close

आईटी अध्ययनका नाममा विद्यार्थीलाई दुबई पठाएर करोडौँ ठगी, ३ कन्सल्टेन्सी विरुद्ध मुद्दा

टेकपाना टेकपाना

माघ २३, २०८२ १४:१४

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । वैदेशिक अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) मा सूचना प्रविधि (आईटी), कम्प्युटिङ लगायतका विषय पढाउने प्रलोभन देखाएर नेपाली विद्यार्थीहरूलाई करोडौँ ठगी गरेको फेला परेको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित तीन एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरूलाई अलपत्र पारेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको हो ।

कन्सल्टेन्सीहरूले आकर्षक वैदेशिक गन्तव्य, क्रेडिट ट्रान्सफर र शतप्रतिशत भिसा सफलताको झुटो आश्वासन दिएर प्रति विद्यार्थी लाखौँ असुल गरेको आरोप छ । बुधबार र बिहीबार गरी दुई दिनमा दर्ता भएका छुट्टाछुट्टै अभियोग पत्रले ठगीको केन्द्रमा पार्क भ्यु,'मर्सी र सिटी हब कन्सल्टेन्सी रहेको देखाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि बागलुङका मानव साह सञ्चालक रहेको बागबजारस्थित पार्क भ्यू एजुकेसन कन्सल्टेन्सी, रामचन्द्र टण्डन सञ्चालक रहेको महाराजगञ्जस्थित मर्सी एजुकेसन कन्सल्टेन्सी र सुवास सिलवाल क्षेत्री सञ्चालक रहेको डिल्लीबजारस्थित सिटी हब एजुकेसन नेटवर्क विरुद्ध मुद्दा चलाइएको हो । यी कन्सल्टेन्सीहरूले मुख्य गरी यूएईको शारजाहस्थित ब्रिट्स इम्पेररियल युनिभर्सिटी कलेजमा भर्ना गरिदिने भन्दै ठगी गरेको अभियोग पीडित विद्यार्थीको तर्फबाट लगाइएको छ ।

यो ठगी प्रकरणको सबैभन्दा ठुलो मार सूचना प्रविधि (आईटी) अध्ययन गर्न चाहने विद्यार्थीहरूमा परेको छ । पार्क भ्यु कन्सल्टेन्सीमार्फत बीएससी इन कम्प्युटिङ (एप्लिकेसन डेभलपमेन्ट) पढ्न गएका आयुष्मान सिंहले २० लाख ६३ हजार ६४८ रुपैयाँ गुमाएको अभियोगपत्रमा उल्लेख छ । उनलाई एक वर्ष दुबई पढेपछि फ्रान्स वा अन्य देशमा क्रेडिट ट्रान्सफर हुने 'शतप्रतिशत ग्यारेन्टी' दिइएको थियो ।

त्यसैगरी, अनिश साहलाई एमएससी कम्प्युटिङ (सफ्टवेयर डेभलपमेन्ट) र आदित्य शाहलाई ब्याचलर इन आईटी सिस्टम एन्ड प्रोजेक्ट म्यानेजमेन्ट अध्ययनका लागि यूके, अस्ट्रेलिया वा अमेरिका पठाइदिने भन्दै क्रमशः १६ लाख ५९ हजार र १२ लाख ४६ हजार रुपैयाँ ठगी गरिएको आरोप छ । अन्य विद्यार्थीहरूलाई पनि बीबीए र होटेल म्यानेजमेन्ट जस्ता विषयमा पढाउने प्रलोभन देखाई ठगी गरिएको छ ।

अभियोगपत्र अनुसार सामाजिक सञ्जालमा भ्रामक विज्ञापन गर्दै कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई प्रलोभनमा पार्ने गरेका थिए । दुबईमा एक वर्ष पढेपछि युरोप, अमेरिका वा अस्ट्रेलिया जान पाइने, उक्त कलेज फ्रान्सको ईयूकेला बिजनेस स्कुलको सम्बन्धन प्राप्त भएको, अध्ययनसँगै आकर्षक तलबमा जागिर पाइने र हप्ताको असीमित समय काम गर्न पाइने, कुनै पनि भाषा परीक्षा र आर्थिक कागजात बिना नै भिसा प्राप्त हुने जस्ता दाबी तथा प्रलोभन उनीहरूले देखाएका थिए ।

विद्यार्थीहरू दुबई पुगेपछि मात्र आफूहरू ठगिएको थाहा पाएका थिए । अनुसन्धानका क्रममा ब्रिट्स इम्पेरियल युनिभर्सिटी कलेज यूएईको उच्च शिक्षा मन्त्रालय (सीएए) बाट मान्यता प्राप्त विश्वविद्यालय नभएर केवल एउटा सीप विकास वा तालिम केन्द्र मात्र रहेको खुलेको छ ।

