close

लिक भएको अडियोमा दुर्गा प्रसाईंसँग कुरा गर्ने ह्याकरलाई प्रश्न: के त्यो एआईले बनाएको हो ?

टेकपाना टेकपाना

माघ ६, २०८२ ११:१९

लिक भएको अडियोमा दुर्गा प्रसाईंसँग कुरा गर्ने ह्याकरलाई प्रश्न: के त्यो एआईले बनाएको हो ?

काठमाडौँ । आइतबार टेकपानाले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनले विभिन्न सरकारी वेबसाइटमा आक्रमण गर्न प्रयोग गरेका ह्याकरबिचको कुराकानीको अडियो लिक गरेको थियो । उक्त अडियोलाई प्रसाईंले ‘एआई/सम्पादित’को संज्ञा दिएका छन् । 

उक्त अडियोमा ह्याकरको रूपमा कुराकानी गर्ने व्यक्तिसँग टेकपानाले सम्पर्क गरेको छ । त्यस क्रममा खासगरी लिक भएको अडियोको सन्दर्भ, एआई तथा सम्पादित गरिएको भन्ने दाबी, शृंखलाबद्ध ह्याकिङमा दुर्गा प्रसाईंको संलग्नता आदि विषय खोतल्ने प्रयास गरेका छौं । प्रस्तुत छ, त्यसैको सम्पादित अंश: 

टेकपाना: नेपाली फर नेपाल कस्तो संस्था हो, ह्याकिङकै लागि गठन गर्नु भएको हो ?

ह्याकर: हैन, हैन यो ह्याकिङ संस्था हैन । यसलाई हामी 'रिसर्च एण्ड एनालाइसिस' टिम भन्छौं । हामीले आफ्नै कार्यक्षेत्र छुट्याएका छौं, त्यहीँभित्र रहेर काम गर्छौं ।

टेकपाना: तपाईँ कति वर्षको हुनुहुन्छ?

ह्याकर: २४ वर्ष । 

टेकपाना: पढाइको हिसाबले तपाईँको ब्याकग्राउन्ड के हो ? 

ह्याकर: मेरो फ्यामिली अहिले सबै बाहिर बस्नुहुन्छ । म पनि बाहिरै थिएँ । तर म नेपालमै पढेको हुँ । एसएलसी पनि नेपालमै दिएको हो । म आउने जाने चलिरहन्छ । मेरो यो आईटी ब्याकग्राउन्ड होइन, मेरो आफ्नो हबिले मात्र सिकेको कुरा हो । मैले आफूले त्यो किसिमले लर्न गरेको हो । मेरो एकेडेमिक ब्याकग्राउन्ड आईटी हैन ।

टेकपाना: विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र त्यो अडियो बाहिर आएपछि एक खालको ठुलो बहस सिर्जना भएको छ । दुर्गा प्रसाईँ स्वयम्‌ले फेसबुकमा स्टाटस राखेर त्यो अडियो एआईले बनाएको भन्नुभएको छ । उहाँले किन एआईको भन्नुभयो ? त्यो कुराकानी त तपाईंसँग गरिएको होइन ? तपाईँसँगै भएको हो भने उहाँले एआई किन भन्नुभयो ?

ह्याकर: हजुर, त्यो अडियो बाहिर नआउनुपर्ने थियो, आइसक्यो । बाहिर निस्किसके पछाडि म त्यो कुरालाई एसेप्ट गर्छु । किनकि मैले आजभन्दा ४/५ दिन अगाडिदेखि नै जे जस्तो गल्तीहरू हाम्रो संस्था ‘नेपाली फर नेपाल’ले गरेको छ, त्यसलाई पूर्ण रूपमा स्वीकारेर बरु कानुन सम्बत् केही गलत काम गरेका छौँ भने सजायको भागी हुने र अगाडि बढ्ने निर्णय गरेका छौं । 

