close

चिनियाँको ‘आईकेईए’ जब स्क्याममा फसे ५८ जना नेपाली, सात करोड ३४ लाख बर्बाद

टेकपाना टेकपाना

माघ १५, २०८२ १५:४४

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । काठमाडौँका हर्क लामा (नाम परिवर्तन)का लागि ११ कात्तिक २०८२ को बिहान एउटा सामान्य दिन जस्तै सुरु भएको थियो । तर, उनको टेलिग्राममा आएको एउटा मेसेजले उनको जीवनमा यस्तो आर्थिक तुफान ल्यायो, जसले हेर्दाहेर्दै ७० लाख ७० हजार ७४३ रुपैयाँ स्वाहा पारिदियो ।

हर्क त केवल एक प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोग पत्र अनुसार, हर्क जस्तै ५८ जना नेपालीहरू एउटै सङ्गठित गिरोहको चङ्गुलमा फस्न पुगे । जसबाट उनीहरूको कुल ७ करोड ३३ लाख ९४ हजार ४०४ रुपैयाँ ठगिएको छ ।

यो कुनै सामान्य ठगी थिएन । यो त चिनियाँ दिमाग, भारतीय व्यवस्थापन र नेपाली सहयोगीहरूको एउटा यस्तो सञ्जाल थियो, जसले प्रविधिको प्रयोग गरेर मानिसको लोभ र भरोसालाई डिजिटल पासोमा परिणत गरिदियो ।

आशाको खेती र टास्कको पासो

ठगीको यो सिलसिला आईकेईए ग्रुप २४६५ (IKEA Group 2465) नामक टेलिग्राम ग्रुपबाट सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयले पेस गरेको अभियोग पत्रमा उल्लेख छ । पीडितहरूलाई सुरुमा फेसबुक र इन्स्टाग्राममा 'वर्क फ्रम होम' (घरै बसी काम गर्ने) आकर्षक विज्ञापन देखाइन्थ्यो । त्यसपछि उनीहरूलाई टेलिग्राममा सरिता सापकोटा वा दीक्षा जस्ता नाम गरेका नक्कली ह्यान्डलहरूमार्फत सम्पर्क गरिन्थ्यो ।

काम निकै सजिलो थियो- केही वेबसाइटहरूमा गएर होटेल बुकिङ गर्ने, सामानको रिभ्यु लेख्ने वा अनलाइन अर्डर ग्रयाब गर्ने । अभियोग पत्रमा उल्लेख भए अनुसार, ठगहरूले यसलाई 'आईकेईए' जस्तो विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीको काम भएको दाबी गर्थे ।

सुरुमा विश्वास जित्नका लागि उनीहरूले पीडितलाई थोरै रकम लगानी गर्न लगाउँथे र तत्कालै १० देखि २५ प्रतिशतसम्म बोनससहित फिर्ता गरिदिन्थे । हर्क लामाको हकमा पनि यही भयो । तर जब उनले ठुलो रकम लगानी गरे, तब गिरोहले आफ्नो असली रूप देखायो ।

सिस्टममा 'नेगेटिभ ब्यालेन्स' (रकम नपुगेको) देखाइन्थ्यो । हर्क लामाको जाहेरी अनुसार, उनलाई रकम निकाल्नका लागि थप पैसा जम्मा गर्न बाध्य पारियो । उनले एनआईसी एसिया, सिटिजन्स, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लगायतका अकाउन्टमा पटक–पटक गरेर ७० लाखभन्दा बढी रकम पठाए । तर एक रुपैयाँ पनि फिर्ता पाएनन् ।

व्यथा एउटै, पीडित ५८ जना

यो ठगी कति भयानक थियो भन्ने कुरा बिगो रकमबाट प्रस्ट हुन्छ । कास्की पोखराका पृथ्वीराज बास्तोला ((नाम परिवर्तन))ले १ करोड १५ लाख १६ हजार ५८७ रुपैयाँ गुमाएका छन् । अभियोग पत्रका अनुसार उनलाई दिनको ७५ वटा टास्क पूरा गरे बापत मोटो कमिसनको लोभ देखाइएको थियो ।

