close

मोदीको पोस्टमा नेपालीमै बालेनको रिप्लाई, भने- ‘नेपाल-भारत सम्बन्ध अझ परिणाममुखी बनाउन सहकार्य गर्नेछौँ’

टेकपाना टेकपाना

फागुन २६, २०८२ १९:५४

मोदीको पोस्टमा नेपालीमै बालेनको रिप्लाई, भने- ‘नेपाल-भारत सम्बन्ध अझ परिणाममुखी बनाउन सहकार्य गर्नेछौँ’

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा राखेको पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपालीमै रिप्लाई दिएका छन् । मङ्गलबार प्रधानमन्त्री मोदीको पोस्टमा रिप्लाई दिँदै बालेनले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मोदीले सोमबार रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनलाई टेलिफोन गरी चुनावी सफलताका लागि बधाई दिएका थिए । मोदीले सामाजिक सञ्जाल एक्समा नेपाली र अङ्ग्रेजी दुवै भाषामा छुट्टाछुट्टै पोस्ट गर्दै दुवै जनासँग कुरा भएको र आगामी नयाँ सरकारसँग आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतीय सरकारको प्रतिबद्धता रहेको उल्लेख थिए ।

मोदीको पोस्टमा नेपालीमा रिप्लाई दिँदै झापा क्षेत्र नं. ५ बाट नवनिर्वाचित सांसद एवं रास्वपाका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बालेनले दुई देशबिचको सहकार्यमा जोड दिएका छन् ।

बालेनले लेखेका छन्, “धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।”

द्विपक्षीय सम्बन्धको चर्चासँगै बालेनले भारतीय क्रिकेट टोलीले हासिल गरेको पछिल्लो सफलताको समेत प्रशंसा गरेका छन् । भारतले लगातार दुई पटक विश्वकप क्रिकेटको उपाधि जितेकोमा बधाई दिँदै उनले थप लेखेका छन्, “लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।”

यसैगरी, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीको पोस्टलाई सोमबार नै शेयर गर्दै नेपाली जनताले दिएको लोकतान्त्रिक जनादेशको सम्मान गरेकोमा आभार व्यक्त गरेका छन् । उनले रास्वपा र आगामी सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई थप मजबुत बनाउने दिशामा केन्द्रित हुने बताएका छन् । लामिछानेले विशेष गरी ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास केन्द्रित कूटनीति) लाई प्राथमिकता दिँदै दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८२ २०:१३