वर्ल्डलिङ्कको पहलमा कालिकोटको स्वास्थ्य चौकीमा सौर्य प्रणाली र विद्यार्थीलाई स्मार्ट क्लास
फागुन ५, २०८२ १३:२
काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्य चौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप-फ्रिज जडान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको हो ।
नानीकोट स्वास्थ्य चौकीमा विगतदेखि नै गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्ति नहुँदा औषधिहरूको सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या थियो । सोही समस्याको दीर्घकालीन समाधानका लागि वर्ल्डलिङ्कले ३ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली र डीप–फ्रिज जडान गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।
यस पहलबाट औषधि, खोप तथा अन्य संवेदनशील स्वास्थ्य सामग्रीहरू सुरक्षित राख्न सहज हुने विश्वास कम्पनीको सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले व्यक्त गरिन् । हस्तान्तरण कार्यक्रममा निर्देशक जालानसहित स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति थियो ।
यसका साथै कम्पनीले प्रविधि र पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । सोही नीतिअनुसार कम्पनीले पचालझरना-७ कै श्री पङ्गेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषाको कक्षा समेत सञ्चालन गरेको छ । यो शैक्षिक कार्यक्रम लोकोपकार संस्थासँगको सहकार्यमा सम्पन्न गरिएको हो ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १४:४
