विश्वकर्मा ल्याब्स टेकएक्स काठमाडौं आयोजना हुँदै, रोबोट र नयाँ आविष्कार प्रदर्शनी हुने
चैत १, २०८२ १२:१९
काठमाडौं । ‘विश्वकर्मा ल्याब्स टेकएक्स काठमाडौं २०२६’ आयोजना हुने भएको छ । रोबोटिक्स र प्रविधि नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सो कार्यक्रम हुने भएको हो ।
विश्वकर्मा ल्याब्सको आयोजनामा हुने कार्यक्रम ४ अप्रिल, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । त्रिपुरेश्वर स्थित बोगेन भिल्ला इभेन्ट्समा आयोजना हुने कार्यक्रममा विद्यार्थी, युवा आविष्कार, क्रिएटर र प्रविधिमा रुचि राख्नेहरू सहभागी हुने आयोजक कम्पनीले जनाएको छ ।
युवालक्षित यो कार्यक्रम रोबोटिक्स तथा टेक्नोलोजी इनोभेसन शोकेसका रूपमा प्रस्तुत हुनेछ । कार्यक्रममा युवाहरूले तयार पारेका हार्डवेयर परियोजना, रोबोटिक्स प्रोटोटाइप र विभिन्न प्रविधि समाधानहरू प्रत्यक्ष रूपमा प्रदर्शन गर्न सकिने छ ।
यसले नेपालमा बढ्दै गएको युवा नवप्रवर्तन र सृजनशीलताको झलक पनि देखाउने आयोजकको विश्वास छ । यसका साथै कार्यक्रममा विश्वकर्मा ल्याब्सले विकास गरेका आफ्नै परियोजनाहरू पनि प्रस्तुत गरिने छन् । सहभागीहरूले नानोबट्स र रोबोटिक प्रोस्थेटिक ह्यान्ड जस्ता परियोजनाहरू अवलोकन गर्न पाउनेछन् । युनिट्री नेपाल- एमएडब्लू वृद्धी फ्युचर टेकद्वारा सञ्चालन गरेको ह्युमोनोइड रोबोट पनि सहभागीहरूले अवलोकन गर्न पाउने छन् ।
साथै विभिन्न रोबोटिक्स डेमो र प्रोजेक्ट प्रदर्शनीमार्फत वास्तविक जीवनका समस्याहरू समाधान गर्न कसरी प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने कुरा पनि देखाइने आयोजकले जनाएको छ । आयोजकका अनुसार यो कार्यक्रम प्रदर्शनी मात्र नभएर युवाहरूको सृजनशीलता, प्रयोगात्मक सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने साझा मञ्च हुनेछ ।
कार्यक्रममा विद्यार्थी र युवा आविष्कारकहरूले आफ्ना कामहरू सार्वजनिक रूपमा प्रस्तुत गर्ने, सिक्ने र एक अर्कासँग अनुभव साट्ने अवसर पाउनेछन् । यसले नेपालमा बिस्तारै बढ्दै गएको रोबोटिक्स र प्रविधि संस्कृतिलाई अझ बलियो बनाउन समेत मद्दत पुर्याउने विश्वास आयोजकको छ ।
कार्यक्रममा आफ्ना शोकेस देखाउन चाहने विद्यार्थी तथा इनोभेटरहरूले नाम दर्ता गर्नुपर्ने बताइएको छ । डिजिटल वालेट खल्ति कार्यक्रममा रजिस्ट्रेसन र टिकटिङ पार्टनरको रुपमा रहेको छ । नाम दर्ता गर्न दुई जना सम्मको समूहको लागि ९९९ रुपैयाँ र तीन वा सो भन्दा बढि सदस्य भएमा प्रति सदस्य थप २९९ रुपैयाँ लाग्ने छ । यस्तै, सहभागीका लागि भने प्रति व्यक्ति ५९९ रुपैयाँ तोकिएको छ । खल्ति एपमा गएर वा तल दिइएको क्युआर कोड स्क्यान गरेर टिकट खरीद गर्न सक्ने बताइएको छ ।

कार्यक्रममा उत्कृष्ट प्रोजेक्ट शोकेस गर्ने प्रतिस्पर्धीहरूलाई पुरस्कार राशीको समेत व्यवस्था हुने छ । प्रतिस्पर्धामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १, २०८२ १२:५५
