close

यूएईमा मिसाइल प्रहारबारे भ्रामक भिडिओ सामाजिक सञ्जालमा राख्ने २ नेपालीसहित २५ जना पक्राउ

टेकपाना टेकपाना

चैत १, २०८२ १७:४०

यूएईमा मिसाइल प्रहारबारे भ्रामक भिडिओ सामाजिक सञ्जालमा राख्ने २ नेपालीसहित २५ जना पक्राउ

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउने र भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा यूएई सरकारले २ जना नेपालीसहित विभिन्न देशका २५ जनालाई पक्राउ गरेको छ । यूएईका महान्यायाधिवक्ता डा हमाद सेफ अल शाम्सीले पक्राउ परेका ती व्यक्तिहरूलाई ‘द्रुत सुनुवाइ’ मार्फत कारबाही गर्न आदेश दिएका हुन् । 

आरोपितले राज्यको रक्षा प्रणालीलाई हानि पुर्‍याउने र यूएईविरुद्धको सैन्य आक्रमणलाई बढाई चढाई प्रस्तुत गर्ने काम गरेको बताइएको छ । यूएईबाट सञ्चालित गल्फ न्युजका अनुसार नक्कली र एआई निर्मित सामग्री मार्फत् सार्वजनिक अशान्ति मच्चाउने र देशको स्थिरतालाई कमजोर पार्न खोज्ने गतिविधिको निगरानी गर्ने क्रममा यूएईले यो कडा कदम चालेको हो । 

यसअघि पनि यूएईले राष्ट्रिय सुरक्षालाई लक्षित गर्दै क्षेप्यास्त्र निस्तेज पारेका र एआईबाट बनाइएका नक्कली भिडिओ पोस्ट गर्ने १० जनालाई पक्राउ गरिसकेको छ । त्यस क्रममा पनि एक जना नेपाली पक्राउ परेका थिए ।

अनुसन्धान र विद्युतीय निगरानीबाट पक्राउ परेका आरोपित तीन फरक-फरक समूहमा बाँडिएर विभिन्न गतिविधिमा संलग्न रहेको खुलासा भएको छ । पहिलो समूहमा रहेकाले युएईको आकाशमा क्षेप्यास्त्र आक्रमण भएको र त्यसलाई आकाशमै निस्तेज पारिएका वास्तविक भिडिओ क्लिप सार्वजनिक गरेका थिए ।

 उनीहरूले यस्ता घटना हेरिरहेका मानिसको भिडिओ खिचेर त्यसमा त्रास र चिन्ता बढाउने किसिमका साउन्ड इफेक्ट र टेक्स्ट जोडेका थिए । यस्ता भिडिओले देशको रक्षा क्षमताको गोपनीयता खुला गरिदिने र शत्रुलाई भ्रामक भाष्य निर्माण गर्न मद्दत पुर्‍याउने यूएई सरकारको ठहर छ । यस्तो भिडिओ फैलाउने सूचीमा एक नेपाली पनि समावेश छन् ।

त्यसैगरी दोस्रो समूहले एआईको प्रयोग गरी नक्कली भिडिओ बनाएको थियो । साथै यूएई बाहिरका घटनाका दृश्यलाई यूएईभित्रकै भएको भन्दै झुटो दाबीसहित भिडिओ उनीहरूले भाइरल गराएका थिए । जनतालाई भ्रमित पार्न ती भिडिओमा नक्कली विस्फोट र क्षेप्यास्त्रका दृश्यसँगै राष्ट्रिय झण्डा र निश्चित मिति राखिएका थिए । यो समूहमा पनि एक नेपाली, पाँच भारतीय र एक बङ्गलादेशी नागरिक छन् ।

तेस्रो समूहले भने यूएईको शत्रु राष्ट्र र त्यसको राजनीतिक तथा सैन्य नेतृत्वलाई बढाई चढाई गर्दै कन्टेन्ट पोस्ट गरेको थियो । उनीहरूले शत्रु राष्ट्रका नेताको प्रशंसा गर्ने र उनीहरूको क्षेत्रीय सैन्य आक्रमणलाई ‘उपलब्धि’ का रूपमा प्रचार गर्दै यूएईको राष्ट्रिय हितविरुद्ध प्रोपगन्डा फैलाएको द गल्फ न्युजले उल्लेख गरेको छ ।

सरकारी वकिलको कार्यालयले आरोपितमाथि अनुसन्धान सुरु गर्दै उनीहरूलाई थप अनुसन्धान नहुँदासम्मका लागि हिरासतमा राख्न आदेश दिइसकेको छ । महान्यायाधिवक्ता डा अल शाम्सीले यी काम कानुनको उल्लङ्घन भएको बताउँदै यस्ता गतिविधिले जनमतलाई भ्रमित पार्ने र सामाजिक अशान्ति निम्त्याउने हुँदा दोषीमाथि दण्डात्मक कारबाही हुने बताएका छन् । 

उनले सार्वजनिक सुरक्षा वा राज्यको रक्षा क्षमतामा आँच पुर्‍याउने भ्रामक सामग्री फैलाउन साइबर स्पेसको दुरुपयोग गर्नु गम्भीर फौजदारी अपराध भएको स्पष्ट पारेका छन् । हाल राज्यले सामना गरिरहेको सैन्य आक्रमणको परिप्रेक्ष्यमा यो विषय अझ बढी संवेदनशील रहेको भन्दै यस्ता व्यवहारविरुद्ध कानुनी कदम चालिने चेतावनी पनि उनले दिएका छन् । 

देशको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै तथ्यलाई तोडमोड गर्ने र भ्रम फैलाउने जोकोहीलाई कानुनी कठघरामा उभ्याइने र तोकिएको कानुनी सजाय दिइने यूएई सरकारले स्पष्ट पारेको छ ।

यस घटनामा तीन जना नेपाली नै पक्राउ परेपछि यूएईमा रहेका अन्य नेपालीले सामाजिक सञ्जाल चलाउँदा अत्यन्तै होसियार हुनुपर्ने देखिएको छ । बाटोमा हिँड्दा वा कोठामा बस्दा देखिएका कुनै पनि सैन्य गतिविधि, क्षेप्यास्त्र प्रहार, विस्फोट वा सुरक्षा निकाय लक्षित दृश्य टिकटक, फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नु त्यहाँ अपराध मानिन्छ । 

जानकारी नभएरै यस्ता भ्रामक तथा मिथ्या भिडिओ हाल्दा वा अरूले हालेका यस्ता भिडिओ शेयर गर्दा मात्रै पनि यूएईमा सिधै जेल सजाय र भारी जरिबाना हुने भएकाले सामाजिक सञ्जालको प्रयोगमा नेपाली श्रमिकले विशेष संयमता अपनाउनु अत्यन्तै जरुरी छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०८२ २३:४३