त्यो अडियो कुनै एआईबाट हैन, त्यसमा दुर्गा प्रसाईंसँग बोल्ने व्यक्ति स्वयम् म आफैं हुँ । एआई हो भन्ने कुरामा शतप्रतिशत झुट छ । र यदि त्यो एआई नभएको खण्डमा यदि त्यो रियालिस्टिक नै भएको खण्डमा के उहाँले यो सबै आफ्नो गल्ती स्वीकार्न तयार हुनुहुन्छ ? र यदि त्यो एआई हो भने म आफ्नो गल्ती स्वीकार्न तयार छु । टेकपानासँगै भन्छु यो लिगल स्टेटमेन्ट नै सोच्दा हुन्छ ।

टेकपाना: दुर्गा प्रसाईँसँग ह्याकरको रूपमा जुन कुराकानी भएको छ, पैसा लेनदेनको कुराकानी पनि भएको छ, त्यो व्यक्ति तपाईँ नै हो ?

ह्याकर: हजुर म नै हो र पैसाको कुरा गर्दाखेरि अहिले आजको दिनसम्म उहाँबाट मैले पैसा लिएको हैन, डाइरेक्ट्ली । उहाँको र हाम्रो बिचमा उहाँकै टिम भित्रबाट एकजना मान्छे हुनुहुन्थ्यो। उहाँले सबै पैसा कहाँ दिनुपर्ने, के गर्नुपर्ने हाम्रो टिमलाई उहाँले गर्दिनुहुन्थ्यो । मैले डाइरेक्ट रूपमा एक पैसा पनि लिएको छैन, आजको दिनसम्म ।

टेकपाना: जे होस् अब उहाँसँग लेनदेन भएर त्यो वेबसाइटहरू ह्याकिङ गरिएको कुरा त स्वीकार्नुहुन्छ नि तपाईँ ?

ह्याकर: म स्वीकार्छु । भोलि कानुनी रूपमा जाँदै गर्दाखेरि एआई हो कि हैन भन्ने कुरामा अहिले सिम्पल छ हेर्नु । त्यो त्यति गाह्रो कम्प्लेक्स कुरा पनि हैन । त्यो अडियोलाई रेकर्ड गरेर अनलाइनमा यो फ्रिली नै चेक गर्न मिल्छ एआई हो कि हैन भनेर धेरै वेबसाइटहरू छन् । त्यहाँ गएर चेक गर्‍यो भने मज्जाले थाहा भइहाल्छ नि एआई हो कि रियल हो भनेर त ।

टेकपाना: हामीसँगको कुराकानीमा दुर्गा प्रसाईँले के भन्नुभएको छ भन्दाखेरि त्यो अडियो रेकर्ड गरेर तपाईँहरूले राख्नुभयो, तर तपाईँहरूले त्यो अडियो रेकर्ड गरेपछि उहाँसँग ब्ल्याकमेल गर्नुभयो रे । तपाईँहरूले गरेको ब्ल्याकमेल अनुसार उहाँले त्यो डिमान्ड पुरा नगरिदिएपछि तपाईँहरूले अडियो सार्वजनिक गरेको आरोप लगाउनु भाछ नि ?

ह्याकर: होइन, वास्तविकता त्यस्तो होइन । विकास पौडेल लगायत अन्य साथीहरूलाई जब साइबर ब्युरोले पक्राउ गर्‍यो, त्यसपछि परिस्थिति बदलियो । हाम्रो सुरुवाती सहमति के थियो भने, भविष्यमा कुनै समस्या आइपरेमा उहाँले सहयोग र जिम्मेवारी लिनुपर्नेछ । मैले अडियोमै पनि स्पष्ट भनेको छु- मलाई केही गर्नु पर्दैन, तर मेरा साना भाइहरूको भविष्यको सवाल छ, उनीहरूको संरक्षण हुनुपर्छ । 

