close

बीवाईडी सिलायन ईभी लिएपछि विज्ञ राजभण्डारी भन्छन्, पार्क गरेपछि पनि फर्कीफर्की हेर्न मन लाग्छ

टेकपाना टेकपाना

चैत १, २०८२ १२:५०

बीवाईडी सिलायन ईभी लिएपछि विज्ञ राजभण्डारी भन्छन्, पार्क गरेपछि पनि फर्कीफर्की हेर्न मन लाग्छ

काठमाडौँ । जब कुनै गाडी सडकमा गुड्दा मानिसहरू टक्क अडिएर हेर्छन्, त्यसले उत्सुकतासँगै मानिसहरूको ध्यान आफूतिर तानिरहेको हुन्छ । पछिल्लो समय नेपाली सडकमा एउटा यस्तै 'सेलिब्रेटी' देखिन थालेको छ, त्यो हो बीवाईडी सिलायन ७ (BYD Sealion 7) ।

यो गाडी केवल एउटा विद्युतीय सवारी (ईभी) मात्र होइन, यो त प्रविधि, विलासिता र चिनियाँ इन्जिनियरिङको एउटा उत्कृष्ट नमुना पनि हो । टेकपानाको 'अनर रिभ्यु' (Owner's Review) मा गाडी धनी विज्ञ राजभण्डारीले आफ्नो यात्रा अनुभवलाई निकै उत्साहका साथ शेयर गरेका छन् । उनले यस गाडीलाई '१० मा १०' अङ्क दिँदै एउटा 'पर्फेक्ट कार' को संज्ञा दिएका छन् ।

विज्ञका लागि सिलायन ७ केवल एउटा कार मात्र होइन, यो उनको लाइफस्टाइल (जीवनशैली) को एउटा अभिन्न हिस्सा हो । उनले नयाँ गाडी किन्न चाहनेहरूलाई एउटा महत्त्वपूर्ण सल्लाह दिएका छन्, "गाडीको लुक्स र फिलमा कहिल्यै सम्झौता नगर्नुहोस् । तपाईंले यो गाडी आगामी १० वर्षसम्म चलाउनु हुनेछ, त्यसैले आफूलाई साँच्चै मन पर्ने गाडी नै रोज्नुहोस् ।"

१,५७० किलोमिटरको यात्रापछि सिलायन ७ प्रतिको उनको विश्वास झन् बढेको छ । उनले अहिलेसम्म पहिलो सर्भिस (३ महिना वा ३००० किलोमिटरमा हुने) पनि गराएका छैनन् । तर उनले अन्य प्रयोगकर्ताहरूबाट बीवाईडीको सर्भिस सेन्टरको बारेमा राम्रो प्रतिक्रिया पाएका छन् । १० मा १० अङ्क दिँदै विज्ञले यो गाडीलाई नेपाली सडकका लागि एउटा उत्कृष्ट र विलासी विकल्पको रूपमा प्रस्तुत गरेका छन् ।

कुराकानीका क्रममा विज्ञले नेपालमा गाडी खरिद गर्दा भोग्नुपर्ने आर्थिक चुनौतीहरूको पनि चर्चा गरे । उनले भने, "सरकारले हरेक वर्ष कर बढाउँदै लैजान्छ । १० वर्षको अवधिमा एउटै गाडीमा लाग्ने कर र विनिमय दरको उतारचढावले गर्दा उपभोक्ताहरू मर्कामा परेका छन् ।"

गाडीलाई एउटा सम्पत्तिको रूपमा हेरिने भए पनि नेपालको सन्दर्भमा यो पैसा खर्च मात्र गराउने वस्तु बनेकोमा उनले चिन्ता व्यक्त गरे । तर गाडीप्रतिको प्रेम र आवश्यकताका कारण उनले सिलायन ७ लाई रोजेको र यसमा आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताए ।

पहिलो नजर

गाडी रोज्दा पहिलो प्रभाव नै अन्तिम प्रभाव हुने गर्छ । विज्ञका अनुसार सिलायन ७ को कालो रङ्ग अत्यन्तै युनिक र विशेष छ । यसअघि सेतो र कालो दुवै रङ्गका गाडीहरू चढिसकेका उनी भन्छन्, "यो गाडीको रङ्ग र डिजाइनको तालमेल निकै विशेष छ । यसले गाडीलाई एउटा बेग्लै र उत्कृष्ट लुक्स दिएको छ ।"

