close

एनसेलले कोशीका तीन जिल्लामा थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई भोल्टेमा जान आग्रह

टेकपाना टेकपाना

माघ २१, २०८२ २३:४६

एनसेलले कोशीका तीन जिल्लामा थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई भोल्टेमा जान आग्रह

काठमाडौँ । एनसेलले कोशी प्रदेशका तीन जिल्लामा आफ्नो थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ । बुधबार एक सूचना जारी गर्दै कम्पनीले प्रविधि स्तरोन्नति गर्ने योजनाअनुरूप आगामी २२ माघ (बिहीबार)देखि झापा, धनकुटा र तेह्रथुम जिल्लाका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्न लागेको हो ।

नयाँ र अत्याधुनिक प्रविधि अपनाउँदै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले थ्रीजी सेवा हटाउन लागिएको एनसेलले जनाएको छ । थ्रीजी बन्द भएपछि ती क्षेत्रका ग्राहकले उच्च गुणस्तरको भ्वाइस र डेटा सेवाका लागि फोरजी नेटवर्क र भोल्टे (VoLTE) सेवा प्रयोग गर्नुपर्ने हुन्छ ।

एनसेलले सूचनामा भनेको छ, "हाम्रो प्रविधि स्तरोन्नति गर्ने योजनाअन्तर्गत माघ २२ देखि झापा, धनकुटा र तेह्रथुममा थ्रीजी सेवा बन्द हुनेछ । ग्राहकहरूलाई पहिलेकै दरमा अझ राम्रो र स्पष्ट भ्वाइस तथा डेटा सेवाका लागि भोल्टे (VoLTE) सेवा सक्रिय गर्न अनुरोध गर्दछौँ ।"

कसरी गर्ने भोल्टे सक्रिय ?

एनसेलका ग्राहकले आफ्नो मोबाइलबाट *१२३*११# डायल गरेर भोल्टे सेवा सुरु गर्न सक्नेछन् । यसका साथै मोबाइलको सेटिङमा गएर पनि 'VoLTE' विकल्पलाई 'अन' (ON) गर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार हाल एनसेलको फोरजी नेटवर्कले देशको ९५ प्रतिशत जनसंख्यालाई समेटिसकेको छ । थ्रीजी सेवाको विस्थापनसँगै थप आधुनिक प्रविधिमार्फत उत्कृष्ट सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ । थ्रीजी सेवा बन्द भए पनि ग्राहकले हालकै शुल्कमा उच्च गतिको इन्टरनेट र स्पष्ट कुराकानीको अनुभव लिन पाउने एनसेलको दाबी छ ।

 

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ २३:४६