इन्टरनेट मर्मत शुल्कमा लाग्ने टीएससी कार्यान्वयनमा एनटीएको अलमल, मन्त्रालयसँग माग्यो स्पष्टता
माघ २६, २०८२ १२:३५
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको मर्मत सम्भार शुल्कमा लाग्ने दूरसञ्चार सेवा दस्तुर (टीएससी) को गणना र प्रशासनका सम्बन्धमा स्पष्टता माग गरेको छ । प्राधिकरणले २२ माघमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै आर्थिक ऐन, २०८२ मा भएको नयाँ व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयसँग सहजीकरण गरिदिन आग्रह गरेको हो ।
ऐनको नयाँ व्यवस्था र दूरसञ्चार नियमावली, २०५४ लाई आधार मान्दै प्राधिकरणले मर्मत शुल्कमा कर छुटको सीमा र यसको प्रशासनिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।
ऐनको दफा १४ को उपदफा (१) अनुसार टेलिफोन, मोबाइल, इन्टरनेट जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १० प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरका रूपमा असुल गर्नुपर्ने व्यवस्था छ ।
सोही दफाको उपदफा (२) मा ‘दूरसञ्चार सेवा उपलब्ध गराउने अनुमति प्राप्त निकायबिच एकले अर्कोको नेटवर्क प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क (इन्टर कनेक्सन चार्ज) र फिक्स्ड ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा त्यस्तो दस्तुर लाग्ने छैन’ भनिएको छ ।
यस व्यवस्थालाई कार्यान्वयन गर्दा सेवा प्रदायकले ग्राहकबाट लिने कुल रकममध्ये कति रकममा कर लगाउने भन्ने विषयमा स्पष्टता नभएको प्राधिकरणको ठहर छ । यसअघि यस्तो प्रशासनिक कार्य आन्तरिक राजस्व विभागले गर्दै आएको थियो ।
दूरसञ्चार ऐन, २०५३ मा प्राधिकरणलाई यस्तो कर प्रशासन गर्ने स्पष्ट अधिकार नभएको र यो कार्य प्राधिकरणका लागि पहिलो अनुभव भएकोले महसुल गणना गर्ने विधिका सम्बन्धमा अर्थ मन्त्रालयबाट स्पष्टता हुनुपर्ने प्राधिकरणको ठहर छ ।
प्राधिकरणले पत्रमा आर्थिक ऐन, २०८२ को दफा १४ बमोजिम ग्राहकबाट लिइने कुल महसुलबाट मर्मत सम्भार शुल्क घटाएर बाँकी रहने टीएससी योग्य महसुल गणना गर्ने विभिन्न उदाहरण समेत प्रस्तुत गरेको छ ।
यसअनुसार यदि ग्राहकले १०० रुपैयाँ महसुल तिर्छ र त्यसमा ५० प्रतिशत मर्मत सम्भार शुल्क छ भने बाँकी ५० रुपैयाँलाई मात्र टीएससी योग्य महसुल मानिनेछ । त्यसैगरी, मर्मत सम्भार शुल्क १० प्रतिशत मात्रै छ भने ९० रुपैयाँमा र मर्मत शुल्क शून्य भएको अवस्थामा पूरै १०० रुपैयाँमा १० प्रतिशत दस्तुर लगाउनुपर्ने प्राधिकरणको राय छ ।
पछिल्लो अध्यावधिक: माघ २६, २०८२ १२:५८
