काठमाडौँ । ईभी ब्रान्ड दीपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले आफ्ना ग्राहकका लागि विशेष ‘एक्सटेन्डेड वारेन्टी’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दीपल ईभीका ब्याट्री र मोटरमा प्रदान गर्दै आएको वारेन्टी अवधि थप गरी ११ वर्ष पुर्याएको हो ।
नयाँ घोषणा अनुसार अब दीपलका ग्राहकले ईभीको ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको एक्स्टेन्डेड वारेन्टी पाउनेछन् । यसअघि उत्पादक कम्पनी चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख ४० हजार किलोमिटरको वारेन्टी दिँदै आएकोमा एमएडब्लू वृद्धिले ग्राहकको थप सुरक्षाका लागि यसलाई विस्तार गरेको हो ।
ब्याट्रीसँगै मोटरको वारेन्टी पनि बढाइएको छ । यसअघि ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर रहेको मोटरको वारेन्टीलाई एक्स्टेन्डेड योजनामार्फत ११ वर्ष वा दुई लाख किलोमिटर पुर्याइएको छ । यसले दीपल ईभी प्रयोगकर्ताहरूलाई लामो समयसम्म मर्मतसम्भारको चिन्ताबाट मुक्त राख्ने कम्पनीको दाबी छ ।
एक्स्टेन्डेड वारेन्टी अन्तर्गत हाई-भोल्टेज ब्याट्री पार्टस्, सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट, म्यानुफ्याक्चरिङ डिफेक्ट, ट्रयाक्सन मोटर एसेम्ब्ली र मोटर कन्ट्रोल युनिटजस्ता महत्त्वपूर्ण भागहरू समेटिएका छन् । दीपलका ईभीमा विश्व चर्चित सीएटीएलको ‘गोल्डेन शिल्ड’ ब्याट्री र चांगानको अत्याधुनिक मोटर प्रविधि प्रयोग गरिएको छ ।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले यो योजनालाई कम्पनीको आत्मविश्वास र ग्राहकप्रतिको उत्तरदायित्वको रूपमा व्याख्या गरे । उनले भने, “यो एक्स्टेन्डेड वारेन्टी मात्र नभई हाम्रो उत्पादनप्रतिको विश्वासको अभिव्यक्ति पनि हो । सीएटीएल ब्याट्री र चांगान मोटरको गुणस्तरमा हामी विश्वस्त छौँ । त्यसैले नेपाली ग्राहकलाई ढुक्क बनाउन हामीले यो योजना लागु गरेका हौँ ।”
पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १६:३२
