काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक एपमा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ । मतदाताको सहजतालाई मध्यनजर गर्दै एपको भर्सन २.०.९० मार्फत यो व्यवस्था गरिएको हो ।
निर्वाचन आयोगका अनुसार अब मतदाताले नागरिक एपमा रहेको आफ्नो मतदाता परिचयपत्रको स्क्रिनशट लिएर त्यसको प्रिन्ट कपीलाई मतदान स्थलमा ‘सपोर्टिभ’ (सहायक) प्रमाणका रूपमा प्रयोग गर्न सक्नेछन् । यसले परिचयपत्र बोक्न बिर्सिएका वा हराएका मतदातालाई मतदान प्रक्रियामा सहज हुने विश्वास लिइएको छ ।
यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको नागरिक एपलाई अपडेट गर्नुपर्नेछ । हाल एन्ड्रोइड प्रयोगकर्ताका लागि यो सुविधा क्रमशः उपलब्ध भइसकेको छ भने आईओएस प्रयोगकर्ताका लागि पनि छिट्टै अपडेट सार्वजनिक गरिने नागरिक एपका प्राविधिकले जानकारी दिए ।
डेटा सुरक्षा र व्यक्तिगत गोपनीयताको संवेदनशीलतालाई ध्यानमा राख्दै यसअघि नागरिक एपभित्र कुनै पनि कागजातको स्क्रिनशट लिन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो । तर, निर्वाचन जस्तो विशेष परिस्थितिलाई मध्यनजर गर्दै मतदाता परिचयपत्रको मात्र स्क्रिनशट लिन मिल्ने बनाइएको हो । एपमा रहेका अन्य व्यक्तिगत कागजातको भने अझै पनि स्क्रिनशट लिन सकिँदैन ।
एउटा मात्र निश्चित कागजातको स्क्रिनशट लिन मिल्ने र अन्यमा प्रतिबन्ध कायमै राख्ने प्रविधि विकास गर्नुपरेकाले यो विशेष फिचर ल्याउन केही बढी समय लागेको प्राविधिकको भनाइ छ ।
नागरिक एपको यसै अपडेटसँगै अन्य प्राविधिक सुधार पनि गरिएका छन् । नयाँ व्यवस्था अनुसार अब नागरिकता नियमावलीबमोजिम परिवर्तन भएका नागरिकताको विवरण एपमा स्वतः अद्यावधिक हुनेछ । त्यसैगरी ई-पासपोर्ट (विद्युतीय राहदानी) बनाइसकेका प्रयोगकर्ताको हकमा एपभित्रै नयाँ पासपोर्टको विवरणसमेत देखाउने सुविधा थपिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन ९, २०८२ १३:४४