उनले चन्द्रेस रैदास, विश्व मगर, राजनन्दन यादव जस्ता व्यक्तिहरूको खातामा करोड बढी रकम जम्मा गरे ।

त्यस्तै, रमेश न्यौपाने (नाम परिवर्तन)ले ९४ लाख १६ हजार ३०६ रुपैयाँ गुमाए । उनलाई सुरुमा १० हजार लगानी गर्दा १५,२०० रुपैयाँ फिर्ता दिएर विश्वासमा पारिएको थियो । अस्मिता खड्का (नाम परिवर्तन)ले ३५ लाख ८४ हजार र स्मृति पौडेलले २५ लाख ८१ हजार रुपैयाँ यही डिजिटल पासोमा परेर गुमाएका छन् ।

जिल्ला सरकारी वकील कार्यालयको कागजातमा उल्लेख भए अनुसार, पीडितहरूले आफ्नो घरजग्गा धितो राखेर र ऋण खोजेर जम्मा गरेको रकम ठगहरूको खातामा पुगेको थियो ।

चिनियाँ 'मास्टरमाइन्ड'

यो सङ्गठित अपराधको पिरामिड निकै जटिल छ । पक्राउ परेका प्रतिवादीहरूको बयान अनुसार यो गिरोहको शीर्ष तहमा एलोङ (Along), बेन (Ben), ज्याक (Jack) र असिम (Asim) जस्ता चिनियाँ नागरिकहरू छन् । उनीहरूले ठगीको योजना बुन्थे र डिजिटल प्लेटफर्महरू सञ्चालन गर्थे ।

नेपालमा यो सञ्जालको मुख्य कडीका रूपमा भारतीय नागरिक आदित्य कुमार गुप्ता परिचालित थिए । रक्सौल निवासी २६ वर्षीय आदित्यले चिनियाँ नागरिकहरूसँग मिलेर नेपाली बैङ्क खाताहरू व्यवस्थापन गर्ने जिम्मेवारी लिएका थिए । आदित्य कुमारले प्रहरीलाई दिएको बयान अनुसार, उनले करिब ८० देखि ९० लाख रुपैयाँ नगद चिनियाँहरूलाई काठमाडौँका विभिन्न क्यासिनोहरूमा पुगेर बुझाएका थिए ।

नेपाली नै सहयोगी

यो गिरोहले नेपाली नागरिकहरूलाई केवल नगद सङ्कलक र खाता प्रदायकका रूपमा प्रयोग गरेको देखिन्छ । सिन्धुपाल्चोकका राजन गिरी र ओखलढुङ्गाकी मीना लकान्द्रीले आदित्य कुमारको सहयोगीका रूपमा काम गर्थे ।

सिन्धुलीका १८ वर्षीय कुमार थापा यस प्रकरणका अर्का प्रमुख प्रतिवादी हुन् । उनलाई मासिक २० हजार रुपैयाँ तलब र सङ्कलित रकमको १ प्रतिशत कमिसन दिने लोभमा फसाइएको थियो । कुमार थापाको बयान अनुसार, उनलाई कुमार रम्तेल (कुमार साकी) ले काठमाडौँ बोलाएर विभिन्न बैङ्कमा खाता खोल्न लगाएका थिए । थापाको नाममा मात्रै आधा दर्जनभन्दा बढी बैङ्कमा खाता खोलिएको थियो, जहाँ पीडितहरूको करोडौँ रुपैयाँ जम्मा हुन्थ्यो ।

जब खातामा पैसा आउँथ्यो, राजन गिरी र मीना लकान्द्रीले कुमार थापालाई बैङ्कमा लगेर नगद निकाल्न लगाउँथे । अभियोग पत्रमा उल्लेख भए अनुसार, उनीहरूले बैङ्क बाहिर गाडीमा बसेर पैसाको झोला लिन्थे । राजन गिरीले स्वीकार गरे अनुसार, उनीहरूले १०–११ जना मानिसहरूबाट सङ्कलन गरेको करिब ९० लाख रुपैयाँ ठगीको पैसा भएको थाहा हुँदाहुँदै चिनियाँहरूलाई बुझाएका थिए ।

