काठमाडौँ । डिशहोम गोले आफ्ना दर्शकका लागि दुई नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ स्ट्रिमिङका लागि उपलब्ध गराएको छ । हलमा प्रदर्शन हुँदा दर्शकबाट सकारात्मक प्रतिक्रिया र राम्रो व्यापारिक सफलता हासिल गरेका यी दुवै चलचित्र अब घरमै बसेर सहज रूपमा हेर्न सकिने भएको हो ।
यी चलचित्र हेर्नका लागि नेपालभित्रका दर्शकले २२५ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ भने नेपालबाहिर रहेका दर्शकले अमेरिकी डलर १.९९ मा डिशहोम गोमार्फत चलचित्रको मनोरञ्जन लिन सक्नेछन् ।
चलचित्र ‘ह्यारी कि प्यारी’ डा. कपिल रिजालको निर्देशन र डा. भोला रिजालको निर्माणमा तयार भएको प्रस्तुति हो । जितु नेपाल, सम्राज्ञी आर.एल. शाह, विजय बराल र लक्ष्मी गिरीको मुख्य अभिनय रहेको यस रोमान्टिक–कमेडी चलचित्रले हल प्रदर्शनका क्रममा दर्शकहरूलाई हँसाउनुका साथै भावुक समेत बनाएको थियो ।
एक सामान्य व्यक्ति ह्यारीको जीवन, प्रेम र मित्रताका उतारचढावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको यो चलचित्र पारिवारिक दर्शकहरूले निकै रुचाएका छन् ।
त्यसैगरी, ‘प्रेम गीत ३’ निर्देशकद्वय छेतन गुरुङ र सन्तोष सेनको निर्देशन तथा सन्तोष सेनकै निर्माणमा बनेको ऐतिहासिक प्रेमकथा हो । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिकासहित शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन र माओत्से गुरुङको सशक्त अभिनयले यस चलचित्रलाई प्रभावशाली बनाएको छ ।
नेपालका साथै अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो प्रशंसा बटुलेको यस चलचित्रले आफ्नो भव्य दृश्य, सशक्त कथा र भावनात्मक प्रेमकथाका कारण दर्शकको मन जित्न सफल भएको थियो ।
डिशहोम गो नेपाली दर्शकहरूका लागि चलचित्र, वेब सिरिज, लाइभ टेलिभिजन, खेलकुद तथा विभिन्न नेपाली र अन्तर्राष्ट्रिय सामग्री उपलब्ध गराउने एक अग्रणी ओटीटी प्लेटफर्म हो । मोबाइल, ट्याबलेट र स्मार्ट टिभीमार्फत जुनसुकै स्थान र समयमा हेर्न सकिने सुविधासहित यसले विश्वभर रहेका नेपालीहरूलाई मनोरञ्जन र आफ्नो संस्कृतिसँग जोड्दै आएको छ ।
पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १४:४३
