फ्याक्टचेकः नआत्तिनुहोस्, ओखलढुङ्गामा गोली चलेको छैन, भिडिओ एक महिना अघि अभ्यासका क्रममा खिचिएको हो
फागुन २१, २०८२ १२:१९
काठमाडौँ । बिहीबार देशभर प्रतिनिधसभा निर्वाचनका लागि मतदान सुरु भएसँगै सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । ओखलढुङ्गामा सेनाले गोली चलाएको, झडप भएको आदि उत्तेजक शीर्षक राखि व्यापक रूपमा फैलिरहेको उक्त भिडिओको फ्याक्टचेक गर्दा एक महिना अघि अभ्यासका क्रममा खिचिएको र अहिले मतदानको वातावरण विथोल्ने गरी उत्तेजना शिर्जना गर्नेगरी भाइरल बनाएको पुष्टि भएको छ ।
दाबी
५ मार्च २०२६ को दिन बिहान ११ः०६ बजेको समयमा "Breaking news - ओखलढुंगा मतदान स्थलमा झडप एमालेको कार्यकर्तालाई नेपाली सेना द्वारा गोली प्रहार !" शीर्षकमा 7News Nepal नामक फेसबुक पेजले भिडिओ शेयर गरेको छ । जसमा एकातिर भिड देखिन्छ भने अर्कोतर्फ नेपाली सेनाले हतियार तेर्स्याउँदै पोजिसन लिइरहेको जस्तो देखिन्छ र साथमा माइकिङ र नाराबाजीको आवाज सुनिन्छ ।
हेर्नुहोस् भिडिओ, अर्काइभ लिङ्क र त्यसको स्क्रिनशट ।

त्यस्तै ५ मार्चकै विहान १०ः०९ बजेको समयमा बिरेन्द्र थापा नाम गरेका फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ राखेका छन् । उनको क्याप्सनमा लेखिएको छ, "ओखलढुङ्गा मतदान स्थलमा झडप एमाले कार्यकर्तालाई नेपाली सेनाद्वारा गोली प्रहार!" हेर्नुहोस् भिडिओ र त्यसको स्क्रिनशट ।

त्यस्तै दिपेन थापा नामक अर्का फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ राखेको भेटियो । उनले क्याप्सनमा लेखेका छन्, "ओखलढुङ्गा मतदानस्थलमा झडप नेपाली सेनाद्वारा गोली प्रहार ll" हेर्नुहोस् भिडिओको लिङ्क र त्यसको स्क्रिनशट ।

यसरी भिडिओ निकै भाइरल भइरहेको पाइएपछि हामीले उक्त भिडिओबाट किफ्रेमहरू निकालेर गुगलको रिभर्स इमेज सर्चमा राखेर हेर्यौँ । त्यस क्रममा १० फेब्रुअरी २०२६ मा The Shabda Express नामक फेसबुक पेजमा राखिएको भिडिओ फेला पर्यो । जसको क्याप्सनमा लेखिएको छ, "आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान स्थल र मतपेटिका सुरक्षाको लागि नेपाली सेनाले पूर्व तयारी थालेको छ । आज नेपाली सेनाले मतपेटिका असुरक्षित भएमा तथा विषम परिस्थिति आएका भीडलाई कसरी नियन्त्रण भन्ने देखाउन नमुना तामिम गरेको हो ।"
हेर्नुहोस भिडिओको लिङ्क र त्यसको स्क्रिनशट।

यसबाट चुनावी तयारीका क्रममा नेपाली सेनाले अभ्यास गर्दैगर्दा करिब एक महिना अगाडि खिचिएको भिडिओ मतदानको समय पारेर पुनः भाइरल बनाएको निष्कर्ष निस्कियो ।
दाबी
५ सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा ओखलढुङ्गाको मतदान स्थलमा झडप भएको र नेपाली सेनाले एमाले कार्यकर्तामाथि गोली प्रहार गरेको दाबी गरिएको छ ।
दाबीकर्ता
फेसबुक पेज 7News Nepal तथा फेसबुक प्रयोगकर्ताहरू बिरेन्द्र थापा र दिपेन थापा लगायतका प्रयोगकर्ताले उक्त भिडिओ सोही दाबीका साथ पोस्ट गरेका छन् ।
तथ्य
भिडिओका किफ्रेमहरू प्रयोग गरी गुगल रिभर्स इमेज सर्च गर्दा १० फेब्रुअरी २०२६ मा The Shabda Express नामक फेसबुक पेजमा सोही भिडिओ पोस्ट भएको भेटियो । उक्त पोस्टमा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान स्थल र मतपेटिका सुरक्षासम्बन्धी नेपाली सेनाले गरेको पूर्वतयारी अभ्यास (नमुना तालीम) को दृश्य भएको उल्लेख गरिएको छ ।
निष्कर्ष
ओखलढुङ्गाको मतदान स्थलमा झडप भई नेपाली सेनाले गोली प्रहार गरेको भन्ने दाबी भ्रामक हो । भाइरल भिडिओ करिब एक महिना अघि निर्वाचन सुरक्षासम्बन्धी अभ्यासका क्रममा खिचिएको हो, जसलाई मतदानको दिनसँग जोडेर गलत सन्दर्भमा फैलाइएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २१, २०८२ १२:२५
