रचनात्मक ढङ्गले एआई प्रयोग गर्दै सचेतना फैलाएपछि सामाजिक सञ्जालमा नेपाल प्रहरीको चर्चा
चैत ७, २०८२ १७:१६
काठमाडौँ । शुक्रबार नेपाल प्रहरीका आधिकारिक सामाजिक सञ्जाल खातामा अपलोड भएको एउटा छोटो भिडिओले यतिबेला इन्टरनेटमा निकै चर्चा बटुलिरहेको छ । २० लाख बढी फलोअर भएको फेसबुक पेज, एक-एक लाख बढी सब्सक्राइबर/फलोअर भएका युट्युब र इन्स्टाग्राम, नौ लाख फलोअर भएको एक्स र करिब डेढ लाख फलोअर भएको टिकटक अकाउन्टबाट एकसाथ सार्वजनिक गरिएको उक्त भिडिओले परम्परागत शैलीलाई चिर्दै जनचेतना जगाउने नयाँ बाटो समातेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर बनाइएको उक्त भिडिओले आम नागरिकको ध्यान तानेको छ । ५३ सेकेन्डको भिडिओमा सडकमा कोरिएका विभिन्न लेन र तिनको औचित्यबारे रोचक ढङ्गले बुझाइएको छ ।
सडकमा देखिने सेतो काटिएको लाइनले दायाँबायाँ हेरेर सङ्केत (इन्डिकेटर) दिई लेन काट्न सकिने कुरा सिकाएको छ भने सेतो निरन्तर लाइनले ओभरटेक गर्न वा लेन काट्न पूर्ण रूपमा निषेध गरेको सन्देश दिएको छ । त्यसैगरी जोखिमपूर्ण मानिने सडकको बीच भागमा हुने दोहोरो सेतो रेखाले त्यहाँबाट ओभरटेक गर्न, मोड्न र लेन परिवर्तन गर्न नपाइने नियम सम्झाएको छ ।
सडकको सिमाना देखाउने छेउको पहेँलो लाइन र पैदल यात्रुलाई सुरक्षित रूपमा बाटो काट्न सघाउने जेब्रा क्रसिङको महत्त्वलाई पनि भिडिओमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ ।
कुनै पनि निर्जीव वस्तुको बारेमा जानकारी दिनुपर्दा त्यसैलाई मान्छेको जस्तो आकृति र हाउभाउ दिएर बोल्न लगाउने पछिल्लो एआई ट्रेन्डलाई नेपाल प्रहरीले हुबहु पछ्याएको छ । सडकका सङ्केतहरू नै मानिसजस्तै उभिएर नियम सिकाउँदा दर्शकले सहजै कुरा बुझेको र यो पहल स्वागतयोग्य भएको भन्दै चर्चा गरेका छन् ।
कतिपयले सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरी आफैं उभिएर किन भिडिओ नबनाएको ?’ भन्ने प्रश्न पनि गरेका छन्, जसको उत्तर आम दर्शक आफैँले दिइरहेका छन् । "आजको समयमा मानिसको ध्यान खिच्न नयाँ-नयाँ ट्रेन्डको सहारा लिनु अनिवार्य भइसकेको छ । यदि कुनै ट्राफिक प्रहरी उभिएर साधारण रूपमा नियम सिकाएको भए सायद धेरैले त्यो भिडिओलाई ‘स्किप’ गरेर अगाडि बढ्थे होलान् । तर, एआई प्रयोग गरिएको यो ट्रेन्डिङ भिडिओले स्क्रोल गरिरहेका दर्शकको ध्यान तान्न सफल भयो," फेसबुक प्रयोगकर्ता महेश आचार्यले लेखेका छन् ।
सामाजिक सञ्जालमा एआईको दुरुपयोग गरी भ्रामक तथा मिथ्या सूचना फैलाउने र चरित्रहत्या गर्ने प्रवृत्ति बढ्दै गइरहेको माहोलका बीच प्रविधिको सही र सकारात्मक सदुपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण यो भिडिओ भएको भन्दै केही प्रयोगकर्ताले प्रशंसा गरेका छन् ।
एनिमेसन र एआईको प्रयोगले गर्दा विशेषगरी साना बालबालिकादेखि वृद्धवृद्धासम्मले ट्राफिक नियम स्पष्ट र चाँडै बुझ्न सक्ने भन्दै धेरैले यसलाई ‘एक्सेलेन्ट कन्सेप्ट’को संज्ञा दिएका छन् । केही प्रयोगकर्ताले ‘जेन-जी प्रहरीको जनहितमा जारी सन्देश’ भन्दै सबैलाई नियम पालना गर्न अपिल गरेका छन् । केहीले भने एआईले भिडिओ बनाउँदा एउटै लेनमा दुईतर्फी सवारी चलेको जस्ता साना प्राविधिक त्रुटि औंल्याएका छन् । तर समग्रमा यसको कन्सेप्ट र सन्देश प्रवाहको शैलीले धेरैको ध्यान खिचेको छ ।
पछिल्लो अध्यावधिक: चैत ७, २०८२ १७:४०
