दुर्गा प्रसाईंमाथि ट्रोलः ‘के उनी आज जेलमा छन् ?’ नामक फेसबुक पेज, छाड्ने कि थुन्ने भोट गर्न वेबसाइट
फागुन १७, २०८२ १८:३८
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार पुनः पक्राउ परेसँगै सामाजिक सञ्जालमा उनको अवस्थाबारे जानकारी दिने उद्देश्यले खोलिएका अनौठा फेसबुक पेज र वेबसाइट भाइरल बनेका छन् । प्रसाईं प्रहरी हिरासतमा छन् वा छैनन् भन्ने जानकारी दिनकै लागि खोलिएको ‘इज दुर्गा प्रसाईं इन जेल टुडे ?’ (Is Durga Prasai in Jail Today ?) नामक फेसबुक पेज र सोही प्रकृतिको वेबसाइटले यतिबेला धेरैको ध्यान तानेको छ ।
सामाजिक सञ्जालमार्फत निर्वाचन भड्काउने किसिमको भिडिओ सार्वजनिक गरेको तथा आमहड्ताल गरेका उनलाई प्रहरीले आइतबार (१७ फागुन) बिहान भक्तपुरस्थित उनकै निजी निवासबाट पक्राउ गरेको छ । उनको यस पक्राउसँगै उक्त फेसबुक पेजमा अपडेट गरिएका पोस्टहरू ट्रेन्डिङमा आएका हुन् ।
गत १७ फेब्रुअरीमा खोलिएको सो पेजले प्रसाईंको अवस्थाबारे दैनिक रूपमा जानकारी दिँदै आएको छ । रोचक कुरा त के छ भने यो पेजले कुनै लामो विवरण नभई दैनिक रूपमा सामान्यतया अङ्ग्रेजीमा ‘यस’ (Yes-छन्) वा ‘नो’ (No-छैनन्) मात्र लेखेर पोस्ट गर्ने गर्छ ।
प्रसाईं बारम्बार पक्राउ परिरहने भएकाले सामाजिक सञ्जालमा उनको विषयलाई लिएर विभिन्न ट्रोल र मिम बन्ने गरेका छन् । यसअघि ६ फागुनमा पक्राउ परेका उनी १३ फागुनमा रिहा भएका थिए ।
तर, छुटेको केही दिनमै उनी पुनः पक्राउ परेपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘समाचार र मिमको एउटै टेम्प्लेट तयार पारेर मिति मात्र परिवर्तन गरे पुग्ने’ भन्दै व्यङ्ग्य समेत गरेका छन् ।
उनको शृङ्खलाबद्ध रूपमा भइरहेको पक्राउ र रिहाइको सन्दर्भलाई जोडेर खोलिएको यो पेजको अनौठो शैलीलाई यतिबेला प्रयोगकर्ताले निकै रमाइलो मानिरहेका छन् ।
वेबसाइटमा भोटिङ : ९१ प्रतिशतको मत 'जेलमै राख्नुपर्छ'
यता प्रसाईंकै विषयलाई लिएर ‘isdurgaprasaiinjail.live’ नामक वेबसाइट पनि सञ्चालनमा आएको छ, जसले व्यापक चर्चा पाइरहेको छ । उक्त वेबसाइटमा प्रसाईं जेलमा भए/नभएको जानकारीसहित उनले बोलेका विवादास्पद शब्दहरू सुन्न मिल्ने ‘प्ले’ (Play) अप्सन राखिएको छ ।
साथै वेबसाइटमा प्रसाईंलाई ‘जेलमै राख्ने’ वा ‘छाड्ने’ भन्ने विषयमा जनमत (भोटिङ) समेत राखिएको छ । समाचार तयार पार्दासम्म ३ हजार ७५१ जना (९१ प्रतिशत) ले जेलमै राख्नुपर्ने पक्षमा भोट गरेका छन् भने ३५१ जना (९ प्रतिशत) ले छाड्नुपर्ने भोट गरेका छन् ।
वेबसाइटमा नाम गोप्य (Anonymous) राखेर आफ्नो विचार व्यक्त गर्न मिल्ने सुविधा पनि छुट्याइएको छ, जहाँ सयौँ प्रयोगकर्ताले अश्लील र व्यङ्ग्यात्मक टिप्पणीहरू गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: फागुन १७, २०८२ १८:३८
