एआईमार्फत नेताहरूको लेखाजोखा, मटन काजीदेखि सहकारी डट मनीसम्मका वेबसाइट सञ्चालनमा
फागुन २, २०८२ १४:१२
काठमाडौँ । नेपाली राजनीतिज्ञ मुछिएका विभिन्न प्रकरणको जानकारी दिन र उनीहरूको कार्यसम्पादनको लेखाजोखा गर्न पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी विभिन्न वेबसाइट सञ्चालनमा आएका छन् । प्रविधिमा आएको विकाससँगै ‘भाइब कोडिङ’ को प्रयोग गरी दक्ष व्यक्तिले यस्ता डिजिटल प्लेटफर्म तयार पारेका हुन् । यी प्लेटफर्म राजनीतिक दल र तिनका शीर्ष नेतालाई लक्षित गरी सञ्चालन गरिएका छन् ।
यसै क्रममा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गरी sahakari.money नामक वेबसाइट सञ्चालनमा ल्याइएको छ । यो वेबसाइट खोल्नेबित्तिकै प्रयोगकर्ताले अङ्ग्रेजी र नेपाली भाषाको विकल्प पाउँछन् । कुनै एक अप्सन छान्ने बित्तिकै ब्याकग्राउन्डमा गायक तथा कमेडियन कुशल पोखरेलको ‘पैसा’ बोलको गीत बज्न थाल्छ । यस वेबसाइटमा लामिछाने कुन सहकारीको कति रकम अपचलनमा जोडिएका हुन् भन्ने विवरणको टाइमलाइन नै बनाइएको छ । साथै उनले विभिन्न सञ्चार माध्यममा दिएका अभिव्यक्ति, उनीसँग जोडिएका प्रमाण भनिएका बैंकका चेक र अदालतका विवरणलाई पीडीएफ फाइल र क्यूआर कोडमार्फत उपलब्ध गराइएको छ ।
यसैगरी नेपाली कांग्रेसका नेताहरू जोडिएका विभिन्न भ्रष्टाचार प्रकरणहरूको अभिलेख राख्न muttonkaji.world नामक अर्को वेबसाइट पनि सञ्चालनमा छ । ‘नेपाली कांग्रेस भ्रष्टाचार अभिलेख’ नाम दिइएको यस साइटमा भ्रष्टाचारमा मुछिएका नेताहरूको नाम, उनीहरूमाथि लागेको आरोप र बिगो रकमको विस्तृत सूची राखिएको छ । कांग्रेसले विगतमा गरेका प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाका साथै भ्रष्टाचारसँग सम्बन्धित समाचारको सङ्ग्रह पनि यहाँ उपलब्ध छ ।
यी वेबसाइट कसले र कहाँबाट सञ्चालन गरिरहेको छ भन्ने जानकारी स्पष्ट रूपमा खुल्दैन । भाइब कोडिङ मार्फत तयार पारिएका यी प्लेटफर्मका सञ्चालकले आफूलाई जवाफदेहिताको माग गर्ने ‘स्वतन्त्र नागरिक’ का रूपमा चिनाएका छन् ।
राजनीतिज्ञ मुछिएको विभिन्न प्रकरणको जानकारी दिने प्लेटफर्मका बीच सकारात्मक ढङ्गले प्रचार गर्ने अर्को प्लेटफर्म पनि सञ्चालनमा आएको देखिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापाको विवरण, रणनीति, योजना र उनले गरेका कामका विषय समेटेर mutton.world नामक वेबसाइट सञ्चालनमा आएको छ । व्यङ्ग्यात्मक नामबाट सुरु गरिएको भए पनि यस वेबसाइटमा थापाका सकारात्मक विवरण र युवापुस्तालाई आकर्षण गर्ने सामग्रीहरू राखिएका छन् । छोटो समयमै चर्चामा आएको यस वेबसाइटलाई धेरैले थापाको ब्रान्डिङका रूपमा बुझे पनि उनको सचिवालयले भने यसमा आफ्नो कुनै प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेको छ ।
कोड विश्लेषणका आधारमा यो वेबसाइट एआईको सहायताले बनाइएको देखिए पनि यसलाई इन्टर्याक्टिभ बनाउन प्रोग्रामिङमा दक्ष व्यक्तिकै हात रहेको देखिन्छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको अवस्थामा त्यसैलाइ दर्शाउन सकारात्मक ढङ्गले बालेनफरपीएम वेबसाइट पनि सञ्चालनमा रहेको देखिएको छ । यद्यपि यस वेबसाइटमा विस्तृत जानकारी उपलब्ध छैन ।
पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १४:१२