हाम्रो बिचमा भएको सम्झौता नै यही थियो कि मेरो टिमलाई अप्ठ्यारो पर्दा उहाँले साथ दिनुहुनेछ । तर पछि उहाँ आफ्नो जिम्मेवारीबाट पन्छिनुभयो र 'यिनीहरूलाई त सामाजिक सञ्जाल ह्यान्डल गर्न लगाएको हो' भन्दै झुटो बोल्नुभयो । यदि यो ब्ल्याकमेलिङ हुन्थ्यो भने हामी केही लाखमा सीमित हुने थिएनौं, करोडौँको कुरा हुन्थ्यो । संस्थागत रूपमा उहाँले अझै हाम्रो रकम तिर्न बाँकी नै छ । त्यसैले, यसलाई ब्ल्याकमेलिङ भन्न मिल्दैन; यो त केवल सत्य र यथार्थलाई जनता र कानुन सामु ल्याउने प्रयास हो । 

टेकपाना: त्यो ‘नेपाली फर नेपाल’ले कति पैसा लिएको हुन सक्छ उहाँसँग काम गरे बापत, तपाईँहरूको समूहले कति पैसा लिएको होला टेन्टेटिभ अहिलेसम्म ?

ह्याकर: पैसा लिएको छैन । काम गरे बापत केही पनि पैसा लिएको छैन । काम गर्नको लागि चाहिने डिभाइसेसको लागि उहाँ आफैले ती डिभाइस उहाँकै टिमबाट एकजना मान्छेलाई लगाएर आफैले किनिदिनु भएको हो । काम गर्नको लागि ठाउँ पनि उहाँहरूकै समूहबाट उपलब्ध भएको हो । हाम्रो टिमबाट हामीले व्यक्तिगत रूपमा केही लिएको छैनौँ ।

टेकपाना: दुर्गा प्रसाईँको डाइरेक्ट निर्देशन अनुसार तपाईँहरूले कति जति वेबसाइट ह्याक गर्नुभयो होला अथवा कति सरकारी वेबसाइटलाई तपाईँहरूले प्रभावित पार्नुभएको होला ?

ह्याकर: त्यो त्यति बेलै न्युजमा आएको थियो । त्यतिबेला समाचारमा आएका पञ्जीकरण विभागसहितका अन्य ८–१० ओटा वेबसाइट हामीले 'ह्याक' भन्दा पनि 'डिफेस' मात्र गरेका थियौँ । ती वेबसाइटभित्र छिरेर कुनै किसिमको क्षति पुर्‍याउने, डेटा चोरी गर्ने वा ती जानकारी कतै लगेर बिक्री गर्ने जस्ता कुनै पनि गलत कार्य हामीबाट भएको छैन । हामीले त केवल केही समयका लागि ती साइटको इन्टरफेस मात्र परिवर्तन गरेका थियौँ ।

टेकपाना: त्यो, जुन अस्ति लिक भएको अडियो छ, त्यो अडियो कहाँको हो ? कहिलेको हो ? कुन प्रसङ्गको हो ? त्यो भन्दिन सक्नुहुन्छ ? 

ह्याकर: त्यो ११ नोभेम्बरको हो ।

टेकपाना: प्रसङ्गमा शंका उत्पन्न हुने मुख्य कारण के हो भने, तपाईंहरूले उहाँसँग मिलेरै ती गतिविधि गर्नुभयो । एक हिसाबले यो साइबर अपराध नै थियो, जसका कारण तपाईंका साथीहरूले कानुनी झमेला समेत भोग्नुपर्‍यो । यति हुँदाहुँदै पनि बीचमा यस्तो के भयो, जसले गर्दा उहाँसँगको सम्बन्धमा दरार आयो ?

ह्याकर: हाम्रो सम्बन्धमा दरार आउनुको मुख्य कारण के हो भने, जब हाम्रा साथीहरूलाई साइबर ब्युरोले पक्राउ गर्‍यो, तब मेरो सोचाइमा परिवर्तन आयो । हामीले कुनै जघन्य अपराध वा कसैको ज्यान लिएका थिएनौँ, त्यसैले मैले आफैँ गएर कानुनको सामना गर्छु भन्दा उहाँहरूले 'पर्दैन' भन्दै मलाई रोक्न खोज्नुभयो । 

