close

भिडिओ एडिटिङका लागि क्यापकटलाई पैसा तिर्नुसाटो निःशुल्क प्रयोग गर्नुहोस् यो ओपन-सोर्स सफ्टवेयर

टेकपाना टेकपाना

माघ २५, २०८२ १७:४६

भिडिओ एडिटिङका लागि क्यापकटलाई पैसा तिर्नुसाटो निःशुल्क प्रयोग गर्नुहोस् यो ओपन-सोर्स सफ्टवेयर

काठमाडौँ । भिडिओ एडिटिङको क्षेत्रमा 'क्यापकट' एउटा लोकप्रिय नाम हो, जसले सामाजिक सञ्जालका लागि छोटा भिडिओ बनाउन सजिलो बनाएको छ । तर, पछिल्लो समय क्यापकटले आफ्ना धेरै निःशुल्क सुविधाहरूलाई पेवाल (Paywall) अर्थात् सशुल्क प्याकेजभित्र राख्न थालेपछि र प्रयोगकर्ताको गोपनीयतामाथि प्रश्न उठ्न थालेपछि धेरै एडिटरहरूले यसको विकल्प खोज्न थालेका छन् ।

यसै सन्दर्भमा केडेनलाइभ (Kdenlive) नामक ओपन-सोर्स सफ्टवेयर एक शक्तिशाली र सुरक्षित विकल्पको रूपमा देखा परेको छ । क्यापकटको स्वामित्व रहेको कम्पनी बाइटडान्सले पछिल्लो समय आफ्नो सेवाका सर्तहरूमा परिवर्तन गर्दै प्रयोगकर्ताको तथ्याङ्क सङ्कलनमा आक्रामक नीति अपनाएको छ ।

नयाँ नीति अनुसार प्रयोगकर्ताले बनाएका भिडिओ, उनीहरूको आवाज र अनुहारको आकृतिलाई कम्पनीले बिना अनुमति विज्ञापन वा एआईलाई तालिम दिनका लागि प्रयोग गर्न सक्छ । यो विषयले सशुल्क प्रयोगकर्ताहरूलाई समेत चिन्तित तुल्याएको छ ।

यसका साथै पहिले निःशुल्क उपलब्ध हुने धेरै ट्रान्जिसन, बडी इफेक्ट र एआई फिचरहरू अब क्यापकट प्रो सब्स्क्रिप्सन बिना चलाउन नमिल्ने भएका छन् । मोबाइल एपमा देखिने अनावश्यक विज्ञापन र निःशुल्क संस्करणमा आउने वाटरमार्कले पनि प्रयोगकर्ताको अनुभवलाई कमजोर बनाएको छ ।

केडेनलाइभ एक व्यावसायिक स्तरको भिडिओ एडिटर हो । जुन विन्डोज, लिनक्स र म्याकमा निःशुल्क रूपमा उपलब्ध छ । यो जीपीएल लाइसेन्स अन्तर्गत रहेकाले यसका सबै फिचरहरू सधैँका लागि निःशुल्क रहने सुनिश्चितता छ ।

यसमा मल्टी-ट्र्याक एडिटिङ, एडभान्स कि-फ्रेमिङ, कलर करेक्सन र इफेक्टहरूको विशाल लाइब्रेरी उपलब्ध छ । त्यस्तै केडेनलाइभमा प्रोक्सी एडिटिङ पनि छ । जसले उच्च गुणस्तरका भिडिओलाई 'लाइटवेट' कपीमा बदलेर कम क्षमताका कम्प्युटरमा पनि सजिलै एडिटिङ गर्न सकिन्छ । अन्तिम 'रेन्डर' गर्दा भने यसले सक्कली भिडिओ नै प्रयोग गर्छ ।

केडेनलाइभले सबै डेटा लोकल स्टोरेजमा राख्छ, जसले गर्दा प्रयोगकर्ताको सिर्जना र व्यक्तिगत जानकारीमा केवल उनीहरूको पूर्ण नियन्त्रण रहन्छ ।यसमा एक्सटर्नल प्लगइनहरू पनि थप्न सकिन्छ र केडीई स्टोरबाट थप इफेक्टहरू डाउनलोड गर्न सकिन्छ ।

सिक्नुपर्ने चुनौती र क्यापकटसँगको तुलना

क्यापकट विशेष गरी नयाँ प्रयोगकर्ताका लागि अत्यन्तै सजिलो छ । यसमा रहेका रेडिमेड टेम्प्लेट र एआई टुलहरूले मिनेटमै भिडिओ तयार पार्न सघाउँछन् । अर्कोतर्फ, केडेनलाइभ एडोबी प्रिमियर जस्तै अलि जटिल छ ।

यसलाई प्रभावकारी रूपमा चलाउन कि-फ्रेम र टाइमलाइनको राम्रो ज्ञान हुन आवश्यक छ । यद्यपि, एक पटक यसको सीप सिकी सकेपछि यसले क्यापकटभन्दा बढी कन्ट्रोल र सटीकता प्रदान गर्दछ ।

यदि तपाईँलाई केडेनलाइभ सिक्न गाह्रो लाग्छ भने, क्यापकटको सिधा प्रतिस्पर्धीको रूपमा ओपनकट (OpenCut) विकास भइरहेको छ । यो पूर्ण रूपमा ओपन-सोर्स हुनेछ र यसको इन्टरफेस क्यापकटसँग मिल्दोजुल्दो बनाइएको छ ।

अहिले बिटा संस्करणमा उपलब्ध यो सफ्टवेयरले वेब, डेस्कटप र मोबाइलमा विज्ञापन रहित र गोपनीयता-मैत्री सेवा दिने लक्ष्य राखेको छ । भिडिओ सम्पादनका लागि ओपन-सोर्स सफ्टवेयर रोज्नु केवल पैसा बचाउनु मात्र होइन, बरु आफ्नो डेटा र रचनात्मक कार्यमाथि पूर्ण नियन्त्रण कायम राख्नु पनि हो । 

 

पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १८:६