close

निषेधित क्षेत्रको पदयात्रा अनुमति अब 'डिजिटल', एकल पर्यटकलाई पनि अनुमति दिइने

टेकपाना टेकपाना

चैत ९, २०८२ २३:४७

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । अध्यागमन विभागले निषेधित क्षेत्र (Restricted Area) मा पदयात्रा गर्न चाहने विदेशी पर्यटकका लागि 'ट्रेकिङ पर्मिट' प्रक्रियालाई पूर्णतः डिजिटल र झन्झटरहित बनाएको छ ।

विभागले देशका १३ जिल्लाका निषेधित क्षेत्रमा जाने पर्यटकका लागि अनलाइन प्रणालीमार्फत अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाएको हो । अब विदेशी नागरिकले कागजी झन्झट बिना नै सूचीकृत ट्रेकिङ एजेन्सीमार्फत अनलाइनबाटै पदयात्रा अनुमति प्राप्त गर्न सक्नेछन् ।

यसअघि निषेधित क्षेत्रमा पदयात्राका लागि कम्तीमा दुई जना पर्यटक हुनुपर्ने र अनिवार्य रूपमा समूहमा जानुपर्ने नियम थियो । तर, ८ चैतको विभागीय निर्णयले एकल पर्यटकका लागि पनि निषेधित क्षेत्रको पदयात्रा गर्ने बाटो खोलिदिएको छ । यद्यपि, सुरक्षा र उत्तरदायित्वलाई ध्यानमा राख्दै विभागले केही विशेष सर्तहरू भने यथावत् राखेको छ ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार एकल पदयात्रीले अनिवार्य रूपमा इजाजत प्राप्त ट्रेकिङ एजेन्सीमार्फत नै अनलाइन आवेदन दिनुपर्नेछ । साथै, पदयात्रामा अनिवार्य रूपमा लाइसेन्स प्राप्त ट्रेकिङ गाइड लैजानुपर्ने र पदयात्राका क्रममा हुन सक्ने कुनै पनि आपत्कालीन उद्धार वा अन्य घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले नै लिनुपर्ने गरी कार्यविधि तयार पारिएको छ ।

पर्यटकको सुरक्षा र निगरानीलाई थप व्यवस्थित बनाउन विभागले 'ग्रुप साइज' र गाइडको अनुपातमा पनि कडाइ गरेको छ । अब एक जना ट्रेकिङ गाइडले बढीमा सात जना पदयात्रीको मात्र नेतृत्व गर्न पाउनेछन् । ठुलो समूहमा सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले यो अनुपात (१:७) कायम गरिएको विभागको भनाइ छ ।

विदेशी नागरिकहरूले नेपाल भ्रमणमा आउनुअघि आफ्नै मुलुकबाट पदयात्रा अनुमतिका लागि आवेदन दिँदा अब भिसा नम्बरको सट्टा 'भिसा आवेदन नम्बर' (सब्मिसन आईडी) प्रयोग गर्न सक्ने गरी प्रणालीमा सुधार गरिएको छ । यसले गर्दा पर्यटकले नेपाल आउनुपूर्व नै आफ्नो पदयात्राको योजना र अनुमति प्रक्रिया टुङ्ग्याउन सक्नेछन् ।

सेवाग्राहीलाई डिजिटल प्रणाली प्रयोग गर्दा आउन सक्ने प्राविधिक समस्या समाधानका लागि विभागले छुट्टै हटलाइन नम्बर +९७७ ९७६१४२३६३६ समेत सञ्चालनमा ल्याएको छ ।

यी हुन् निषेधित क्षेत्र तोकिएका १३ जिल्ला र स्थानहरू:

१. ताप्लेजुङ: कञ्चनजंघा क्षेत्र (ओलाङचुङ्गोला र लेलेप)
२. संखुवासभा: मकालु क्षेत्र (किमाथाङ्का र चेपुवा)
३. सोलुखुम्बु: खुम्बु क्षेत्रका केही सीमावर्ती इलाकाहरू
४. दोलखा: गौरीशंकर र रोल्वालिङ क्षेत्र (लाप्चा र लामाबगर)
५. रसुवा: थामन र टिमुरे क्षेत्र
६. गोरखा: चुम भ्याली र मनास्लु क्षेत्र (छेकम्पार र ल्हो गाउँ)
७. मनाङ: नार्पा भूमि (नार र फू गाउँ)
८. मुस्ताङ: माथिल्लो मुस्ताङ (लो मान्थाङ र आसपास)
९. डोल्पा: माथिल्लो डोल्पाका विभिन्न क्षेत्रहरू
१०. हुम्ला: सिमिकोट र लिमी भ्याली क्षेत्र
११. मुगु: मुगुम कर्मांरोङ क्षेत्र
१२. बाजुरा: कोल्टी र सीमावर्ती उच्च हिमाली क्षेत्रहरू
१३. दार्चुला: ब्याँस गाउँपालिका (टिंकर र सीमावर्ती क्षेत्रहरू)

पछिल्लो अध्यावधिक: चैत ९, २०८२ २३:४९