हाम्रो पात्रोको नयाँ सेवा ‘चौतारी मिट’ सार्वजनिक, असीमित समयसम्म भिडिओ कन्फरेन्स गर्न सकिने
फागुन ४, २०८२ २३:१७
काठमाडौँ । सुपर एपको रूपमा परिचित हुँदै आएको ‘हाम्रो पात्रो’ ले नेपाली प्रयोगकर्ताका लागि नेपालमै विकसित नयाँ भिडिओ कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’ (Chautari Meet) सार्वजनिक गरेको छ । डिजिटल सञ्चारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ यो सेवा सुरु गरिएको हो ।
यो सेवा प्रयोग गर्न प्रयोगकर्ताले कुनै अतिरिक्त एप डाउनलोड गरिरहनु पर्ने छैन । सिधै हाम्रो पात्रो एपभित्रैबाट उच्च गुणस्तरको भिडिओ कन्फरेन्स सञ्चालन गर्न र त्यसमा सहभागी हुन सकिने कम्पनीको भनाइ छ । एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यो सेवा एपको मेनु कार्ड र साइडबारमा समावेश गरिएको छ ।
‘चौतारी मिट’ लाई प्रयोगकर्तामैत्री बनाइएको छ । मिटिङको लिङ्क प्राप्त भएपछि सहभागीहरूले कुनै झन्झटिलो लगइन प्रक्रिया बिना केवल एक क्लिकमा सिधै बैठकमा प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । अन्य अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा जस्तो यसमा समयको सीमा (Time Limit) नराखिएकाले प्रयोगकर्ताहरूले असीमित समयसम्म छलफल गर्न पाउने कम्पनीले जनाएको छ ।
मिटिङको प्रभावकारी व्यवस्थापनका लागि होस्टलाई सहभागीहरूलाई म्युट गर्ने, भिडिओ बन्द गर्ने वा बैठकबाट हटाउने अधिकार दिइएको छ । साथै, बैठकको बीचमा मेसेज आदानप्रदानका लागि ‘इन-मिटिङ च्याट’ सुविधा पनि उपलब्ध छ ।
डेस्कटप वा ल्यापटपबाट यो सेवा प्रयोग गर्न चाहनेहरूका लागि कम्पनीले वेब संस्करण (chautari.hamropatro.com) पनि सञ्चालनमा ल्याएको छ । वेब संस्करणमा एपको तुलनामा थप विस्तारित र व्यावसायिक कार्यका लागि उपयुक्त सुविधाहरू समावेश गरिएका छन् ।
हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले यस सेवालाई केवल भिडिओ कन्फरेन्सिङमा मात्र सीमित नराखी नेपाली प्रयोगकर्ताका लागि एक पूर्ण र भरपर्दो डिजिटल प्लेटफर्म बनाउने लक्ष्य राखिएको बताइन् । आगामी दिनमा यसमा मिटिङ शेड्युलिङ, च्याटमा डकुमेन्ट शेयरिङ, मोबाइलबाटै कन्टेन्ट शेयर गर्ने तथा फेसबुक र युट्युबमा सिधै लाइभ स्ट्रिमिङ गर्न मिल्ने सुविधाहरू थपिने उनले जानकारी दिइन् ।
कार्यालयको बैठक, अनलाइन कक्षा, तालिम तथा पारिवारिक कुराकानीका लागि ‘चौतारी मिट’ एक स्वदेशी र विश्वासिलो विकल्प हुने कम्पनीको विश्वास छ ।
पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ २३:१७
