनुसन्धान एवं विकासमा केन्द्रित गर्ने जानकारी दिए ।
नयाँ स्मार्टफोन नआउने भए तापनि हाल बजारमा रहेका र प्रयोगकर्ताको हातमा रहेका फोनहरूका लागि मर्मत सम्भार, सफ्टवेयर अपडेट र वारेन्टी सेवाहरू भने निरन्तर उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ ।
अध्यक्ष शिहका अनुसार सन् २०२५ मा एसुसको कुल आय ७३८.९१ अर्ब ताइवान डलर (करिब २३.४ अर्ब अमेरिकी डलर) पुगेको छ । यो सन् २०२४ को तुलनामा २६ प्रतिशतको वृद्धि हो । विशेषगरी कम्पनीको एआई सर्भर व्यवसायले शतप्रतिशत वृद्धि हासिल गर्दै आफ्नो लक्ष्यभन्दा दोब्बर प्रगति गरेको छ ।
पछिल्ला केही वर्षदेखि एसुसले आफ्ना लोकप्रिय जेनफोन र आरओजी सिरिजका फोनहरूको उत्पादनमा उल्लेख्य कटौती गर्दै आएको थियो । सन् २०२५ मा कम्पनीले ‘आरओजी फोन ९ एफई’ र ‘जेनफोन १२ अल्ट्रा’ गरी दुई ओटा मात्र मोडेल बजारमा ल्याएको थियो । ती दुवै फोनको बिक्री विश्व बजारमा निकै कमजोर देखिएपछि कम्पनीले स्मार्टफोन व्यवसाय नै बन्द गर्ने निर्णय लिएको विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: माघ ५, २०८२ १६:२३
