विराटनगरमा गर्भवती कुकुरमाथि बलात्कार भएको दाबीसहित भिडिओ भाइरल, प्रहरीले थाल्यो अनुसन्धान
माघ ८, २०८२ १७:५०
काठमाडौँ । मोरङको विराटनगर उपमहानगरपालिका वडा नं. ५ मा एक पुरुषले गर्भवती कुकुरमाथि जबरजस्ती करणी गरेको दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पशुमाथि गरिएको यस्तो क्रूर र अनैतिक व्यवहारको भिडिओ बाहिरिएसँगै सर्वत्र निन्दा भइरहेको छ ।
गत सोमबार राति १०:०४ बजे ‘लाइभ न्युज रफ्तार’ नामक अनलाइनले ‘विराटनगरमा क्रूर घटना: कुकुरलाई करणी गर्ने’ शीर्षकमा उक्त भिडिओ सार्वजनिक गरेको थियो । भिडिओमा एक पुरुषले कुकुरमाथि अनैतिक हर्कत गरिरहेको प्रस्ट देखिए पनि ती पुरुषको पहिचान अझै खुल्न सकेको छैन । घटना सार्वजनिक भएपछि पशु अधिकारकर्मी र कल्याणकारी संस्थाहरूले चासो र चिन्ता व्यक्त गरेका छन् ।
पशु कल्याणको क्षेत्रमा सक्रिय गैरसरकारी संस्था ‘सङ्कल्प’का संस्थापक इफ्रान खानले गत मंगलबार राति ८:०८ बजे उक्त भिडिओ शेयर गर्दै आफू घटनास्थल (विराटनगर-५) पुगेको जानकारी दिएका छन् । स्थानीयसँगको कुराकानीका आधारमा खानले पीडित कुकुर गर्भवती रहेको र आरोपी पुरुषले पोथी कुकुरहरूलाई स्लिपिङ पिल (निन्द्रा लाग्ने औषधि) खुवाएर पटक-पटक करणी गर्ने गरेको दाबी गरेका छन् । खानका अनुसार आरोपी व्यक्ति हाल घटनास्थल छाडेर फरार भएको र उनी इलाम गएको स्थानीयले आशंका गरेका छन् ।
बुधबार अर्को भिडिओ सार्वजनिक गर्दै खानले पीडित कुकुरलाई उचित उपचार र रेखदेखका लागि काठमाडौँ लैजान लागिएको जानकारी दिएका छन् । उनले कुकुरको स्वास्थ्य अवस्था सुधार भएपछि राम्रो परिवार पाएमा अडप्सन अर्थात् पालनपोषणका लागि जिम्मा लगाउने योजना समेत बनाएको बताएका छन् ।
के भन्छ प्रहरी ?
कुकुरमाथि अमानवीय व्यवहार भएको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको छ । कार्यालयका सूचना अधिकारी एवम् डीएसपी हरिनन्द चौधरीले कुकुरमाथि करणी भएको दाबीसहित उजुरी प्राप्त भएको र प्रहरीले यसबारे गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको पुष्टि गरे ।
डीएसपी चौधरीले टेकपानासँग भने, “मानिस पीडित भएको घटनामा बोलेर पनि यथार्थ खुलाउन सक्छन्, तर पीडित जनावर भएकाले यो घटनाको अनुसन्धान प्रक्रिया अलि फरक र चुनौतीपूर्ण छ । हामीले यसमा आवश्यक प्रक्रिया अघि बढाइसकेका छौँ ।” कुकुरको स्वास्थ्य परीक्षण गराउने, घटनास्थलको छानबिन गर्ने र फरार आरोपीको खोजी कार्यलाई तीव्रता दिइएको डीएसपी चौधरीले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १८:५०