टेकपानासँगको कुराकानीमा उनले गाडीप्रतिको आफ्नो एउटा रोचक दृष्टिकोण सुनाए । "तपाईंले आफ्नो गाडी पार्क गरेपछि एक पटक पछाडि फर्केर त्यसलाई हेर्न मन लाग्ने हुनुपर्छ, यदि त्यसो हुँदैन भने तपाईंले गलत गाडी किन्नुभएको छ," उनी भन्छन् ।

सिलायन ७ को सन्दर्भमा विज्ञ हरेक पटक पार्क गरेर फर्किँदा यसको सुुन्दरताबाट मुग्ध हुने गर्छन् । यो गाडी हेर्दा जति सुुन्दर छ, यसको उपस्थिति पनि उत्तिकै प्रभावशाली छ । सडकमा यसले दिने एउटा एस्पिरेसनल (Aspirational) फिलले यसलाई अन्य गाडीहरूभन्दा माथि राखेको छ ।

डिजाइनको कुरा गर्दा यसको हेडलाइटको पावर र उचाइले रात्रिकालीन ड्राइभिङलाई निकै सुरक्षित र सहज बनाएको विज्ञको अनुभव छ । जब तपाईं सिलायन ७ को ढोका खोल्नुहुन्छ, एउटा प्रिमियम संसारको महसुस गर्नुहुन्छ ।

विज्ञले यसको इन्टेरियरलाई सब्टल (Subtle) अर्थात् शालीन तर रिच (भव्य) को रूपमा व्याख्या गरेका छन् । अन्य गाडीहरूसँग तुलना गर्दा यसको डार्क इन्टेरियरले एउटा गहिरो विलासिताको आभास दिन्छ । यसको क्याबिनमा प्रयोग गरिएका सामग्रीहरू अत्यन्तै गुणस्तरीय र छाम्दा नरम महसुस हुन्छन् ।

यो गाडीको एउटा मुख्य विशेषता भनेको यसको 'फुल्ली डिजिटल कन्सोल' हो । सिलायन ७ ले ड्राइभरको अगाडि रहेको डिस्प्लेलाई पनि आधुनिक बनाएको छ । उनले थपे, "मलाई यसको बटनहरू र टचको अनुभव निकै मनपर्‍यो । धेरै कम्पनीहरूले ढोका खोल्ने बटनहरूमा गल्ती गर्छन्, तर यो गाडीले 'डोर रिलिज' प्रणालीलाई एकदमै सही ढङ्गले डिजाइन गरेको छ ।"

गाडीको भित्रि भाग निकै फराकिलो छ । पछाडिको फ्लोर पूर्ण रूपमा फ्ल्याट भएकाले तीन जना यात्रुहरू पनि निकै आरामसँग बस्न सक्छन् । अझ विशेष कुरा त, यसका सिटहरू भेन्टिलेटेड र हिटेड छन् । जाडो महिनामा सिटलाई न्यानो बनाउने र गर्मीमा शीतल बनाउने यो सुविधाले यात्रालाई थप सुखद बनाउँछ ।

अत्याधुनिक सेन्सर

विज्ञ एउटा अनुभवी चालक र सवारी साधनका पारखी हुन् । उनले सिलायन ७ मा रहेका सुरक्षा फिचरहरूको खुलेर प्रशंसा गरे । गाडीमा रहेको कोलिजन डिटेक्सन (Collision Detection) र अटोमेटिक ब्रेकिङ प्रणाली अत्यन्तै प्रभावकारी रहेको उनले बताए । नेपालको भिडभाड र अस्तव्यस्त ट्राफिकमा यी सेन्सरहरूले निकै राम्रोसँग काम गर्ने उनको अनुभव छ ।

गाडीमा जडान गरिएको ३६० डिग्री क्यामेराको गुणस्तर र सटीकताले उनलाई निकै प्रभावित तुल्याएको छ । उनले भने, "गाडी ठुलो भए पनि यसको ३६० क्यामेरा र सेन्सरका कारण मलाई साँघुरा गल्लीहरूमा पनि चलाउन कुनै समस्या लाग्दैन ।" यसबाहेक गाडीमा ब्लाइन्ड स्पट डिटेक्सन (Blind Spot Detection) र डिजिटल लुकिङ ग्लासको सुविधा पनि छ, जसले पछाडिको दृश्यलाई प्रस्टसँग देखाउँछ र दुर्घटनाको जोखिम कम गर्छ ।