तर पछि अदालती कागजात र सरकारी मिसिलमा आफ्नै नाम देखेपछि म झस्किएँ । कानुनी प्रक्रियामा मेरो नाम आइसकेपछि जिन्दगीभर लुकेर वा भागेर बाँच्न मलाई मन्जुर थिएन । मेरो पनि आफ्नो जीवन छ । मैले गरेको गल्ती म स्वीकार गर्न र कानुन बमोजिमको सजाय भोग्न तयार छु, तर लुकेर हिँड्न सक्दिनँ । उहाँहरूसँग मेरो असहमति र सम्बन्धको अन्त्य यहीँबाट सुरु भएको हो ।

टेकपानाः यति भनिसकेपछि अब तपाईंको परिचय नै दिनुस् न !

ह्याकर: मेरो परिचय यस अघि नै खुलिसकेको छ । मैले अस्ति तीन दिन अगाडि नै खुलाएको हो, मेरो नाम सन्देश अर्याल हो ।

टेकपाना: अडियो लिक भएपछि तपाईँलाई कतैबाट थ्रेट त आएको छैन नि ?

सन्देशः मलाई आएको छ । मलाई उहाँहरूबाट नै आएको छ ।

टेकपाना: के भन्नुहुन्छ, उहाँहरू ?

सन्देश: मेरो परिवारलाई समेत धम्की आएको छ । मसँग स्क्रिनशटदेखि सबै कुराको प्रमाण छ ।

टेकपाना: अब अर्को कुरा यो पक्राउ परेका साथीका मोबाइल ल्यापटप लगायतका डिभाइसमा दुर्गा प्रसाईँसँग जोडिएका विभिन्न घटनाका प्रमाण रहेको र ती प्रमाण प्रहरीले नै डिलिट गरेको भन्ने हल्ला छ । प्रहरीले नै दुर्गा प्रसाईँको संलग्नता देखिने कुराहरू डिलिट गरेको भन्ने हल्लामा कत्तिको सत्यता छ ?

सन्देश: म जे सत्य हो, त्यही बोल्दैछु र यसमा कुनै द्विविधा छैन । हाम्रा ती साथीहरूमध्ये विकास पौडेलबाहेक अर्का एकजनाले उहाँसँग प्रत्यक्ष भेट गरिसक्नुभएको थियो । भेटघाट मात्र होइन, हामीसँग अन्य प्रमाणहरू पनि थिए, तर अहिले ती प्रमाणहरू डिलिट गरिएको हामीलाई बलियो आशङ्का छ । यो केवल हाम्रो अनुमान मात्र होइन, हामीले यसबारे ठोस जानकारी नै पाएका छौँ । 

टेकपाना: त्यो कसले डिलिट गरेको हो ? साइबर ब्युरोले डिलिट गर्‍यो अथवा सीआईबीले डिलिट गर्‍यो ? तपाईँहरूलाई कहाँ शङ्का छ ?

सन्देश: प्रमाणहरू कहाँबाट र कसरी नष्ट गरिए भन्ने कुराको हामीलाई पूर्ण जानकारी छ । म यो सबै कुरा सम्बन्धित निकायलाई बताउन चाहन्छु, तर अहिले म आफूलाई असुरक्षित महसुस गरिरहेको छु । राज्यले मेरो सुरक्षाको पूर्ण ग्यारेन्टी नगरेसम्म भौतिक रूपमा उपस्थित भएर आत्मसमर्पण गर्न मलाई जोखिम देखिन्छ । यही सुरक्षाको अभावका कारण म अहिले यसरी बस्न बाध्य भएको हुँ ।

टेकपाना: ती मेटाइएका प्रमाणमा के के कुराहरू थिए, दुर्गा प्रसाईँसँग सम्बन्धित ?

