close

क्यामेरा र सुरक्षामा ठुलो सुधारसहित एन्ड्रोइड १७ को पहिलो बेटा भर्सन सार्वजनिक, के छ विशेष ?

टेकपाना टेकपाना

फागुन २, २०८२ २०:४६

क्यामेरा र सुरक्षामा ठुलो सुधारसहित एन्ड्रोइड १७ को पहिलो बेटा भर्सन सार्वजनिक, के छ विशेष ?

काठमाडाैँ । गुगलले एन्ड्रोइड १७ को पहिलो सार्वजनिक परीक्षण संस्करण ‘बेटा १’ सार्वजनिक गरेको छ । दुई दिनको ढिलाइपछि आएको यो नयाँ भर्सन पिक्सेल सिक्स र त्यसपछिका नयाँ पिक्सेल डिभाइसहरूमा प्रयोग गर्न सकिनेछ ।

गुगलले यस पटक परम्परागत डेभलपर प्रिभ्युको सट्टा एन्ड्रोइड क्यानरी च्यानलमार्फत निरन्तर अपडेट दिने नयाँ मोडेल अपनाएको छ । यसबाट परीक्षणकर्ताले नयाँ फिचरहरू छिटो प्राप्त गर्ने र म्यानुअल फ्ल्यासिङ बिना नै सहजै सफ्टवेयर अपडेट गर्न पाउनेछन् ।

एन्ड्रोइड १७ को सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक ठुला स्क्रिन भएका डिभाइस (ट्याब्लेट र फोल्ड गर्न मिल्ने फोन) मा एपको अनिवार्य अनुकूलता हो । अब विकासकर्ताहरूले आफ्ना एपहरूलाई अनिवार्य रूपमा ट्याब्लेट र फोल्डबल डिभाइसमा चल्ने बनाउनुपर्नेछ । यसअघि एन्ड्रोइड १६ मा डेभलपरहरूलाई यसबाट बाहिरिने अप्सन थियो, जुन अब हटाइएको छ ।

यस संस्करणमा व्यावसायिक स्तरको क्यामेरा र मिडिया टुलहरू समावेश गरिएको छ । विशेषगरी भर्साटाइल भिडिओ कोडिङ (VVC/H.266) सपोर्ट थपिएको छ, जसले कम स्टोरेज क्षमतामा पनि उच्च गुणस्तरको भिडिओ सुरक्षित गर्न मद्दत गर्ने बताइएको छ । साथै क्यामेराका विभिन्न सेन्सरहरूबिचको स्विचिङलाई पहिलेभन्दा धेरै सहज र स्मुथ बनाइएको छ ।

भिजुअल परिवर्तनतर्फ पिक्सेल लन्चरको सर्च बारलाई रिडिजाइन गरी पारदर्शी बनाइएको छ भने यसमा गुगलको एआई जेमिनाईलाई इन्टिग्रेट गरिएको छ । कन्ट्रोल सेन्टरको ब्राइटनेस आइकन अपडेट गरिएको छ भने सेटिङ्स मेनुलाई पहिलेभन्दा थप कसिलो र आकर्षक बनाइएको छ ।

सिस्टमको पर्फमेन्स सुधार्न ‘जेनेरेसनल गार्बेज कलेक्सन’ प्रविधि प्रयोग गरिएको छ, जसले सीपीयूमाथिको भार कम गरी ब्याट्री र मेमोरीको बचत गर्छ । सुरक्षाका लागि हाइब्रिड क्रिप्टोग्राफी प्रयोग गरिएको छ भने असुरक्षित नेटवर्क ट्राफिकहरूमा थप कडाइ गरिएको छ ।

यो अपडेट पिक्सेल ६, ७, ८, ९ र १० सिरिजका साथै पिक्सेल फोल्ड र ट्याब्लेटमा उपलब्ध छ । एन्ड्रोइड बेटा प्रोग्राममा दर्ता भएका प्रयोगकर्ताहरूले यसलाई ओभर द एयर अपडेटमार्फत प्राप्त गर्नेछन् । गुगलका अनुसार आगामी मार्च २०२६ सम्ममा यो सफ्टवेयरले ‘प्लेटफर्म स्टेबिलिटी’ हासिल गर्नेछ । त्यस्तै जुन महिनामा यसको अन्तिम संस्करण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २, २०८२ २०:४६