चौतर्फी आलोचना भएपछि महेश बस्नेतले भने- कसैलाई अनजानमा चोट पुगेको भए क्षमायाचना गर्दछु
माघ ८, २०८२ १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को आलोचना गर्ने क्रममा मधेशी भाषा र समुदायमाथि नै चोट पुगेको भन्दै चौतर्फी घेराबन्दीमा परेपछि नेकपा एमालेका सचिव महेश बस्नेत रक्षात्मक बनेका छन् । बिहीबार फेसबुकमा एक स्टाटस पोस्ट गर्दै बस्नेतले ‘गलत अर्थ लगाएर फैलाइएको प्रचारप्रति भ्रममा नपर्न’ र कसैलाई अनजानमा चोट पुगेको भए क्षमायाचना गरेका छन् ।
गत सोमबार जनकपुरधाममा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा बालेनले मैथिली भाषामा आफूलाई मधेशको छौँडा भनी सम्बोधन गरेका थिए । उक्त शब्दलाई बस्नेतले नेपाली भाषाको ‘छाउरा’ (कुकुरको बच्चा) सँग तुलना गर्दै व्यङ्ग्य गरेपछि उनको आलोचना सुरु भएको थियो ।
चौतर्फी घेराबन्दीमा परेपछि एक स्पष्टीकरण सार्वजनिक गर्दै बस्नेतले आफ्नो बचाउ गरेका छन् । उनले आफूले बोलेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको दाबी गर्दै यस क्रममा कसैलाई चोट पुगेको भए क्षमायाचना गरेका हुन् ।
“बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। ...मैले नबोलेका बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु,” उनले लेखेका छन् ।
उनले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैँ सम्मान गर्ने व्यक्ति भएको बताएका छन् ।
बस्नेतले बालेनको भनाइलाई गलत अर्थ लगाएर व्यङ्ग्य गरेको भन्दै मधेशका नागरिक समाज, भाषाविद् तथा सर्वसाधारणले आलोचना गरेका छन् । एमालेभित्रैका मधेशी नेताहरू समेत असन्तुष्ट देखिएका छन् ।
पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १५:१०