सन्देश: हामीसँग वित्तीय कारोबारका पर्याप्त प्रमाणहरू छन् । ती प्रमाणहरू कसैले व्यक्तिगत रूपमा मेटाउन खोज्दैमा नष्ट हुँदैनन्, किनकि बैंकमा सबै 'स्टेटमेन्ट'हरू सुरक्षित रहन्छन् । हामीलाई कारोबार गर्ने व्यक्तिको नाम, बैंक खाता नम्बर, कारोबारको स्रोत र मिति जस्ता सबै प्राविधिक विवरणहरूको पूर्ण जानकारी छ ।

टेकपाना: दुर्गा प्रसाईँ र प्रहरीको मिलेमतोको पनि कुरा आयो ?

सन्देश: हामीले नेपाल प्रहरी जस्तो गरिमामय संस्थालाई यसमा मुछ्नु आवश्यक छैन । संस्था आफैँमा गलत हुँदैन, तर त्यहाँभित्र कार्यरत केही व्यक्तिका कारण समस्या उत्पन्न भएको हो । एउटा ठुलो संगठनभित्र धेरै प्रकारका मानिसहरू हुन्छन्, त्यसैले हाम्रो सरोकार संस्थासँग नभई त्यहाँका केही निश्चित व्यक्तिसँग मात्र हो । हामीलाई नेपाल प्रहरीप्रति पूर्ण विश्वास छ । कुनै पनि संस्थामा केही सीमित व्यक्ति गलत हुन सक्छन्, तर त्यहाँ अत्यन्तै इमानदार र राम्रा मानिसहरू पनि हुनुहुन्छ । 

टेकपाना: हाम्रो मुख्य जिज्ञासा र चासोको विषय चाहिँ ती डिभाइस हुन्, जसबाट प्रमाण नष्ट गरिएको दाबी गरिएको छ । आखिर ती डिभाइसमा कस्ता महत्त्वपूर्ण प्रमाणहरू थिए होलान् भन्ने कुरा नै अहिले सबैभन्दा बढी चासोको विषय बनेको छ ।

सन्देश: हो, त्यहाँ केही फाइनान्सियल ट्रान्जेक्सन थिए ।

टेकपाना: भनेको अवैध कारोबारका कुराहरू थिए ?

सन्देश: अवैध हैन । त्यसलाई अवैध भन्न मिल्दैन । वास्तवमा, यदि हामीले कसैलाई आफ्नो काममा लगाउँछौँ भने उनीहरूको अभिभावकत्व ग्रहण गर्नु हाम्रो दायित्व हो । जसरी कुनै संस्थाले आफ्ना कर्मचारी वा कार्यदलको संरक्षण र व्यवस्थापन गर्छ, त्यसैगरी उनीहरूलाई कार्यसम्पादनका लागि आवश्यक सुविधा र वातावरण उपलब्ध गराउनुपर्छ । 

यस्तो सहकार्य त्यसै सम्भव हुँदैन; यसका लागि एउटा निश्चित सञ्जाल र सम्पर्क आवश्यक हुन्छ । यो प्रक्रियामा भएका फोन कल, मेसेज र संवादहरू नै त्यो सम्बन्धका आधार र प्रमाण हुन् ।

टेकपाना: दुर्गा प्रसाईँमाथि गम्भीर आरोपहरू लागिरहँदा त्यसको केही असर र प्रश्नहरू तपाईँतिर पनि सोझिएका छन् । तपाईँ आफैँले पनि पटक-पटक आत्मसमर्पण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर अहिलेसम्म किन पछि हटिरहनुभएको छ ? आत्मसमर्पण नगर्नुको मुख्य कारण के हो ?

सन्देश: मैले अहिलेसम्म आत्मसमर्पण नगर्नुको मुख्य कारण मेरो ज्यानको सुरक्षाको चिन्ता हो । आफू पूर्ण रूपमा सुरक्षित हुने निश्चित नभएको र असुरक्षित महसुस भइरहेकाले नै मैले यस्तो निर्णय लिएको हुँ ।

टेकपाना: प्रहरीमा आत्मसमर्पण गरेपछि त झन् सुरक्षित हुनुहुन्थ्यो नि तपाईँ त, यदि दुर्गा प्रसाईँबाट थ्रेट थियो भने ?

