close

८०० अर्ब डलर सम्पत्तिका मालिक एलन मस्क भन्छन्: ‘मान्छेहरू पैसाले खुसी किन्न सक्दैन भन्थे, हो रहेछ’

टेकपाना टेकपाना

माघ २४, २०८२ ११:४४

८०० अर्ब डलर सम्पत्तिका मालिक एलन मस्क भन्छन्: ‘मान्छेहरू पैसाले खुसी किन्न सक्दैन भन्थे, हो रहेछ’

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कले पैसा र खुसीको सम्बन्धलाई लिएर गरेको एक टिप्पणी अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । इतिहासमै पहिलो पटक ८०० अर्ब डलरभन्दा बढी कूल सम्पत्ति हुने व्यक्तिको सूचीमा दरिएका मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा एक पुरानो भनाइलाई उद्धृत गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 

मस्कले लेखेका छन्, “जसले पैसाले खुसी किन्न सक्दैन भनेका थिए, उनीहरूलाई साँच्चै के भन्दैछु भन्ने कुरा राम्रोसँग थाहा रहेछ ।” आफ्नो पोस्टको अन्त्यमा उनले एउटा दुखी अनुहारको इमोजी समेत राखेका छन् । उनले सो पोस्ट सार्वजनिक गरेसँगै विश्वभर भाइरल बनिरहेको छ ।

मस्कको यो दार्शनिक अभिव्यक्तिको समयलाई धेरैले निकै अर्थपूर्ण रूपमा हेरेका छन् । फोर्ब्सका अनुसार उनको रकेट कम्पनी स्पेसएक्सले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ‘एक्सएआई’ लाई करिब १.२५ ट्रिलियन डलरको सम्झौतामा अधिग्रहण गरेपछि मस्कको सम्पत्ति ८४ अर्ब डलर थपिएको थियो । यससँगै उनको कुल सम्पत्ति लगभग ८५२ अर्ब डलर पुगेको थियो । फोर्ब्सका अनुसार शनिबार उनको कूल सम्पत्ति ८४४.७ अर्ब डलर रहेको छ । 

यति ठुलो आर्थिक सफलता र कीर्तिमानको बीचमा उनले व्यक्त गरेको निराशा मिश्रित भावमा सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यङ्ग्य, ठट्टा र गम्भीर दार्शनिक प्रतिक्रिया दिएका छन् ।

मस्कको पोस्टमा टिप्पणी गर्दै एक प्रयोगकर्ताले पैसाले खुसीको ग्यारेन्टी नगरे पनि यसको अभावले जीवनमा ठुलो तनाव दिने र बाँच्नकै लागि सङ्घर्ष गर्नुपर्ने अवस्थामा मानसिक शान्ति पाउन कठिन हुने उल्लेख गरेका छन् । त्यस्तै अर्का एक प्रयोगकर्ताले मस्कलाई व्यङ्ग्य गर्दै आफूलाई १ मिलियन डलर पठाएमा उनको कुरा बुझ्न सजिलो हुने बताएका छन् । कसैले कोठाको भाडा तिर्ने चिन्ता नभएपछि दार्शनिक बन्न सजिलो हुने टिप्पणी गरेका छन् भने केहीले पैसाले खाना किन्न सके पनि भोक र ओछ्यान किन्न सके पनि निद्रा किन्न नसक्ने भन्दै मस्कको कुरामा सहमति जनाएका छन् । एक प्रयोगकर्ताले भने मस्कलाई अरूको सहयोग गरेर र कुनै खास व्यक्तिसँग स्थायी सम्बन्ध बनाएर खुसी खोज्न सुझाव समेत दिएका छन् । ५ फेब्रुअरी २०२६ मा सार्वजनिक भएको उनको उक्त पोस्टले भौतिक सम्पत्ति र आन्तरिक खुसीको बहसलाई पुनः विश्वव्यापी रूपमा चर्चामा ल्याइदिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ ११:४४