close

८ महिनामा नेपाल भित्रिए करिब १ लाख ४८ हजार बढी विद्युतीय चुलो, बाहिरियो साढे ३० करोड रुपैयाँ

टेकपाना टेकपाना

चैत १२, २०८२ १०:१२

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालमा करिब एक लाख ४८ हजार थान विद्युतीय चुलो भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार यस अवधिमा कुल एक लाख ४७ हजार ८६४ थान विद्युतीय चुलो आयात भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा एक लाख ५८ हजार ६ सय ८६ थान विद्युतीय चुलो भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्ष चुलो आयात १० हजार ८ सय २२ थानले घटेको विभागको तथ्याङ्कले देखाउँछ ।

आयात भएका चुलोमध्ये सबैभन्दा ठुलो हिस्सा इन्डक्सन चुलोको रहेको छ । आठ महिनामा एक लाख चार हजार ७१७ थान इन्डक्सन चुलो भित्रिएका छन् भने ४२ हजार २१८ थान इन्फ्रारेड चुलो आयात भएका छन् । यसबाहेक अन्य विभिन्न प्रकारका ९२९ थान विद्युतीय चुलो नेपाल भित्रिएका छन् ।

विद्युतीय चुलो आयातका लागि नेपालबाट फागुन मसान्तसम्म कुल ३० करोड ४१ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ । जसमा इन्डक्सन चुलोका लागि २२ करोड २७ लाख चार हजार रुपैयाँ र इन्फ्रारेडका लागि सात करोड ६७ लाख सात हजार रुपैयाँ खर्च भएको छ ।

अन्य इलेक्ट्रिक चुलो आयातमा ४७ लाख एक हजार रुपैयाँ बाहिरिएको छ । यी सामग्री आयात गरेबापत सरकारले चार करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपालले विश्वका विभिन्न १६ देशबाट विद्युतीय चुलो आयात गर्ने गरेको छ । आयातको मुख्य हिस्सा छिमेकी मुलुक चीनले ओगटेको छ । चीनबाट मात्रै २६ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरका एक लाख २५ हजार १८५ थान चुलो भित्रिएका छन् । चीनबाट आयातित चुलोबाट सरकारले तीन करोड ७२ लाख १५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

त्यस्तै, दोस्रो ठुलो स्रोतका रूपमा रहेको भारतबाट तीन करोड ६४ लाख ६९ हजार रुपैयाँ बराबरका २० हजार ८०७ थान चुलो आयात भएका छन् । भारतबाट भएको आयातबाट ४३ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यी दुई देशबाहेक कतार, यूएई, बङ्गलादेश, मलेसिया, साउदी अरेबिया, स्पेन, दक्षिण कोरिया र अमेरिका लगायतका देशबाट पनि थोरै परिमाणमा विद्युतीय चुलो आयात भएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो आठ महिनामा ३१ करोड ४० लाख ७५ हजार रुपैयाँ बराबरका विद्युतीय चुलो आयात भएको थियो । यस वर्ष आयात परिमाणसँगै बाहिरिने रकममा पनि केही कमी आएको देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष आयात मूल्यमा झण्डै एक करोड रुपैयाँ बचत भएको छ ।

यस आवकाे आठ महिनामा कुन देशबाट कति आए चुलाे ?

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १०:५७