close

पछिल्लो तीन महिनामा फेसबुकले विज्ञापनबापत नेपालबाट लग्यो १ करोड ८० लाख रुपैयाँ

टेकपाना टेकपाना

फागुन २९, २०८२ २०:५८

पछिल्लो तीन महिनामा फेसबुकले विज्ञापनबापत नेपालबाट लग्यो १ करोड ८० लाख रुपैयाँ

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका लागि उम्मेदवार तथा विभिन्न फेसबुक पेजहरूले पछिल्लो ९० दिनमा फेसबुक (मेटा) लाई करिब एक करोड ८० लाख रुपैयाँ बुझाएका छन् । ११ डिसेम्बरदेखि १० मार्चसम्मको अवधिमा नेपालबाट फेसबुकमा एक लाख २१ हजार ६७९ अमेरिकी डलर बराबरको विज्ञापन भएको पाइएको हो । 

आजको सटही दर (एक डलर बराबर १४७.२१ रुपैयाँ) अनुसार यो रकम एक करोड ७९ लाख १२ हजार ३६५ रुपैयाँ हुन आउँछ । ‘जेन-जी’ विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोक्यो ।

निर्वाचनको मिति घोषणा भएसँगै उम्मेदवार र राजनीतिक दलहरूले सामाजिक सञ्जालमार्फत गर्ने प्रचारप्रसारलाई तीव्रता दिएका कारण फेसबुक विज्ञापनमा ठुलो रकम बाहिरिएको हो ।

मेटा एड्स लाइब्रेरीको विवरण अनुसार यस अवधिमा निर्वाचनमा उठेका उम्मेदवार र उनीहरूको समर्थनमा खोलिएका विभिन्न फेसबुक पेजहरूले लाखौं रुपैयाँ खर्चेर विज्ञापन गरेका थिए । जसमध्ये सबैभन्दा बढी खर्च ‘माई भ्वाइस काउन्ट्स’ नामको फेसबुक पेजले गरेको छ । यस पेजले ६ लाख ६४ हजार ६४ रुपैयाँ (४,५११ डलर) बराबरको विज्ञापन गरेको छ । यो कस्तो पेज हो, केमा यति रकम खर्चियो भन्ने पढ्न यहाँ क्लिक गर्नुहोस् ।

त्यस्तै, एमाले‍ उम्मेदवार अजय क्रान्ति शाक्यले पाँच लाख ९५ हजार १६९ रुपैयाँ (४,०४३ डलर) खर्च गरेका छन् भने ‘साझा पाटी’ नामको फेसबुक पेजले नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाको तर्फबाट चार लाख ७० हजार ९२४ रुपैयाँ (३,१९९ डलर) को विज्ञापन गरेको छ । नेपाली कांग्रेसकै अर्का उम्मेदवार नैनसिंह महरले पनि चार लाख तीन हजार २०८ रुपैयाँ (२,७३९ डलर) बराबरको विज्ञापन गरेका छन् ।

यद्यपि अहिले कुन उम्मेदवारको नामबाट कति विज्ञापन भयो भन्ने यकिन तथ्याङ्क निकाल्न कठिन छ । निर्वाचन आयोगले मौन अवधि सुरु हुनुअघि नै सम्पूर्ण विज्ञापन सामग्री हटाउन निर्देशन दिएपछि उम्मेदवारको नामबाट गरिएका अधिकांश विज्ञापन फेसबुकबाट हटाइएका छन् ।

यसले गर्दा समग्रमा सबैभन्दा बढी खर्च कसले गर्‍यो भन्ने कुरा यकिनका साथ खुल्न सकेको छैन । त्यसअघि टेकपानाले ११ फागुनमा कुन उम्मेदवारले कति खर्च गरेका थिए भन्ने समाचार प्रकाशन गरेको थियो । समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।

फेसबुकको मातृ कम्पनी मेटाले नेपालको हकमा हालसम्म पनि पुरानै संरचना अर्थात् ‘अञ्चल’ का आधारमा विज्ञापनको तथ्याङ्क उपलब्ध गराउने गर्छ । सो तथ्याङ्क अनुसार निर्वाचन प्रचारप्रसारका लागि सबैभन्दा बढी रकम बागमती अञ्चलबाट खर्च भएको देखिन्छ । बागमती अञ्चलबाट मात्रै ५५ लाख ६१ हजार ४ रुपैयाँ (३७,७७६ डलर) बराबरको विज्ञापन भएको छ ।

यसैगरी लुम्बिनीबाट २२ लाख ६६ हजार १५० रुपैयाँ (१५,३९४ डलर), कोशीबाट १७ लाख ४५ हजार १७४ रुपैयाँ (११,८५५ डलर) र मेचीबाट १६ लाख ४३ हजार १५८ रुपैयाँ (११,१६२ डलर) को विज्ञापन भएको छ। जनकपुरबाट १४ लाख २ हजार ९११ रुपैयाँ (९,५३० डलर), गण्डकीबाट १३ लाख ८३ हजार ६२६ रुपैयाँ (९,३९९ डलर), नारायणीबाट ११ लाख ३१ हजार ६०३ रुपैयाँ (७,६८७ डलर) तथा सगरमाथाबाट ८ लाख २१ हजार ८७३ रुपैयाँ (५,५८३ डलर) बराबरको विज्ञापन खर्च भएको देखिन्छ ।

यस्तै, भेरी अञ्चलबाट पाँच लाख ८५ हजार ७४८ रुपैयाँ (३,९७९ डलर), राप्तीबाट चार लाख ८५ हजार ४९८ रुपैयाँ (३,२९८ डलर), सेतीबाट तीन लाख ८३ हजार ४८२ रुपैयाँ (२,६०५ डलर) र महाकालीबाट तीन लाख ३० हजार ४८६ रुपैयाँ (२,२४५ डलर) बराबरको विज्ञापन फेसबुकमा गरिएको छ ।

धौलागिरिबाट एक लाख ५५ हजार १५९ रुपैयाँ (१,०५४ डलर) खर्च हुँदा सबैभन्दा कम कर्णाली अञ्चलबाट जम्मा १६ हजार ४८७ रुपैयाँ (११२ डलर) को विज्ञापन भएको पाइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०८२ २१:१२