close

के चित्रबहादुर केसीले ‘विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो’ भनेका हुन् ?

टेकपाना टेकपाना

चैत ९, २०८२ १९:४

के चित्रबहादुर केसीले ‘विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो’ भनेका हुन् ?

काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको भनाइ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ । ‘विदेशमा रहेका नेपालीलाई अमेरिकी गुप्तचर संस्था (सीआईए)ले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको’ भनी उनले दाबी गरेका समाचार र भिडिओ भाइरल भइरहेका छन् । धेरैलाई यो साँचो हो वा होइन भन्ने चासो छ ।

वास्तवमा यो भिडिओ सत्य हो । सोमबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो दाबी गरेका हुन् । उनले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको अभूतपूर्व जनसमर्थनलाई लक्षित गर्दै पार्टीको लहरका पछाडि अमेरिकी गुप्तचर निकायको हात रहेको उल्लेख गरेका छन् । उनीहरूले नै रोजगारी तथा अध्ययनका लागि त्यहाँ (अमेरिका) पुगेका नेपालीलाई कब्जा गरेर फोन गर्न लगाई घण्टीमा भोट हाल्न दबाब दिएको केसीको जिकिर छ ।

उनले भनेका छन्, “कतिसम्म लाजमर्दो भने विदेशमा जहाँजहाँ जागिर खान गएका छन्, पढ्न गएका विद्यार्थी छन्, ती सबलाई सीआईएले कब्जा गरेको छ र उनीहरू आफ्ना आमाबाबु अभिभावकलाई घण्टीमा है भोट घण्टीमा, होइन भने म घर आउन्न भन्न लगाए । हेर्नुस् त, यस्तो देश हुँदाखेरि पनि हामी चिन्तित हुने कि नहुने ?

केसीले यो दबाबलाई लाजमर्दो भन्दै नेपालको वर्तमान राजनीतिक अवस्थासँग जोडेका छन् । उनले अमेरिकाले चीनविरुद्ध खेल खेलिरहेको र दलाई लामालाई पुनर्स्थापित गर्नकै लागि यस्तो षड्यन्त्र रचेको पनि आरोप लगाए ।

अध्यक्ष केसीको अभिव्यक्ति सम्बन्धी समाचार विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । त्यस्तै उनी बोलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फ एउटा सिट पनि हासिल गर्न नसकेकाले पार्टी अध्यक्ष केसीले आक्रोश पोखेको भन्दै सामाजिक सञ्जालमा उनको ट्रोल गरिएको छ । केहीले प्रमाणबिनै यस्ता गम्भीर आरोप लगाएको भन्दै आलोचना गरेका छन् ।

पूरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

चित्रबहादुर केसीको भनाइ शब्दमा जस्ताको तस्तै:

“...​विदेशमा जहाँ-जहाँ तपाईंको चाहिँ नि जागिर खाने मान्छे छन्, पढ्न गएका विद्यार्थी छन्, ती सबलाई सीआईएले कब्जा गर्‍या छ र उनीहरूलाई तपाईंको चाहिँ घरका आफ्ना आमा, बाउ, अभिभावकलाई घण्टीमा है भोट घण्टीमा । हैन भने म घर आउन्न । हेर्नुस् त, यस्तो देश हुँदाखेरि पनि हामी चिन्तित हुने कि नहुने?

अब कति बुद्धि पुर्‍यायो । यहाँ तपाईंको चाहिँ नेपाली जनताले खान पाएनन्, यहाँ भ्रष्टाचार भयो, नेपाली जनताले दुःख पाए भनेर हो र ? नेपाललाई चीनको विरुद्धमा लड्नको लागि चाहिँ नि उपयोग गर्‍या हो । त्यो मान्छ कि अमेरिकाले भनेर नै चाहिँ एमसीसी पास गर्द्या हुन् काङ्ग्रेसी, एमाले, माओवादीले । यति गर्दिए त मान्छ कि भनेर हो नि । एसपीपी उनीहरूले पास खुरुक्क गर्द्या भा त यो गति गराउने थिएनन् नि त्यसलाई हेर्नुस् त । एसपीपी पास गर्न मानेनन् । सिधै कुरा छ यसमा ।

