काठमाडाैँ । इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले मध्यपूर्वमा जारी युद्धका बीच इरानी ह्याकरहरूले जासुसीका लागि दर्जनौँ सुरक्षा क्यामेराहरूमा पहुँच बनाएको भन्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ । सोमबार सामाजिक सञ्जाल एक्समार्फत एक जानकारी सार्वजनिक गर्दै निर्देशनालयले सयौँ क्यामेरा मालिकहरूलाई सम्भावित सुरक्षा जोखिमबाट बच्न आफ्ना पासवर्ड परिवर्तन गर्न र सफ्टवेयर अपडेट गर्न आग्रह गरेको हो ।
“राष्ट्रिय र व्यक्तिगत दुवै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निर्देशनालयले क्यामेरा मालिकहरूलाई सतर्क गराउने काम गरिरहेको छ,” साइबर इजरायलले उल्लेख गरेको छ ।

पछिल्ला वर्षहरूमा इरान र इजरायलबिच छायाँ युद्ध (Shadow War) चल्दै आए पनि गत जुन महिना र २८ फेब्रुअरीदेखि यो खुला द्वन्द्वमा परिणत भएको छ । यसै द्वन्द्वको बीचमा साइबर आक्रमणका घटना पनि बढैका छन् ।
आगामी आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा रहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटसमेत साइबर हमलाको सिकार भएका छन् । सन् २०२५ डिसेम्बरमा ह्याकरहरूले बेनेटको फोन र टेलिग्राम अकाउन्टमा पहुँच बनाएको दाबी गरेका थिए ।
बेनेटको फोनबाट चोरी गरिएका प्राइभेट मेसेज, भिडिओ र तस्बिरहरू 'हान्डला' नामक ह्याकर साइट र एक्स अकाउन्टमार्फत सार्वजनिक गरिएका छन् । 'हान्डला' प्यालेस्टिनी मुद्दाको प्रतीकका रूपमा चिनिने एउटा काल्पनिक पात्रको नाम हो । जसलाई इरान समर्थित ह्याकरहरूले प्रयोग गर्दै आएका छन् ।
इजरायली साइबर सेक्युरिटी फर्म चेक पोइन्टका अनुसार फेब्रुअरी २८ मा सुरु भएको अमेरिका-इजरायल सैन्य अभियानयता इरानी ह्याकरहरूले इजरायलका असुरक्षित सीसीटिभी क्यामेराहरूलाई मुख्य निसाना बनाएका छन् ।
चेक पोइन्टका साइबर गुप्तचर प्रमुख गिल मेसिङले समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार ह्याकरहरूले यी क्यामेराहरूको प्रयोग आक्रमणबाट भएको क्षतिको मूल्याङ्कन गर्न र लक्षित व्यक्तिहरूको गतिविधि वा नयाँ आक्रमणका लागि स्थान पहिचान गर्न गरिरहेका छन् । “यी ह्याकरहरू इरानी सेनाका अङ्ग हुन् र उनीहरूलाई इरानको 'रिभोलुसनरी गार्ड्स' तथा गुप्तचर मन्त्रालयले प्रत्यक्ष सहयोग गरिरहेको छ,” मेसिङले भने ।
गत हप्ता फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टअनुसार इजरायलले पनि इरानमा ठुलो स्तरको साइबर अपरेसन चलाएको थियो । इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने सैन्य अभियानको तयारीका लागि तेहरानका लगभग सबै ट्राफिक क्यामेराहरू वर्षौँदेखि ह्याक गरेर आफ्नो नियन्त्रणमा राखेको खुलासा भएको छ ।
पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ १७:५९
