मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा डा दिनेशराज भुजू नियुक्त
माघ ८, २०८२ १७:९
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट) ले डा. दिनेशराज भुजूलाई उपाध्यक्ष (शैक्षिक तथा अनुसन्धान) पदमा नियुक्त गरेको छ । विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीले १ माघदेखि लागु हुने गरी भुजूलाई नियुक्ति दिएको हो ।
तीन दशकभन्दा लामो समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा भुजू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्रज्ञा हुन् । उनी चीनको नर्थवेस्ट युनिभर्सिटीमा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन् । यसअघि उनले नेपाल, इटाली र पोल्याण्डका विभिन्न विश्वविद्यालयहरूमा अध्यापन गरी सकेका छन् ।
डा भुजूले जापानको चिबा विश्वविद्यालयबाट इकोलोजी विषयमा विद्यावारिधि हासिल गरेका हुन् । उनले नास्टमा विज्ञान संकाय प्रमुख तथा विभाग प्रमुख, ख्व:प इन्जिनियरिङ कलेजमा संस्थापक प्राचार्य तथा मध्य पश्चिम विश्वविद्यालयका शैक्षिक संयोजक तथा कार्यकारी निर्देशक जस्ता जिम्मेवारी सम्हाली सकेका छन् ।
उनको अनुसन्धान मुख्यतः चुरे क्षेत्रको इकोलोजी, हिमाली वृक्षरेखा तथा डेन्ड्रो–जलवायुविज्ञानमा केन्द्रित रहेको छ । डा भुजूले युनेस्को, यूएनडीपी, इसिमोड, डब्लूडब्लूएफ तथा नेपाल सरकारको सहकार्यमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन र विज्ञान नीतिसम्बन्धी विभिन्न अनुसन्धान तथा नीतिगत परियोजनामा नेतृत्व र परामर्श दिएका छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार (२०००) र बागमती प्रदेश नवप्रवर्तन पदक (२०२४) बाट सम्मानित डा भुजूका ८० भन्दा बढी समिक्षित जर्नल लेख, ५० भन्दा बढी पुस्तक अध्याय तथा सम्मेलन कार्यपत्र र २० भन्दा बढी पुस्तक तथा पाठ्यपुस्तक प्रकाशित छन् । उनले १०० भन्दा बढी स्नातकोत्तर तथा विद्यावारिधिका शोधकर्ताहरूलाई निर्देशन गरिसकेका छन् ।
साथै, उनी करिब ६०० विज्ञानसम्बन्धी रेडियो कार्यक्रम मार्फत विज्ञानलाई जनसाधारणसम्म पुर्याउने कार्यमा संलग्न रही सकेका छन् । विश्वविद्यालयका अनुसार उपाध्यक्ष पदमा नियुक्त भएपछि डा भुजूले शैक्षिक गुणस्तर सुधार, अनुसन्धान विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।
पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १७:९