त्यसो हुनाले अब जनताको जनमत सधैँ ठिक ठाउँमा पर्छ भन्ने होइन। कमरेडले चाहिँ नि हिटलरको उदाहरण पनि दिनुभयो । र तपाईंको चाहिँ नि दुई सय वर्ष त ब्रिटिस साम्राज्यवाद नै आएर त भारतमा शासन गरेन ? ब्रिटिस साम्राज्यवाद आयो दुई सय वर्ष शासन गर्‍यो र जाने बेला हिन्दुबाट चाहिँ मुस्लिमलाई खतरा छ भनेर हिन्दुस्तान टुक्र्याएर त गइदियो त । अहिले पनि उदाहरण दिँदाखेरि कसैकसै रिसाएर कुरा गर्दाखेरि हिन्दुस्तान र पाकिस्तान भन्ने कुरा आउँछ त ल हेर्नुस् ।

त्यसो हुनाले यो मैले भनिहालेँ नि आज तपाईंको चाहिँ संसारैभरि अहिले मानव जातिको एक नम्बर शत्रु अमेरिकी साम्राज्यवाद नै हो । मैले नेपाली काङ्ग्रेसका एउटा शीर्षस्थ नेतासँग अस्ति चाहिँ नि मैले फोनमा कुरा गरेँ । हामीले अमेरिकी साम्राज्यवादका विरुद्ध कुरा गर्दाखेरि तपाईंहरूलाई हनहनी ज्वरो आउँथ्यो नि त । अहिले तपाईंहरूकै पार्टी पनि यस्तो बेलामा किन फोर्दियो उसले ? सीआईएले फोर्‍या हो नि । गगनले फोर्‍या हो र ? ल भन्नुस् । के भयो स्थिति ?

त्यसो भएर हामीलाई हामीले सबै बुझ्नुपर्छ कि या त साम्राज्यवादको तपाईंको चाहिँ मानव जातिले अन्त्य गर्नुपर्छ । इरानी जनताले साहसलाई देखाएका छन् । र हामीले तपाईंको चाहिँ साम्राज्यवादका विरुद्धमा नेपालमा जनमत खडा गरेर नेपाली जनतालाई बुझाउन सकिनम् भने हाम्रो स्थिति तपाईंको चाहिँ नि भयानक चाहिँ खतरा छ । यता चाहिँ भारतीय साम्राज्यवाद छ, हाम्रो भूभाग मिचिएको मिचियै छ । यहाँ तपाईंको चाहिँ नागरिकता यहाँ हुलेको हुल्यै छ। यतैबाट छौँ हामी पीडित ।

अब तपाईंको चाहिँ अमेरिका के चाहन्छ भने चीनसँगको सम्बन्ध चाहिँ कट अफ गर्न चाहन्छ । पोखरामा चाहिँ नि जुन एयरपोर्ट चाहिँ नि चिनियाँ चाहिँ ऋण सहयोगमा त्यहाँ आइराख्या थिए, संसद्‌मा मैले बोलेको सुन्थेँ साथीहरूले यो चाहिँ पोखराको चाहिँ एयरपोर्ट बनाउँदा चीनबाट जो ऋण ल्याएको छ त्यो नेपाली जनतालाई पासोमा ऋणको पासोमा पार्ने कुरा हुन् त्यहाँ हेर्नुस् । शेरबहादुरजीले त गर्नुभएको हो नि अमेरिकी पक्षका कतिपय कामहरू ।

अहिले शेरबहादुरजीको अथवा त त्यस्तै एमाले यिनीहरूको चाहिँ स्थिति किन यस्तो भयो भने उनीहरू एसपीपी पास गर्न मानेनन्... एमसीसी पास गर्ने बेलामा नि हामीले जोडदारले भनेको हौँ । तपाईंहरूले अब यो नेपाललाई चीनको विरुद्धमा लड्नको लागि युद्धमैदान गराइदिनुहुन्छ अब एमसीसीबाट यतिले अमेरिका मान्नेवाला छैन। अब क्युबामा आक्रमण गर्न खोजिराख्या छ। ल भन्नुस् नेटोको राष्ट्रहरूको माथि नै तपाईंको चाहिँ नि उसले त्यहाँ हस्तक्षेप गरिराख्या छ। यति त हामीले बुझ्नुपर्‍यो नि ।”

पछिल्लो अध्यावधिक: चैत ९, २०८२ १९:९