close

एआईमार्फत विद्यार्थीको बुझाइ मापन गर्ने नेपाली अनुसन्धान, शैक्षिक स्तरमा २७ प्रतिशत सुधार भएको दाबी

टेकपाना टेकपाना

माघ २९, २०८२ १६:१५

एआईमार्फत विद्यार्थीको बुझाइ मापन गर्ने नेपाली अनुसन्धान, शैक्षिक स्तरमा २७ प्रतिशत सुधार भएको दाबी

काठमाडौँ । शिक्षा र प्रविधिलाई जोड्दै आएको कम्पनी ‘डिजिटल एन्ड वियोन्ड’का सह-संस्थापक सगुन ढुङ्गाना र श्रेयस्का सिलवालले ‘प्रोजेक्ट पेडागोग एआई’ नामक अनुसन्धानपत्र सार्वजनिक गरेका छन् । उक्त अनुसन्धानपत्र ७ फेब्रुअरीमा भारतमा रासबारीपाई फाउन्डेसन र आईआईआईटी भुवनेश्वरले आयोजना गरेको ‘सीएएएफए २०२६’ सम्मेलनमा प्रस्तुत गरिएको हो ।

शिक्षा र प्रविधि क्षेत्रमा करिब १८ वर्षदेखि काम गर्दै आएको ‘डिजिटल एन्ड वियोन्ड’ले शिक्षकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विद्यार्थीको बुझाइको स्तर मापन गर्न सक्ने बारेमा अनुसन्धान गरेको जनाएको छ । ढुङ्गानाका अनुसार हालसम्म शिक्षकले विद्यार्थीले आफूले पढाएको कति बुझे भन्ने कुरा प्रायः अनुमानको भरमा मूल्याङ्कन गर्दै आएका थिए । नयाँ अनुसन्धानले विद्यार्थीको वास्तविक बुझाइ डेटा र विश्लेषणका आधारमा मापन गर्ने विधि प्रस्ताव गरेको छ ।

उक्त अनुसन्धानका क्रममा शिक्षकले पढाएको विषय विद्यार्थीले कुन स्तरमा बुझेका छन् भन्ने जानकारी तत्काल प्राप्त गर्न सकेमा सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउन सकिने देखिएको सह-संस्थापक ढुङ्गानाले बताए । उनका अनुसार यस परियोजनामा जेनेरेटिभ एआई र लोकल ल्याङ्ग्वेज मोडेल गरी दुई प्रकारका एआई प्रणाली प्रयोग गरिएको छ । 

जसअन्तर्गत प्रारम्भिक चरणमा शिक्षकलाई जेनेरेटिभ एआई प्रयोग गर्न सिकाइन्छ । कम्पनी गुगल फर एजुकेसनको समेत साझेदार संस्था भएकाले शिक्षक तालिमका लागि जेमिनाई प्रयोग गरिएको ढुङ्गानाले बताए । एआईको प्रयोगमार्फत शिक्षकले पढाउने क्रममा हुने आफ्ना कमजोरी पहिचान गर्न सक्नेछन् । र सोही अनुसार शिक्षण विधिमा सुधार गरेर विद्यार्थीलाई सिकाउनेछन् । 

यस्तै विद्यार्थीको हकमा भने छुट्टै लोकल ल्याङ्ग्वेज मोडेल प्रयोग गरिएको छ । ढुङ्गानाले भने, “विद्यार्थीहरू नाबालिग भएकाले उनीहरूको डेटा ठुला एआई मोडेललाई ट्रेनिङका लागि दिनु उपयुक्त हुँदैन । त्यसैले हामीले विद्यार्थीहरूको कक्षाकोठाको बुझाइ विश्लेषणका लागि आफ्नै लोकल मोडेल विकास गरेका छौँ ।” 

उक्त प्रणालीमार्फत विद्यार्थीले पाठको सन्दर्भ, शब्दको अर्थ कति बुझे, पढाइप्रति विद्यार्थीले रुचि देखाए/नदेखाएको लगायतका पक्ष विश्लेषण गरिन्छ । विद्यार्थी र एआईबिचको च्याटको आधारमा उनीहरूको बुझाइबारे तुरुन्तै रिपोर्ट तयार हुन्छ । त्यसपछि शिक्षकले ड्यासबोर्ड मार्फत कक्षाका सबै विद्यार्थीको बुझाइ स्तर हेर्न सक्ने व्यवस्था गरिएको छ ।

ढुङ्गानाका अनुसार प्रणालीले विद्यार्थीले बुझेर आफ्नै आइडिया निकालिरहेका छन्, शिक्षकले कति पटक बुझाउँदा बुझ्छन्, वा सिकाइप्रति उनीहरूको चासो छ/छैन भन्ने अवस्था समेत पहिचान गर्न सहयोग गर्छ ।

अनुसन्धानमा भाइगोट्स्कीको ‘जोन अफ प्रोक्सिमल डेभलपमेन्ट (जेटडीपी)’, ब्लुम्सको ‘टु सिग्मा प्रब्लम’ र ‘बेयसियन नलेज ट्र्याकिङ’ जस्ता तीन प्रमुख शैक्षिक सिद्धान्तलाई आधार बनाइएको छ । यी सिद्धान्तलाई ‘डिजाइन बेस्ड रिसर्च’ विधिसँग जोडेर अध्ययन गरिएको उनले बताए । 

यो अध्ययन करिब ६०० विद्यार्थीमा परीक्षण गरिएको छ । काठमाडौँस्थित काभ्या स्कुलका २०० विद्यार्थी र जनकपुरस्थित मोनास्टिक स्कुलका ३०० भन्दा बढी विद्यार्थीमा अनुसन्धान भइरहेको टोलीले जनाएको छ ।

अनुसन्धानको प्रारम्भिक नतिजाअनुसार एआई मोडेलले पहिचान गरेको बुझाइ स्तरअनुसार शिक्षण सुधार गर्दा २७ प्रतिशतसम्म शैक्षिक सुधार देखिएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार च्याटजीपीटी र जेमिनाईजस्ता ठुला एआई मोडेलहरूले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइ प्रक्रिया र विद्यार्थीको बुझाइ विश्लेषण गर्न नसक्ने भएकाले ‘प्रोजेक्ट पेडागोग एआई’ जस्ता विधिहरू आवश्यक गर्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८२ १७:६