कालो धनको शुद्धीकरण गर्ने माध्यम क्यासिनो र क्रिप्टो

ठगी गरिएको यो ठुलो रकमलाई कसरी लुकाइन्थ्यो भन्ने कुरा निकै रोचक छ । प्रतिवादी राजन गिरी र मीना लकान्द्रीको बयान अनुसार, सङ्कलित नेपाली नगद आदित्य कुमार गुप्तालाई बुझाइन्थ्यो । आदित्यले उक्त रकम ठमेलका क्यासिनोहरू वाल्दो, बादशाह र मेरियट होटलको क्यासिनोमा पुर्‍याउँथे ।

त्यहाँ चिनियाँ नागरिकहरूले उक्त नगद लिन्थे र बदलामा आदित्यको डिजिटल वालेटमा यूएसडीटी अर्थात् क्रिप्टोकरेन्सी पठाइदिन्थे । यसरी नेपाली पीडितको रगत–पसिनाको कमाइ डिजिटल माध्यमबाट क्षणभरमै विदेश पलायन हुन्थ्यो ।

अनुसन्धान र कारबाही

यो ठगी प्रकरणको पर्दाफास तब भयो, जब केही पीडितहरूले साइबर ब्युरोमा उजुरी दिए । १८ कात्तिक २०८२ मा प्रहरीले ठमेलको छायाँ सेन्टरबाट राजन गिरी, मीना लकान्द्री र आदित्यकुमार गुप्तालाई नगद रकमसहित पक्राउ गर्‍यो ।

काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्र अनुसार, यस प्रकरणमा १८ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये कुमार थापा, राजन गिरी, मीना लकान्द्री, आदित्य कुमार गुप्ता र कुमार रम्तेल (कुमार साकी) पक्राउ परेका छन् भने अन्य १३ जना अझै फरार छन् । फरार हुनेहरूमा इन्द्र कुमार बलम्पाकी मगर, बुद्धिमाया तामाङ, चन्द्रेस रैदास, बाबुलाल लामा, रोशन मुसलमान लगायत छन् ।

सरकारी वकिलले उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीको कसुर र सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ५ बमोजिमको कसुरमा मुद्दा चलाएको छ । ठगीको कसुरमा सात वर्षसम्म कैद र ७० हजार जरिबानाका साथै सङ्गठित अपराधमा थप ५० प्रतिशत सजायको मागदाबी लिइएको छ ।

यो प्रकरणले नेपालको डिजिटल बैङ्किङ सुरक्षा र साइबर साक्षरतामा ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ । जिल्ला सरकारी वकिल कार्यालयको ठम्याइ छ कि चिनियाँ नागरिकहरूले फिशिङ लिङ्क र नक्कली टेलिग्राम च्यानलमार्फत नेपालीहरूलाई आफ्नो जालमा पारेका थिए ।

पीडित ५८ जनामध्ये धेरैजसो पढेलेखेका र आईटी क्षेत्र बुझेका व्यक्तिहरू समेत हुनुले ठगहरूको प्रविधि कति एड्भान्स थियो भन्ने देखाउँछ । अदालतमा पेस गरिएको बिगो विवरण अनुसार, सात करोड ३३ लाख ९४ हजार ४०४ रुपैयाँ अभियुक्तहरूबाट असुल उपर गरी पीडितहरूलाई भराउन माग गरिएको छ ।

अहिले यो मुद्दा अदालतमा विचाराधीन छ । तर यो घटनाले एउटा कुरा प्रस्ट पारेको छ- इन्टरनेटमा आउने 'सजिलै र छिटै धनी बन्ने' अफरहरू प्रायः ठगीका पासोहरू हुन् । सचेत हुनु नै यस्ता डिजिटल अपराधीहरूबाट जोगिने एक मात्र उपाय हो ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८२ १७:३७