सन्देश: नहुँदो रहेछ। 

टेकपानाः किन हुँदैन ?

सन्देशः कसरी हुन्छ ?

टेकपाना: त्यसका केही सङ्केतहरू तपाईँले पाउनुभएको थियो, म सुरक्षित छैन भन्ने किसिमको सङ्केतहरू ?

सन्देश: मैले पटक-पटक धम्कीहरू पाएको छु, जसका कारण म अहिलेको परिस्थितिमा छु । यसरी लुकेर बस्नु मेरो कुनै रहर होइन, म कानुनी प्रक्रियामा सहभागी हुन चाहन्छु । विद्युतीय कारोबार ऐन अन्तर्गत 'अनधिकृत पहुँच' को जुन कसुर मैले गरेको छु, त्यसबापत कानुनले तोक्ने सजाय भोग्न म पूर्ण रूपमा तयार छु । मैले आफ्नो गल्तीलाई इन्कार गरेको छैन र म यसबाट भाग्न पनि चाहन्नँ ।

टेकपाना: तपाईँले प्रधानमन्त्रीलाई नै सम्बोधन गरेर आफ्नो सुरक्षाको लागि ईमेल लेखेको कुरा पनि बाहिरिएको थियो । सरकारी पक्षबाट कुनै प्रतिक्रिया प्राप्त भयो कि भएन ?

सन्देश: छैन । छैन।

टेकपाना: अहिले तपाईँ देश भित्रै हुनुहुन्छ या देश बाहिर गइसक्नु भयो ?

सन्देश: म अहिले देश भित्रै छु ।

टेकपाना: दुर्गा प्रसाईँलाई केही भन्नु छ तपाईँले ? आजसम्म तपाईँलाई युज गरे अथवा तपाईँ युज हुनुभयो, मलाई युज गरेर अहिले यो अवस्थामा ल्याई पुर्‍याए भन्ने तपाईँलाई गुनासो अथवा केही छ ?

सन्देश: वास्तविकता के हो, त्यो सबैले थाहा पाउनुपर्छ । आफूसँग शक्ति, पैसा, मिडिया र उच्चपदस्थ व्यक्तिहरूसँग पहुँच छ भन्दैमा जे पनि गर्न पाइन्छ भन्ने सोच सरासर गलत हो । हामी सबै नेपालका समान नागरिक हौँ र नेपालको संविधानले हामी सबैलाई समान हक र अधिकार प्रदान गरेको छ । कसैले पनि पहुँचको भरमा कानुनलाई आफ्नो हातमा लिनु हुँदैन; म केवल यही भन्न चाहन्छु ।

टेकपाना: हामीलाई अझै एउटा कुरामा शंका छ । तपाईंहरूले सरकारी वेबसाइटलाई प्रभावित पार्न जुन स्तरको जोखिम मोल्नुभयो, त्यो आफैँमा एउटा गम्भीर अपराध थियो । तर दुर्गा प्रसाईँले भने आफूले केवल डिभाइसहरू मात्र उपलब्ध गराएको र कुनै आर्थिक लेनदेन नभएको दाबी गर्नुभएको छ । यदि कुनै वित्तीय लाभ थिएन भने, तपाईंहरूको त्यस्तो के स्वार्थ थियो, जसले गर्दा आफ्नो भविष्य नै दाउमा राखेर यति ठुलो जोखिम उठाउनुभयो ?

सन्देश: हाम्रो स्वार्थ अरू केही थिएन । जेन-जी विद्रोह अघिको 'नेपो बेबी' ट्रेन्डदेखि त्यसपछिको जेन-जी आन्दोलनसम्म हामी संलग्न छौँ । नेपालमा सुशासन कायम हुनुपर्छ र भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो। नयाँ पुस्ताले जुन माग राखेर ८ सेप्टेम्बरमा सडकमा उत्रिएका थिए, त्यसैलाई सार्थकता दिन हामी अगाडि बढेका हौँ ।

टेकपाना: तर अब भन्नेहरूले त तपाईँहरूका लागि प्रसाईंले मोटरसाइकलदेखि अपार्टमेन्टको व्यवस्था गरिदिएको सबै कुराहरू भनिराख्या छन् नि त ?