ड्राइभिङ अनुभव

सिलायन ७ मा १,५७० किलोमिटरको यात्रा गरिसकेपछि विज्ञको एउटै निष्कर्ष छ, "यो गाडी ड्राइभिङका लागि नै बनेको हो ।" यसको ह्यान्डलिङलाई उनले सुपर्बको संज्ञा दिएका छन् । १,७५ एमएमको ग्राउन्ड क्लियरेन्स र उत्कृष्ट सस्पेन्सनका कारण नेपालका कच्ची र उबडखाबड सडकहरूमा पनि गाडीले निकै राम्रो प्रर्फर्म गरेको छ । उनले भने, "सुरुमा मलाई यो गाडी धेरै ठुलो लाग्थ्यो, तर चलाउन थालेपछि यो निकै सन्तुलित र रेस्पोन्सिभ पाएँ ।"

रात्रिकालीन यात्राका लागि यसको टर्निङ लाइट फिचर एउटा वरदान साबित भएको छ । एकदमै घुमाउरा मोडहरूमा जब स्टेयरिङ मोडिन्छ, यो लाइट यति उज्यालो गरी बल्छ कि बाटोको कुना-कुना प्रस्ट देखिन्छ । यसले गर्दा रातीको समयमा हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई कम गर्न ठुलो मद्दत पुग्छ ।

ब्याट्री र रेन्ज

बीवाईडीको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेकै यसको ब्लेड ब्याट्री प्रविधि हो । विज्ञले आफ्नो अनुसन्धानका आधारमा यो ब्याट्री पूर्ण रूपमा सुरक्षित र भरपर्दो रहेको बताए । उनले आफ्नो ब्याट्रीको आयु बढाउनका लागि एउटा विशेष नियम पालना गर्ने गरेका छन् । उनी सधैँ ८० प्रतिशतसम्म मात्र चार्ज गर्छन् । उनको अनुभवमा जाडो महिनामा पनि यो गाडीले करिब ४४० किलोमिटरको रेन्ज दिने क्षमता राख्छ ।

दैनिक प्रयोगको कुरा गर्दा विज्ञ महिनामा औसत १००० किलोमिटर गाडी चलाउँछन् । यसको अर्थ उनी दैनिक ३६ देखि ३७ किलोमिटर यात्रा गर्छन् । यस्तो अवस्थामा एक पटकको चार्जले उनलाई कयौँ दिनसम्म पुग्ने गर्छ । गाडीको एसी प्रणाली र क्याबिन इन्सुलेसन यति राम्रो छ कि बाहिरको कोलाहल भित्र सुनिँदैन र म्युजिकको आनन्द पनि उत्तिकै प्रभावकारी हुन्छ ।

व्यावहारिकता र बुट स्पेस

सामान बोक्ने क्षमताको हिसाबले पनि सिलायन ७ उत्कृष्ट छ । यसको बुट स्पेसलाई विज्ञले म्यासिभ (Massive) अर्थात् विशाल भनेका छन् । उनले बुट खोलेर देखाउँदै भने, "यसको गहिराइ निकै बढी छ र लामो यात्रामा धेरै सामान बोक्न सजिलो हुन्छ ।"

तर गाडीको सबैभन्दा रोचक पक्ष भनेको यसको फ्रङ्क (Frunk) अर्थात् अगाडिको भागमा रहेको सानो स्टोरेजको ठाउँ हो । यो कुनै बटन थिचेर खुल्दैन । यसलाई खोल्नका लागि ड्राइभर साइडमा रहेको म्यानुअल लिभरलाई दुई पटक तान्नुपर्ने हुन्छ । विज्ञले यसलाई एउटा सिक्रेट ठाउँको रूपमा व्याख्या गरेका छन्, जहाँ महँगा वा मूल्यवान् सामानहरू सुरक्षित रूपमा लुकाएर राख्न सकिन्छ । यद्यपि उनले एउटा कुराको भने अभाव महसुस गरेका छन्- त्यो हो स्पेयर टायर । गाडीमा स्पेयर टायरको सट्टा टायर मर्मत गर्ने किट मात्र दिइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०८२ १२:५०