एमालेको गीतमा अभिनय गरेपछि ट्रोल हुने डर, स्मारिका भन्छिन्- माफी दिनुहोला, गल्ती गरिहालेँ
माघ २०, २०८२ १४:३६
काठमाडौँ । सामाजिक सञ्जालमा बढ्दो ट्रोल र नकारात्मक टिप्पणीको डरले कलाकार त्रसित हुन थालेका छन् । यसै क्रममा टिकटक स्टार एवं मोडेल स्मारिका ढकालले नेकपा (एमाले) को समर्थनमा बनेको एक चुनावी गीतको म्युजिक भिडिओमा अभिनय गरेको विषयलाई लिएर सार्वजनिक रूपमै माफी मागेकी छिन् ।
सोमबार टिकटकमा एक पोस्ट राख्दै उनले उक्त म्युजिक भिडिओ रिलिज हुनु अगावै दर्शक र शुभचिन्तकसँग क्षमायाचना गरेकी हुन् ।
ढकालका अनुसार उनी आफूले पहिलेदेखि नै काम गरिरहेको टिमले बोलाएका कारण सुटिङ (छायांकन) मा पुगेकी थिइन् । तर, त्यहाँ पुगेर मेकअप गरिसकेपछि मात्र उक्त गीत राजनीतिक दल एमालेसँग सम्बन्धित रहेको थाहा पाएको उनले दाबी गरेकी छिन् । सो समयमा आफ्नो ‘मुड’ खराब भएको र भिडिओ नगर्ने सोच बनाए पनि निर्माण टिमले ‘एउटा कलाकारको रूपमा अभिनय गर्दा केही हुँदैन’ भन्दै काम गर्न दबाब दिएपछि आफूले सुटिङ पूरा गरेको उनले बताएकी छिन् ।
सुटिङ सकिएपछि पनि आफूलाई निकै मानसिक तनाव भएको र भिडिओ सार्वजनिक नगर्नका लागि लागेको सम्पूर्ण खर्च बेहोर्ने प्रस्ताव समेत राखेको, तर निर्माण पक्षले नमानेको उनले भिडिओमा उल्लेख गरेकी छिन् ।
आफू कुनै पनि राजनीतिक दल वा समूहमा आबद्ध नरहेको प्रष्टीकरण दिँदै उनले भावुक मुद्रामा भनेकी छिन्, “मलाई माफ गरिदिनु होला, मैले गल्ती गरिहालेँ । मलाई डर लागिरहेको छ । म कुनै पार्टीको मान्छे होइन, कलाकारको रूपमा मात्र काम गरेकी हुँ ।” उनले आफूले जानीजानी यस्तो नगरेको र भिडिओ हटाइदिन आग्रह गर्दा पनि सम्भव नभएपछि बाध्य भएर माफी माग्नुपरेको बताएकी छिन् ।
नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय राजनीतिक विचार वा दलसँग जोडिँदा चर्को आलोचना खेप्नुपर्ने परिस्थिति सिर्जना भएको छ । केही समयअघि गायक तथा अभिनेता प्रकाश सपुतले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दा सामाजिक सञ्जालमा ठुलो ट्रोल र बहिष्कारको सामना गर्नुपरेको थियो। स्मारिकाले माफी माग्नुको पछाडि पनि यस्तै किसिमको सम्भावित सामाजिक सञ्जालको आक्रमणबाट बच्ने प्रयासका रूपमा हेरिएको छ ।
यद्यपि, स्मारिकाको यो माफीलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । धेरैजसोले कलाकारले अभिनय गर्नुलाई गल्ती मान्न नहुने तर्क गरेका छन् ।
टिकटक प्रयोगकर्ता आचार्य करुले स्मारिकालाई प्रश्न गर्दै लेखेकी छिन्, “एमालेको गीतमा अभिनय गर्नै नहुने हो र ? कसको गल्ती भयो ?” त्यस्तै, विश्वराज भट्टराईले कलाकारलाई नडराउन सुझाव दिँदै लेखेका छन्, “किन डराएकी ? प्रजातन्त्रमा व्यक्ति स्वतन्त्र हुन्छ, विचार हो तिम्रो ।” पुस्तिका बुढाथोकीले कलाकारको पेसालाई सम्मान गर्नुपर्ने तर्क गर्दै लेख्छिन्, “कलाकार भएपछि अभिनय गर्नै पर्छ । यसरी माफी माग्नुपर्ने केही छैन ।”
अर्नभ नामका प्रयोगकर्ताले कलाकार र मतदानको विषयलाई जोड्दै सुझाव दिएका छन्, “तिमी कलाकार हौ बहिनी, अभिनय गरेकी हौ, किन पिर गर्छौ ? मतदान राम्रो मान्छेलाई छानेर गर ।” यस्तै, कलावती शाहीले कलाकारको भूमिका काल्पनिक हुने भन्दै लेखेकी छिन्, “माफी माग्नु पर्ने कुरा खासै देखिँदैन किनभने त्यो त कलाकारको कामै हो । गीतमा तपाईं एउटा काल्पनिक पात्र मात्र हो, वास्तविक होइन ।”
लक्ष्मी ज्ञवालीले पनि कलाकारले पारिश्रमिक लिएर काम गर्नुलाई स्वाभाविक मान्नुपर्ने बताएकी छिन् । उनले लेखेकी छिन्, “कलाकारले आफ्नो पारिश्रमिक लिएर गरेको काम हो, त्यसलाई अन्यथा नलिनु, तिमी आफू कलाकार हो भन्ने सम्झनु ।” अर्का एक प्रयोगकर्ताले सहानुभूति प्रकट गर्दै लेखेका छन्, “तिमी एक कलाकार हौ, यो तिम्रो गल्ती होइन । यसमा आफैँलाई दोष नदेऊ ।”
यद्यपि केही प्रयोगकर्ताले भने स्मारिकाको माफी माग्ने शैलीलाई फरक ढङ्गले आलोचना गरेका छन् । सिर्जना बुढाथोकीले कलाकार साझा हुनुपर्ने भन्दै लेखेकी छिन्, “एमालेको गीतमा काम गरेर माफी माग्नु अतिवादी सोच हो । कलाकारले आफ्नो भूमिका र दायित्व बिर्सेको महसुस भयो । रिल र रियालिटी छुट्टाउन नसक्नेले आफू कलाकार भएको भन्न पनि अप्ठ्यारो मान्नु पर्ने । पेसामा विचार र पूर्वाग्राही देखिनु पक्कै असल चरित्र ठहरिँदैन ।” केही अन्य प्रयोगकर्ताले भने म्युजिक भिडिओमा अनुबन्धित हुनुअघि नै कलाकारले गीतको विषयवस्तु र उद्देश्यबारे सचेत हुनुपर्ने भन्दै उनलाई आगामी दिनमा सतर्क रहन सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १४:३६
