आफ्नो फेसबुक पोस्टमा फेक रियाक्ट आएको भन्दै राजिव खत्रीले भने- मलाई बदनाम गराउन डलर खर्चियो
माघ १२, २०८२ १८:४४
काठमाडौँ । पछिल्लो समय आफ्नो फेसबुक पोस्टमा आएको रियाक्सनको अस्वाभाविक वृद्धिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् भक्तपुर-२ का प्रतिनिधिसभा उम्मेदवार राजिव खत्रीले आफ्नो धारणा राखेका छन् । उनले आफ्नो कन्टेन्टमा देखिएको ६० हजारदेखि एक लाखसम्मको अस्वाभाविक रियाक्टमा आफ्नो वा आफ्नो टिमको कुनै संलग्नता नरहेको दाबी गरेका हुन् ।
विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै खत्रीले सामान्यतया आफ्ना पोस्टमा १५ देखि ३० हजारसम्म रियाक्ट आउने गरेकोमा अहिले देखिएको वृद्धि डलर खर्च गरेर बढाइएको बताए । “अहिले ६० हजार, ८० हजार हुँदै १ लाखसम्म रियाक्ट पुगेका छन् । यो सबै डलर खर्च गरेर गरिएको हो,” उनले भने, “तर यो डलर कसले खर्च गरिरहेको छ, त्यो हामी चलाउनेलाई नै थाहा हुँदैन ।”
फेसबुकको प्राविधिक पक्षबारे उल्लेख गर्दै उनले कसैले चाहेमा अर्काको पोस्टमा पनि डलर खर्च गरेर रियाक्ट बढाउन सक्ने बताए । विशेषगरी ‘हाहा’ रियाक्टको बाढीलाई उनले ‘प्रोपागान्डा’ भन्दै त्यसपछि आएका लभ रियाक्टको बाढीलाई आफ्ना समर्थकले काउन्टरका रूपमा प्रयोग गरेको हुन सक्ने बताए । ‘तपाईंले आफ्नो व्यक्तित्व बनाउन रियाक्ट किन्नुभएको होला’ भन्ने प्रश्नमा उनले भने, “हाहा रियाक्ट गरेर कसैको व्यक्तित्व बन्दैन । यो सबै मलाई कमजोर देखाउन वा अनावश्यक चर्चाका लागि गरिएको प्रोपागान्डा हो, जसले मलाई कुनै अर्थ राख्दैन ।”
आफू फेसबुकमा लाइक र शेयरभन्दा पनि विषयवस्तु र आउने प्रतिक्रियाहरूको सूक्ष्म अध्ययनमा केन्द्रित हुने उनले प्रस्ट पारे ।
यसै सन्दर्भमा उनले आफ्ना शुभेच्छुक र विरोधी दुवै पक्षलाई विशेष आग्रह समेत गरेका छन् । शुभेच्छुकलाई ‘लभ’ रियाक्टका लागि डलर खर्च नगर्न अनुरोध गर्दै उनले बरु आफूले उठाएका मुद्दालाई जनमानसमा पुर्याउन ‘शेयर’ गरिदिन आग्रह गरे ।
त्यस्तै, ‘हाहा’ वा ‘एङ्ग्री’ रियाक्टका लागि डलर खर्च गर्नेहरूलाई लक्षित गर्दै उनले भने, “जसले मेरो पोस्टमा नकारात्मक रियाक्टका लागि डलर खर्च गरिरहनुभएको छ, त्यो पैसा बरु कतै गरिब वा जनताको हितका लागि कोषमा जम्मा गरिदिए राम्रो हुन्थ्यो ।”
आफ्ना विरुद्ध भइरहेका यस्ता गतिविधिलाई उनले सामान्य रूपमा लिएको र यसले आफ्नो कार्यदिशामा कुनै फरक नपार्ने समेत उल्लेख गरे ।
यसअघि बट अकाउन्टबाट अस्वाभाविक रूपमा पोस्टमा रियाक्ट आएपछि आम जनता पार्टीकी नेतृ एलिजा गौतम विवादमा आएकी थिइन् । त्यसबाहेक आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी विभिन्न प्रतिनिधिको अकाउन्टमा यस्ता रियाक्सन आउने गरेका छन् । यस्तो रियाक्सन कसरी आउँछ, त्यसले के फरक पार्छ लगायतका विभिन्न विषयमा टेकपानाले लेख तयार पारेको छ । यहाँ क्लिक गरेर उक्त लेख पढ्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १८:४४
