राष्ट्रिय सुरक्षाको खतरा देखाउँदै विदेशमा निर्मित सम्पूर्ण इन्टरनेट राउटरमाथि अमेरिकाको प्रतिबन्ध
चैत १०, २०८२ ८:२
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको चिन्तालाई ध्यानमा राख्दै विदेशमा निर्मित नयाँ इन्टरनेट राउटरहरूमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सञ्चार आयोग (एफसीसी) ले सोमबार सुरक्षित नठानिएका उपकरणहरूको सूची अपडेट गर्दै अमेरिका बाहिर निर्माण गरिएका सबै उपभोक्ता-स्तरका राउटरहरूलाई त्यसमा थपेको हो ।
यो प्रतिबन्धले घर र व्यवसायहरूमा कम्प्युटर, फोन, टेलिभिजन र अन्य उपकरणहरूलाई इन्टरनेटमा जोड्न व्यापक रूपमा प्रयोग हुने राउटरहरूलाई विदेशी निर्मित ड्रोनहरूको श्रेणीमा राखेको छ । उक्त श्रेणीका उत्पादनलाई गत वर्षको अन्त्यमा प्रतिबन्ध लगाइएको थियो । रोयटर्सका अनुसार एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यस कदमको पुष्टि गरेका छन् ।
एफसीसीले भनेको छ, "दुर्भावनापूर्ण तत्त्वहरूले अमेरिकी घरपरिवारमा आक्रमण गर्न, नेटवर्कहरू अवरुद्ध गर्न, जासुसी गर्न र बौद्धिक सम्पत्ति चोरी गर्नका लागि विदेशी निर्मित राउटरहरूको सुरक्षा कमजोरीहरूको फाइदा उठाएका छन् ।" यद्यपि प्रयोगकर्ताहरूले आफूसँग पहिले नै भएका विदेशी राउटरहरू भने प्रयोग गर्न सक्नेछन् । यो प्रतिबन्ध सबै नयाँ उपकरण मोडेलहरूमा लागु हुने छ।
राउटरहरू खराब नियत राख्ने व्यक्तिहरूका लागि सजिलो पहुँचको माध्यम बनेको चिन्ता पछिल्लो एक वर्षदेखि बढ्दै गएको थियो । विशेष गरी अमेजनमा धेरै बिक्री हुने चिनियाँ ब्रान्ड टीपी-लिङ्क साइबर आक्रमणहरूको श्रृङ्खला पछि अमेरिकी राजनीतिक चिन्ताको विषय बनेको थियो ।
नयाँ नियम अनुसार अब अमेरिका बाहिर बनेका कुनै पनि नयाँ राउटरलाई आयात, मार्केटिङ वा बिक्री गर्नुअघि एफसीसीबाट स्वीकृति लिनुपर्नेछ । बीबीसी का अनुसार स्वीकृति प्राप्त गर्नका लागि निर्माणकर्ता कम्पनीहरूले आफ्ना विदेशी लगानीकर्ता वा प्रभावको बारेमा जानकारी दिनुपर्नेछ र राउटरको उत्पादनलाई अमेरिकामा सार्ने योजना पेस गर्नुपर्नेछ । रक्षा मन्त्रालय वा होमल्याण्ड सेक्युरिटी विभागले उपयुक्त ठानेमा केही विशेष राउटरहरूलाई प्रतिबन्धबाट छुट दिन सक्नेछ । तर हालसम्म कुनै पनि एजेन्सीले त्यस्तो छुट दिएका छैनन् ।
राष्ट्रिय सुरक्षामा काम गर्ने सरकारी एजेन्सीहरूले गत शुक्रबार विदेशी राउटरहरूले अमेरिकाका लागि अस्वीकार्य जोखिम निम्त्याएको निर्णय गरेका थिए । यी जोखिमहरूमा अमेरिकी आपूर्ति श्रृङ्खलामा ठुलो प्रभाव पर्ने र साइबर आक्रमण मार्फत पूर्वाधार अवरुद्ध हुने वा मानिसहरूलाई हानि पुग्ने सम्भावना रहेको छ । एफसीसीले सन् २०२४ र २०२५ को बीचमा अमेरिकी पूर्वाधारलाई लक्षित गरी गरिएका भोल्ट (Volt), फ्लाक्स (Flax) र साल्ट टाइफुन (Salt Typhoon) नामक तीन साइबर आक्रमणहरूमा राउटरहरूको प्रयोग भएको उल्लेख गरेको छ । अमेरिकी सरकारी अनुसन्धानले यी आक्रमणहरूमा चिनियाँ सरकार वा त्यसको तर्फबाट काम गर्ने व्यक्तिहरूको संलग्नता रहेको दाबी गरेको छ ।
हाल विश्वका अधिकांश राउटरहरू ताइवान वा चीनमा उत्पादन तथा एसेम्बल हुने गर्छन् । बीबीसीको रिपोर्ट अनुसार एफसीसीको यो प्रतिबन्ध अमेरिकामा डिजाइन गरेर विदेशमा निर्माण गरिएका राउटरहरू समेत पर्नेछन् । अमेरिकाको लोकप्रिय कम्पनी नेटगियरले पनि आफ्ना सबै उत्पादनहरू विदेशमै बनाउने गर्दछ । यस विपरीत एलन मस्कको कम्पनी स्पेसएक्स अन्तर्गतको नयाँ स्टारलिङ्क वाई-फाई राउटरहरू भने अमेरिकाकै टेक्ससमा उत्पादन हुने भएकाले यो प्रतिबन्धबाट मुक्त हुने छन् ।
पछिल्लो अध्यावधिक: चैत १०, २०८२ ८:२
