close

नेपाली किसानलाई एआईमार्फत डिजिटल सल्लाह दिइने, एनएएएमपी र कनेक्ट किसानबिच सम्झौता

टेकपाना टेकपाना

माघ २८, २०८२ ११:४७

नेपाली किसानलाई एआईमार्फत डिजिटल सल्लाह दिइने, एनएएएमपी र कनेक्ट किसानबिच सम्झौता

काठमाडौँ । नेपाली किसानका कृषि सम्बन्धी समस्या समाधानका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच हालै यस सम्बन्धमा दुई पक्षीय सम्झाैता भएको हो ।

समझदारी पत्रमा एनएएएमपीका तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठ र कनेक्ट किसानका तर्फबाट निर्देशक राजन दाहालले हस्ताक्षर गरे । यस सहकार्यको मुख्य उद्देश्य डिजिटल प्लेटफर्ममार्फत किसानलाई खेतबारीमै प्राविधिक सहायता र परामर्श उपलब्ध गराउनु रहेको कनेक्ट किसानको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार कनेक्ट किसानले विकास गरेको भ्वाइस र टेक्स्टमा आधारित एआई एडभाइजरी प्रविधि कार्यान्वयनमा ल्याइनेछ । यस प्रणालीमार्फत किसानले खेतीबारीमा आइपर्ने मल, बीउ, बजार पहुँच, रोग-किरा व्यवस्थापन जस्ता समस्याको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् । किसानले आफ्नो मोबाइलमार्फत आवाज वा टेक्स्टका रूपमा समस्या राख्न सक्ने र त्यसको एआईले तत्कालै उत्तर दिने व्यवस्था मिलाइएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा एआईको प्रयोगबाट किसानले उत्पादन बढाइरहेको उदाहरण दिँदै नेपालमा पनि यसले ठुलो परिवर्तन ल्याउने बताए । उनका अनुसार किसानले भोगिरहेका नीतिगत समस्या वा अनुसन्धान आवश्यक पर्ने रोग-किराका बारेमा एआईमार्फत जानकारी पठाउन सकिनेछ, जसलाई एनएएएमपीले नीति निर्माण र समस्या समाधानका लागि प्रयोग गर्नेछ । “हाम्रो एआई सिस्टम किसानलाई व्यक्तिगत रूपमै कृषि सल्लाह दिन सक्षम छ,” दाहालले दाबी गरे ।

एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई प्रविधिसँग जोड्न यो सम्झौता गरिएको बताए । “किसानले खेतबारीबाटै तत्काल समाधान पाउनेछन् भने जटिल समस्याका लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ,” उनले भने ।

 

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १२:२२