close

सामाजिक सञ्जालमा प्रयोगकर्ताको सक्रियता घट्दै, इन्स्टा, थ्रेड्स र लिंक्डइनबाट किन टाढिँदैछन् ?

टेकपाना टेकपाना

फागुन २९, २०८२ ११:०

सामाजिक सञ्जालमा प्रयोगकर्ताको सक्रियता घट्दै, इन्स्टा, थ्रेड्स र लिंक्डइनबाट किन टाढिँदैछन् ?

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालहरूमा पोस्टको सङ्ख्या बढे पनि प्रयोगकर्ताहरूको वास्तविक संलग्नता वा इङ्गेजमेन्टमा भने उल्लेख्य गिरावट आएको पाइएको छ । पछिल्लो एक अध्ययनले विशेष गरी इन्स्टाग्राम, थ्रेड्स र लिंक्डइन जस्ता लोकप्रिय प्लेटफर्महरूमा प्रयोगकर्ताहरूले बिताउने समय र उनीहरूको सक्रियता घटेको देखाएको हो ।

सामाजिक सञ्जाल व्यवस्थापन प्लेटफर्म बफरले हालै सार्वजनिक गरेको 'द स्टेट अफ सोसल मिडिया इङ्गेजमेन्ट इन २०२६' नामक प्रतिवेदन अनुसार सन् २०२४ को तुलनामा २०२५ मा धेरै प्लेटफर्महरूको इङ्गेजमेन्ट रेटमा गिरावट आएको छ । यो अध्ययन ५ करोड २० लाख पोस्ट र १ लाख ९१ हजार भन्दा बढी मासिक प्रयोगकर्ताहरूको तथ्याङ्क विश्लेषण गरेर तयार पारिएको हो ।

अध्ययनले इन्स्टाग्राम, लिंक्डइन र थ्रेड्समा प्रयोगकर्ताको प्रतिक्रिया (लाइक, रिप्लाई र शेयर) घटेको देखाएको छ । अर्कोतर्फ फेसबुक, पिन्ट्रेस्ट र टिकटकमा सामान्य वृद्धि देखिएको छ भने एक्समा मात्र उल्लेखनीय रूपमा इङ्गेजमेन्ट बढेको पाइएको छ ।

सामाजिक सञ्जाल कम्पनीहरूले विज्ञापन र एआई सामग्रीलाई बढी जोड दिँदा प्रयोगकर्ताहरू भने वास्तविक र अर्थपूर्ण संवादको खोजीमा रहेको यो अध्ययनले प्रस्ट पारेको छ । यदि प्लेटफर्महरूले प्रयोगकर्ताको अनुभवलाई सुधार नगर्ने हो भने यो गिरावट अझै बढ्न सक्ने विश्लेषण गरिएको छ ।

सक्रियता घट्नुका मुख्य कारण

सामाजिक सञ्जालमा प्रयोगकर्ताको रुचि घट्नुका पछाडि विभिन्न कारणहरू रहेका छन् । अहिले सामाजिक सञ्जालहरूले प्रयोगकर्ताले फलो गरेका साथीभाइ वा परिवारका पोस्टहरू भन्दा पनि एल्गोरिदमले सिफारिस गरेका विज्ञापन र अपरिचित क्रिएटरका सामग्रीहरू बढी देखाउने गरेका छन् । यस्ता सुझाव गरिएका सामग्रीहरू प्रयोगकर्ताको रुचिसँग मेल नखाँदा उनीहरू एपबाट छिट्टै बाहिरिने गरेका छन् ।

टाइमलाइनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) द्वारा निर्मित सामग्रीहरूको सङ्ख्या बढ्दै जाँदा वास्तविक मानवीय सम्बन्ध र भावनामा समेत कमी आएको छ । मानिसहरू एआईबाट तयार पारिएका स्लोप वा काम नलाग्ने सामग्रीहरू देख्दा झर्को मान्ने गर्छन् ।

प्लेटफर्महरूले गर्ने बारम्बारको एल्गोरिदम परिवर्तनले प्रयोगकर्ताले हेर्न चाहेको सामग्री लुकाइदिने गरेको छ । युरोपेली आयोगले टिकटकलाई यसको 'लत लगाउने डिजाइन' (Addictive Design) का कारण अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आरोप समेत लगाएको छ । त्यस्तै फेसबुकले पनि एआई सिर्जित रिल्समा बढी जोड दिने गरी आफ्नो एल्गोरिदम परिवर्तन गरेको छ । जसले प्रयोगकर्ताको अनुभवमा असर पुर्‍याएको छ ।

कस्तो सामग्रीमा बढी रुचि ?

कुन प्लेटफर्ममा कस्तो सामग्री बढी चल्छ भन्ने कुराले पनि इङ्गेजमेन्ट निर्धारण गर्ने बफरको अध्ययनले देखाएको छ । उदाहरणका लागि लिंक्डइनमा भिडिओ वा फोटो भन्दा क्यारोसेल (Carousels) पोस्टहरूमा बढी इङ्गेजमेन्ट पाइन्छ । त्यस्तै इन्स्टाग्रामले रिल्सलाई बढी प्राथमिकता दिएका कारण त्यहाँ रिल्स् नै बढी लोकप्रिय छन् ।

आफ्नो फिडलाई चाहेजस्तो कसरी बनाउने ?

सामाजिक सञ्जालमा देखिने अनावश्यक कोलाहल कम गर्न तपाईँले केही उपाय अपनाउन सक्नु हुन्छ । जस्तै आफूलाई मन नपर्ने विज्ञापन वा पोस्टहरूमा 'नट इन्ट्रेस्टेड' (Not Interested) विकल्प चयन गर्नुहोस् । यसो गर्दा एल्गोरिदमले प्रयोगकर्ताको रुचिलाई बुझेर बिस्तारै सान्दर्भिक सामग्री मात्र देखाउन थाल्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ ११:०