एमालेको चुनावी र्यालीमा महिलामाथि हातपात भएको भिडिओ भाइरल, के हो वास्तविकता ?
फागुन १८, २०८२ १७:२२
काठमाडौँ । आइतबारदेखि सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । हातमा सूर्य चिन्ह अङ्कित झण्डा बोकेर प्रचारप्रसारमा हिँडिरहेको समूहका केही पुरुषले एक महिलामाथि दुर्व्यवहार गरेको देखिने भिडिओ भाइरल भइरहेको हो ।
उक्त भिडिओ ‘Galli Rides Nepal’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ । भिडिओमा लेखिएको छ, “यस्तो जबरजस्ती, म त्यहीँ भएर पनि केही बुझ्न सकिनँ ।”
१८ सेकेन्ड लामो भिडिओ १ मार्च (आइतबार) दिउँसो २:२५ बजे पोस्ट गरिएको थियो । यो सामग्री तयार पार्दासम्म भिडिओ १७ लाखभन्दा बढी पटक हेरिएको छ । यसमा १५ हजार ५०० भन्दा बढी रियाक्सन, १ हजार ३०० भन्दा बढी कमेन्ट र १ हजार ६०० भन्दा बढी पटक शेयर भइसकेको छ ।
भिडिओमा एमालेको चुनाव चिन्ह सूर्य अङ्कित रातो क्याप र सेतो ज्याकेट लगाएका एक अधबैँसे पुरुषले सडकमा नै महिलाको हात समातेर जबरजस्ती तानेको देखिन्छ । महिला ती पुरुषबाट छुटकारा पाउन सङ्घर्ष गरिरहेको दृश्य देखिन्छ ।
‘Galli Rides Nepal’ का सञ्चालक तथा राइडर सिक्कुम लिम्बुले बिहान करिब १०:१५ बजे घट्टेकुलोस्थित सूर्योदय मावि नजिकै उक्त घटना भएको जानकारी दिए । “म राइड भ्लग गर्ने मान्छे हुँ । मेरो क्यामेरा प्रायः सधैँ अन नै हुन्छ । हिजो (१७ फागुन) पनि राइडमा निस्किएको बेला बाटोमै एक्कासि देखेको घटना कैद भएको हो । त्यसपछि मैले आफ्नो पेजमा राखेको हुँ,” उनले टेकपानासँगको कुराकानीमा भने ।
लिम्बुले भिडिओ सार्वजनिक गरेपछि पीडित महिलाले पनि आफूसँग सम्पर्क गरेको बताए । महिलासँग भएको टेलिफोन कुराकानीको भिडिओसमेत उनले आफ्नो पेजमा राखेका छन् ।
लिम्बुले सार्वजनिक गरेको भिडिओको टेलिफोन संवादमा महिलाले आइतबार बिहान आफूमाथि दुर्व्यवहार भएको घटनाबारे जानकारी दिएकी छिन् ।
महिलाका अनुसार आइतबार बिहान एमालेको र्याली अघि बढिरहेको समयमा स्थानीय बासिन्दाले आफ्ना घर र पसलबाट घण्टी बजाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन जनाइरहेका थिए । सोही क्रममा महिलाको पसल अगाडि रहेका एक युवकले पनि घण्टी बजाएका थिए ।
त्यसपछि र्यालीमा सहभागी एक पुरुषले आफ्नो पार्टीविरुद्ध घण्टी बजाएको भन्दै ती युवकलाई सोही घण्टीले कुटपिट गर्न थालेको महिलाको दाबी छ ।
महिलाले भनेकी छिन्, “त्यसपछि म पसलभित्रबाट बाहिर गएर ‘घण्टीले त्यसरी हान्न पाइन्छ ?’ भन्दै छेकेँ र घण्टी खोसेँ । त्यसपछि उहाँले मलाई गाली गर्दै धकेल्नुभयो । धकेल्दै धकेल्दै करिब सय मिटरजति अगाडि पुर्याउनुभयो ।”
उनका अनुसार आफूले सहन नसकेपछि र्याली रोकेर प्रहरी बोलाउनुपर्ने बताएकी थिइन् । “जसले मलाई हातपात गर्यो, उसलाई साइड लगाउनुहोस् । प्रहरी आउँछ, कुरा गरौँला । तपाईँहरू र्याली अगाडि बढाउनुहोस् भनेको थिएँ । तर ‘तैँले भनेको हुन्छ ?’ भन्दै अर्को एक जनाले झन् थप धकेल्दै हातपात गर्यो,” उनले भनेकी छिन् ।
हातपातको सोही दृश्य लिम्बुको क्यामरामा समेत कैद भएको महिलाको भनाइ छ । र्याली अघि बढेपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरी समक्ष जाँदा पनि र्यालीमा सहभागी केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको उनले बताएकी छिन् ।
आइतबार राति राइडर लिम्बुसँग भएको टेलिफोन संवादमा उनले प्रमाण सङ्कलन गरिरहेको र आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरूमाथि उजुरी दिने तयारी गरिरहेको बताएकी छिन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) जनार्दन घिमिरेले उक्त विवादबारे सिंहदरबार प्रहरी वृत्तमा जानकारी आएको बताए । सोमबार दिउँसो टेलिफोन कुराकानीका क्रममा उनले भने, “म हिजोदेखि नै बाहिर फिल्डमा छु । उजुरी परेको छ वा छैन भन्नेबारे विस्तृत जानकारी लिइसकेको छैन । तर हिजो घट्टेकुलोमा विवाद भएको भन्ने सूचना भने आएको थियो ।”
पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १८:२२
