close

कुन पार्टीको घोषणापत्रमा के छ ? जेमिनाईको यो असिस्टेन्टसँग सोध्नुहोस्

टेकपाना टेकपाना

फागुन १६, २०८२ १५:२०

कुन पार्टीको घोषणापत्रमा के छ ? जेमिनाईको यो असिस्टेन्टसँग सोध्नुहोस्

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा उनीहरूले आफ्नो सरकार बनेपछि के-के गर्ने, कुन क्षेत्रलाई कसरी अगाडि बढाउने लगायतका योजना राखेका छन् । 

घोषणापत्र धेरै भएकाले सबै पढ्न सम्भव नहुन सक्छ । यस्तोमा तपाईंले एआई टुलको सहायता लिन सक्नुहुन्छ । त्यसैलाई मध्यनजर गर्दै टेकपानाले नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो पार्टी नेपालका घोषणापत्रको पीडीएफ गुगलको जेमिनाई टुलमा उपलब्ध ‘जेम्स’ नामक फिचरमा तालिम दिएको छ ।

यो यस्तो फिचर हो, जसले उपलब्ध स्रोतलाई मात्र आधार बनाएर तपाईंले सोधेका प्रश्नको जवाफ दिन्छ । तपाईंले पनि त्यस्तो एआई असिस्टेन्ट सजिलै बनाउन सक्नुहुन्छ । असिस्टेन्ट टुल बनाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर थप प्रक्रिया बुझ्न सक्नुहुन्छ ।

एआई टुल भएकाले सबै कुरा शतप्रतिशत सही हुन्छ भन्ने नहुन सक्छ । तर, परीक्षणका क्रममा हामीले उक्त एआई टुललाई प्रश्न सोधी त्यसको जवाफ माग गर्दा सो टुलले उपलब्ध स्रोतबाटै जवाफ दिएको पायौं । विभिन्न स्रोतलाई तालिम दिएर त्यहीबाट जवाफ पाउन यो फिचर उपयुक्त हुन्छ ।

उक्त टुल प्रयोग गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । तपाईंले नेपालीमै यस टुललाई कुन पार्टीले कुन क्षेत्रलाई कत्तिको प्राथमिकता दिएका छन्, कुन क्षेत्रलाई अगाडि सारेका छन् लगायतका जानकारी सोध्न सक्नुहुन्छ । यस टुलले उपलब्ध गराएको जवाफको स्रोत अन्तिममा हुन्छ । कुन पीडीएफको कति पेजमा उक्त जवाफ छ भन्ने यस टुलले देखाइदिन्छ । 

 

 

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १३:४८