कलेजले बीचमै आफ्नो नाम परिवर्तन गरेर बिग एजुकेसन इन्स्टिच्युट राखेको र विद्यार्थीहरूलाई दिइएको प्रमाणपत्रको कुनै अन्तर्राष्ट्रिय मान्यता नरहेको पाइएको छ । यहाँसम्म कि त्रिभुवन विश्वविद्यालयले उक्त संस्थाबाट प्राप्त प्रमाणपत्रलाई समकक्षता (इक्विभ्यालेन्सी) दिन समेत अस्वीकार गरिदिएको छ । जसका कारण विद्यार्थीहरूको शैक्षिक भविष्य नै अन्योलमा परेको छ ।

सरकारी वकिल कार्यालयले अभियुक्तहरू मानव साह, रामचन्द्र टण्डन र सुवास सिलवाल क्षेत्री विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीको कसुरमा मुद्दा दायर गरेको छ । उनीहरूलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाका साथै पीडित विद्यार्थीहरूबाट असुल गरिएको करोडौँ रुपैयाँ बिगो र ब्याज समेत फिर्ता गराउन माग गरिएको छ ।

शिक्षा मन्त्रालय र नेपाली राजदूतावास आबुधाबीले समेत यस्ता अनधिकृत संस्थाहरूमा विद्यार्थी नपठाउन र कन्सल्टेन्सीहरूको भ्रामक प्रचारमा नपर्न पटक-पटक सचेत गराउँदै आएका छन् । कलेजको आधिकारिक मान्यता स्वयम् जाँच गर्न सकिने भए पनि आईटी जस्तो प्राविधिक विषयमा पढ्न विदेश जान चाहने विद्यार्थीहरूले समेत कन्सल्टेन्सीलाई आँखा चिम्लेर विश्वास गरिरहेको देखिएको छ ।

तर कन्सल्टेन्सीका सञ्चालक तथा प्रतिवादीहरूले बयानका क्रममा आफूहरूले विद्यार्थीहरूलाई ठगी नगरेको र प्रक्रियागत रूपमा मात्र अध्ययनका लागि विदेश पठाएको दाबी गरेका छन् । मर्सी एजुकेसन कन्सल्टेन्सीका रामचन्द्र टण्डनले विद्यार्थीहरूलाई युरोप जान गाह्रो हुने र उनीहरूको शैक्षिक योग्यताको 'ग्याप'का कारण दुबईको ब्रिट्स इम्पेररियल युनिभर्सिटी कलेज विकल्पको रूपमा सुझाएको बताएका छन् ।

उनले आफ्नो कन्सल्टेन्सी र सो कलेजबिच विद्यार्थी पठाउने सम्झौता भएको र सोही आधारमा प्रक्रिया अगाडि बढाएको स्वीकार गरेका छन् । कलेजबाट प्रति विद्यार्थी ८०० अमेरिकी डलर कमिसन लिएको स्वीकार गरे पनि विद्यार्थीले दाबी गरेजस्तो अन्य रकम आफूले नलिएको दाबी उनले गरेका छन् ।

पहिले सो कलेज शिक्षा मन्त्रालयको एनओसी अनलाइन पोर्टलमा सूचीकृत भएको देखेर नै विद्यार्थी पठाएको र पछि हटाइएकोबारे आफूलाई थाहा नभएको उनको जिकिर छ ।

त्यस्तै पार्क भ्यु एजुकेसन कन्सल्टेन्सीका मानव साहले विद्यार्थीहरू आफ्नै इच्छाले दुबईको कलेजमा पढ्न गएको र आफूले केवल भर्ना तथा भिसा प्रक्रियामा सहजीकरण गरिदिएको दाबी गरेका छन् । यद्यपि शत प्रतिशत भिसा सफलता र क्रेडिट ट्रान्सफर भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेको भने उनले स्वीकार गरेका छन् ।

उनले क्रेडिट ट्रान्सफर सम्भव भएको तर त्यसका लागि विद्यार्थीले सम्बन्धित देशको भाषा र अन्य मापदण्ड पूरा गर्नुपर्ने तर्क गरेका छन् । यसैगरी सिटी हब एजुकेसन नेटवर्क तथा सिभिल हबका सुवास सिलवाल क्षेत्रीले विद्यार्थीको बजेट कम भएकाले विकल्पको रूपमा दुबईको कलेज रोजिएको र सो कलेजले फ्रान्सको कलेजसँग सम्बन्धन प्राप्त गरेको सर्टिफिकेट देखाएको आधारमा आफूले विद्यार्थी पठाएको बताएका छन् ।

विद्यार्थीले प्राप्त गरेको प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिएको विषयमा आफू जिम्मेवार नहुने उनको तर्क छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८२ १४:३३