close

एआईको सुरक्षित र जिम्मेवार प्रयोगको नारासहित आज विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदै

टेकपाना टेकपाना

माघ २७, २०८२ १०:२४

एआईको सुरक्षित र जिम्मेवार प्रयोगको नारासहित आज विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइँदै

ललितपुर । आज २७ माघ २०८२ (१० फेब्रुअरी २०२६), मङ्गलबार विश्वभर  ‘स्मार्ट टेक, सेफ च्वाइसेस–एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सिबल युज अफ एआई' (स्मार्ट प्रविधि, सुरक्षित छनोट- एआईको सुरक्षित र जिम्मेवार प्रयोगको खोजी’ भन्ने मूल नारासहित सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । सुरक्षित इन्टरनेट दिवस हरेक वर्ष फेब्रुअरी महिनामा मनाइन्छ । 

यसले बालबालिका र युवा वर्गलाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सकारात्मक प्रयोग गर्न प्रोत्साहन गर्दै अनलाइन सुरक्षाबारे राष्ट्रिय स्तरमा संवाद अघि बढाउँछ । यस अवसरले युवा, अभिभावक तथा हेरचाहकर्ता, शिक्षक, सामाजिक अभियन्ता, कानुन कार्यान्वयन गर्ने निकाय, व्यावसायिक क्षेत्र र नीतिनिर्मातालाई एकै ठाउँमा ल्याई सुरक्षित र राम्रो इन्टरनेट निर्माणका लागि सामूहिक प्रयास गर्न प्रेरित गर्दछ । 

नेपालमा बालबालिका र युवा वर्गको अनलाइन सुरक्षा क्षेत्रमा काम गर्दै आएको संस्था चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालयको रूपमा यसको समन्वय र प्रवर्धन गर्दै आएको छ । 

“सुरक्षित इन्टरनेट दिवस २०२६ ले हामीलाई यो कुरा स्पष्ट रूपमा सम्झाउँछ कि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बालबालिकाको दैनिक जीवनको हिस्सा बन्दै जाँदा सुरक्षा कहिल्यै पनि दोस्रो प्राथमिकतामा पर्नु हुँदैन । यस वर्षको एआई केन्द्रित सन्देशले सरकार, प्रविधि कम्पनी, शिक्षक र परिवारलाई बालबालिकाको अधिकार, संरक्षण र समग्र कल्याणलाई प्रविधिको डिजाइन र निर्णय प्रक्रियाको केन्द्रमा राख्न आह्वान गर्दछ । एआईले बालबालिकालाई सशक्त बनाउनुपर्छ, जोखिममा पार्न होइन,” चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने ।


बालबालिका र युवा वर्ग अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर बुलिङ, ग्रुमिङ, फिशिङ र एआईको दुरुपयोगबाट हुने हानीको जोखिममा छन् । यी समस्यालाई समाधान गर्न सुरक्षित प्रविधि, शिक्षा र सहयोग प्रणालीमा दीर्घकालीन लगानी आवश्यक छ । 

साथै, बालबालिकाको कुरा सुन्नु र उनीहरूले प्रयोग गर्ने डिजिटल प्लेटफर्मको निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । चाइल्डसेफनेटले अभिभावक, विद्यालय, सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र नागरिक समाजलाई एकसाथ काम गर्न आह्वान गरेको छ । ताकि बालबालिकाको अधिकार र कल्याण अनलाइन सुरक्षित रहोस् र सबैका लागि अझ सुरक्षित इन्टरनेट बनाउन सकियोस् । 

एआईद्वारा सिर्जित सामग्रीसँग सम्बन्धित अनलाइन बाल यौन शोषणका उजुरीहरू तीव्र रूपमा बढिरहेका छन् । सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा, अमेरिकास्थित नेसनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन (NCMEC) को साइबरटिपलाइनले एआई सम्बन्धी सामग्रीका चार लाख ४० हजारभन्दा बढी उजुरीहरू प्राप्त गरेको छ । 

यो सङख्या सन् २०२४ को सोही अवधिमा प्राप्त ६ हजार ८३५ उजुरीको तुलनामा अत्यन्तै ठुलो वृद्धि हो । यसले एआई उपकरणहरूको दुरुपयोग कति छिटो बढिरहेको छ भन्ने स्पष्ट देखाउँछ । साथै प्रविधि नीति तथा सुरक्षात्मक उपायहरूभन्दा तेज गतिमा परिवर्तन भइरहेका डिजिटल वातावरणमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कडा संरक्षण, डिजाइनकै स्तरबाट सुरक्षा (Safety-by-Design) उपाय र समन्वित कार्य तुरुन्तै आवश्यक भएको सङ्केत गर्दछ ।

सुरक्षित इन्टरनेट दिवस आजका दिन मनाइने भएता पनि अनलाइन सुरक्षा सम्बन्धी सचेतना गतिविधिहरू वर्षभर सञ्चालन गरिनेछन् । चाइल्डसेफनेट र यसका साझेदार संस्थाहरूले देशका विभिन्न भागमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरू आयोजना गर्नेछन् ।

चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिलाई सुरक्षित बनाउनका लागि कार्यरत गैरसरकारी संस्था हो । इन्टरनेटसम्बन्धी लत, अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर–बुलिङ्ग, फिशिङ, अनलाइन गेमसम्बन्धी लतबाट बालबालिका तथा युवा वर्गलाई सुरक्षित गर्नका लागि इन्टरनेट तथा डिजिटल सामग्रीको सुरक्षित प्रयोगबारे चेतना जगाउन एवं डिजिटल साक्षरता प्रवर्धन गर्नका लागि चाइल्डसेफनेटले काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १०:२४