close

डिजाइन फेरबदलपछि महँगो मूल्यमा आउने भयो ट्रम्पको स्मार्टफोन, केके हुनेछन् फिचर ?

टेकपाना टेकपाना

माघ २६, २०८२ ९:४०

डिजाइन फेरबदलपछि महँगो मूल्यमा आउने भयो ट्रम्पको स्मार्टफोन, केके हुनेछन् फिचर ?

काठमाडाैँ । लामो समयको अन्योल र ढिलाइपछि ट्रम्प मोबाइलले आफ्नो बहुप्रतिक्षित ‘टी-वन’ फोन बजारमा ल्याउने तयारीलाई तीव्रता दिएको छ । कम्पनीले फोनको डिजाइन स्पेसिफिकेसनमा व्यापक फेरबदल गर्दै सुरुमा घोषणा गरिएको भन्दा बढी मूल्यमा सार्वजनिक गर्ने संकेत दिएको छ ।

द भर्जसँगको कुराकानीमा कम्पनीका कार्यकारीहरू डन हेन्ड्रिक्सन र एरिक थोमसले फोन निर्माणको परियोजना रद्द नभएको स्पष्ट पारे । केही प्राविधिक अवरोध र अन्तिम समयमा गरिएको डिजाइन परिवर्तनका कारण सार्वजनिक गर्ने मिति पछि सरेको उनीहरूको भनाइ छ ।

बाहिरिएको नयाँ डिजाइनअनुसार फोनको पछाडि भागमा तीनवटा क्यामेरा सेन्सरहरू रहनेछन् । कम्पनीले फोनबाट ‘टी-वन’ लोगो हटाउने निर्णय गरेको छ भने सुनौलो रङ र अमेरिकी झण्डाको पहिचानलाई यथावत् राखेको छ ।

कम्पनीको वेबसाइटका अनुसार यो फोन अमेरिकामा एसेम्बल गरिए पनि यसका पार्टपुर्जाहरू भने अन्य देशबाट आयात गरिनेछ । धेरैजसो हार्डवेयर चीनबाट ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

टी-वन फोनमा मिड रेन्जको स्न्यापड्रागन सेभेन सिरिजको चिपसेट प्रयोग गरिनेछ । यसमा ५१२ जीबी स्टोरेज रहनेछ, जसलाई माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्म बढाउन सकिनेछ । फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री र ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । साथै, सेल्फीका लागि पनि ५० मेगापिक्सेलकै फ्रन्ट क्यामेरा हुनेछ ।

कम्पनीले यसअघि फोनको मूल्य ४९९ अमेरिकी डलर तोक्ने बताए पनि अहिले ५०० देखि १,००० डलरको बीचमा रहने जानकारी दिएको छ । यद्यपि, यसअघि नै १०० डलर जम्मा गरेर बुकिङ गरिसकेका ग्राहकहरूले भने ४९९ डलरमै फोन पाउनेछन् ।

बजार विश्लेषकहरूका अनुसार सन् २०२६ को प्रतिस्पर्धात्मक स्मार्टफोन बजारमा मिड रेन्ज प्रोसेसर र सामान्य क्यामेरा सेटअप भएको फोनका लागि १,००० डलरभन्दा बढी मूल्य महँगो हुनसक्ने देखिन्छ । कम्पनीले यसलाई फ्ल्यागशिप फोनको रूपमा व्याख्या गरे पनि यसको हार्डवेयर क्षमताले बजारमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ । 

 

पछिल्लो अध्यावधिक: माघ २६, २०८२ ९:४०