सन्देश: होइन, वास्तविकता त्यस्तो होइन । उहाँले आफ्नो प्रयोजनका लागि हाम्रो संस्थासँग सहकार्य गर्नुभएको हो, जसमा हाम्रा केही स्रोत-साधन र जनशक्तिको प्रयोग गरिएको थियो । यो तथ्यलाई मैले पहिले नै स्वीकार गरिसकेको छु ।

टेकपाना: कुनै सुरक्षाको ग्यारेन्टी भयो र दुर्गा प्रसाईँ सँग तपाईँलाई आमने सामने राखियो भने फेस गर्न तयार हुनुहुन्छ ?

सन्देश: म कानुनी प्रक्रियाको सामना गर्न पूर्ण रूपमा तयार छु । तर, नेपाल सरकारले मेरो ज्यानको सुरक्षा र भविष्यमा ममाथि कुनै पनि प्रकारको दबाब वा जबर्जस्ती नहुने कुराको पूर्ण प्रत्याभूति दिनुपर्छ । यदि राज्यले मेरो सुरक्षाको सुनिश्चितता दिन्छ भने म तत्काल आत्मसमर्पण गर्न तयार छु ।

टेकपाना: अन्त्यमा केही थप्न चाहनु हुन्छ ?

सन्देश: हामी 'नेपाली फर नेपाल' मार्फत विभिन्न सामाजिक र राजनीतिक अभियानमा सक्रिय छौँ । 'नेपो बेबी' देखि 'झोले' ट्रेन्डसम्मका आन्दोलनहरूमा हामी सडक र डिजिटल दुवै माध्यमबाट सहभागी हुँदै आएका छौँ । जब राज्यले युवाहरूको आवाजलाई निरन्तर बेवास्ता गर्‍यो र हाम्रा निर्दोष भाइबहिनीमाथि दमन गर्दै उनीहरूको आवाज थुन्ने प्रयास गर्‍यो, तब हामी आक्रोशित भयौँ । त्यसैले, आफ्नो विरोध प्रकट गर्न र एउटा क्रान्तिको स्वरूप हामीले डिजिटल माध्यममा 'अनधिकृत पहुँच' जस्ता गतिविधि गरेका हौँ ।

टेकपाना: अहिले आएर त तपाईँहरू सरकारको पनि निसानामा पर्नुभयो । जसले तपाईँहरूलाई काममा धेरै उस्काए, त्यसबाट पनि निसानामा पर्नुभयो । तपाईँहरू त अहिले बिचमा हुनुहुन्छ नि त ?

सन्देश: हामीले कुनै अनैतिक कार्य गरेका छैनौँ र आफूले गरेको कानुनी त्रुटिलाई स्वीकार गर्दै त्यसको सामना गर्न हामी पूर्ण रूपमा तयार छौँ । हामीसँग धेरै कुराहरूको पहुँच थियो, यदि हाम्रो नियत खराब हुन्थ्यो भने हामीले अझ धेरै क्षति पुर्‍याउन सक्थ्यौँ । तर हामीले नेपालको कुनै पनि डेटा बिक्री गरेका छैनौँ र एक प्रतिशत पनि त्यसको दुरुपयोग गरेका छैनौँ । हामीले जे-जति गर्‍यौँ, ती सबै कुरा नेपाली जनतासामु औपचारिक पत्रमार्फत स्पष्ट पारिसकेका छौँ ।

टेकपाना: दुर्गा प्रसाईँका मान्छे सुरज खड्कासँग तपाईँको चिनजान छ हैन ?

सन्देश: छ ।

टेकपाना: को हुन् उनी ? उनीसँग कसरी चिनजान भयो नि तपाईँको?

