close

आईफोन १८ प्रो म्याक्समा ५२०० एमएएच सम्मको ब्याट्री हुन सक्ने, यस्ता छन् अन्य सम्भावित फिचर

टेकपाना टेकपाना

माघ २४, २०८२ १९:२४

आईफोन १८ प्रो म्याक्समा ५२०० एमएएच सम्मको ब्याट्री हुन सक्ने, यस्ता छन् अन्य सम्भावित फिचर

काठमाडौँ । एप्पलको आगामी आईफोन १८ प्रो सिरिज सार्वजनिक हुनुअघि नै यसका विभिन्न सुविधाबारे नयाँ तथ्य बाहिरिन थालेका छन् । हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार यस सिरिजको सबैभन्दा महँगो मोडेल आईफोन १८ प्रो म्याक्स‍को ब्याट्री क्षमता यसअघिका संस्करणभन्दा केही बढी हुने दाबी गरिएको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोमा चर्चित टिपस्टर डिजिटल च्याट स्टेसनले गरेको पोस्टअनुसार चीनका लागि सार्वजनिक हुने आईफोन १८ प्रो म्याक्समा ५,००० एमएएच वा सोभन्दा केही ठुलो ब्याट्री हुनेछ । यद्यपि, अन्तर्राष्ट्रिय बजारका लागि उपलब्ध हुने संस्करणमा भने ५,१०० देखि ५,२०० एमएएचसम्मको ब्याट्री प्याक रहने सम्भावना छ ।

ब्याट्री क्षमतामा देखिने यो भिन्नताको मुख्य कारण सिम कार्डको बनावटलाई मानिएको छ । चीनमा बिक्री हुने मोडेलमा फिजिकल सिम स्लट हुने भएकाले फोनभित्र ब्याट्रीका लागि ठाउँ कम हुन्छ । तर, अन्तर्राष्ट्रिय संस्करणमा केवल 'ई-सिम' (eSIM) मात्र प्रयोग हुने भएकाले ब्याट्रीका लागि थप ठाउँ उपलब्ध हुन्छ । तुलनात्मक रूपमा हेर्दा अघिल्लो आईफोन १७ प्रो म्याक्सको फिजिकल सिम संस्करणमा ४,८३२ एमएएच र ई-सिम संस्करणमा ५,०८८ एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको थियो ।

नयाँ आईफोन १८ प्रो म्याक्समा २ नानोमिटर प्रविधिमा आधारित ए२० प्रो (A20 Pro) चिपसेट प्रयोग गरिनेछ । यो शक्तिशाली चिपसेट र ठुलो ब्याट्रीका कारण फोनको ब्याट्री ब्याकअप पहिलेभन्दा धेरै राम्रो हुने अपेक्षा गरिएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १८ प्रो सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । केही रिपोर्टहरूले दाबी गरेअनुसार एप्पलले यस पटक सामान्य आईफोन १८ मोडेलहरूलाई छाडेर सिधै ‍प्रो मोडेलहरू मात्र सार्वजनिक गर्ने योजना बनाएको छ, जुन कम्पनीको पुरानो बजार रणनीतिभन्दा फरक हुनेछ ।

 

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १९:२४