सन्देश: उहाँ एकजना पत्रकार हुनुहुन्छ । उहाँसँग हाम्रो भेट 'जेन जी' आन्दोलनको क्रममा भएको हो । सेप्टेम्बर ८ र ९ को आसपास जब बानेश्वरमा आन्दोलन भइरहेको थियो, त्यही बेला हाम्रो पहिलो पटक कुराकानी र भेटघाट भएको थियो ।

टेकपाना: त्यसपछि उहाँले सहजकर्ताको रूपमा तपाईँलाई काममा लगाउनु भयो ?

सन्देश: हजुर । 

टेकपाना:  खासमा दुर्गा प्रसाईँले तपाईँहरूलाई अलि मोटो रकम दिनुपर्ने, त्यो नदिएको हुनाले तपाईँहरूले यस्तो गर्नुभएको त होइन नि ?

सन्देश: वास्तविकता त्यस्तो होइन । रकमको सन्दर्भमा मैले अडियोमै स्पष्ट पारिसकेको छु- उहाँको तर्फबाट ७ लाख रुपैयाँ प्राप्त भएको थियो, जबकि मैले साढे ८ लाख बराबरको सामान उपलब्ध गराइसकेको छु । ती सामानहरू खरिद गर्ने र बुझ्ने व्यक्ति उहाँकै प्रतिनिधि सुरज खड्का हुनुहुन्थ्यो । 

त्यो रकम हाम्रो व्यक्तिगत लाभका लागि थिएन; उहाँकै काम सम्पन्न गर्न मैले आफ्नो व्यक्तिगत पैसा समेत खर्च गरेको छु । हाम्रो नियत कहिल्यै पनि आर्थिक लाभ लिने थिएन । हाम्रो मुख्य उद्देश्य केवल नेपाली जनताको आवाज बुलन्द गर्नु हो । हामीलाई पैसा वा अन्य कुनै वित्तीय प्रलोभनसँग कुनै सरोकार छैन ।

टेकपाना: अडियो सार्वजनिक भएपछि दुर्गा प्रसाईँबाट आफूलाई धम्की आएको जुन दाबी तपाईंले गर्नुभएको छ, त्यसका केही ठोस प्रमाणहरू छन् ? के तपाईं ती प्रमाणहरू सार्वजनिक गर्न चाहनुहुन्छ? विशेष गरी ती धम्कीहरू फोन कलमार्फत आएका थिए कि अन्य कुनै माध्यमबाट ?

सन्देश: यसबारेका प्रमाणहरू म सिधै सम्बन्धित निकायलाई उपलब्ध गराउनेछु । यसलाई थप विवादास्पद बनाउनु भन्दा कानुनी प्रक्रियाबाट अघि बढ्नु नै उचित हुन्छ भन्ने मेरो मान्यता हो । मलाई व्यक्तिगत रूपमा धम्की आएको कुरा सत्य हो । जापानमा रहेका मेरा परिवारलाई लक्षित गर्दै, 'तेरो परिवार जापानमा छ, त्यहीँ हात हाल्नुपर्ने हो र ?' भन्दै मलाई तर्साउन खोजिएको छ ।

टेकपाना: त्यो अडियोमै कलमै आएको थियो ?

सन्देश: मेसेजमा आएको छ ।

टेकपाना: त्यो मेसेजमा सार्वजनिक गर्न चाहनुहुन्छ ?

सन्देश: अहिलेलाई यो विषय सार्वजनिक नगरौँ । उहाँले यी धम्कीहरू प्रत्यक्ष रूपमा नभई अन्य व्यक्तिको माध्यमबाट दिनु भएको हो । उहाँले ह्वाट्सएपमा भ्वाइस मेसेज मार्फत मलाई अत्यन्तै अभद्र र अश्लील शब्दहरू प्रयोग गर्दै धम्काउनुभएको छ, जसको रेकर्ड मसँग सुरक्षित छ ।

नोटः ह्याकर सन्देश अर्यालसँगको कुराकानी टेकपानाको आधिकारिक युट्युब च्यानलमा गएर सुन्न सक्नुहुन्छ । उक्त कुराकानी शीघ्र प्रशारण हुँदैछ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०८२ ११:२६