close

प्रधानमन्त्रीको शपथअघि देश परिवर्तनको अठोट र गोर्खाली रापसहित युट्युबमा बालेनको र्‍यापः 'जय महाकाली'

टेकपाना टेकपाना

चैत १२, २०८२ २०:२०

प्रधानमन्त्रीको शपथअघि देश परिवर्तनको अठोट र गोर्खाली रापसहित युट्युबमा बालेनको र्‍यापः 'जय महाकाली'

काठमाडौँ । देशको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएसँगै बालेन शाहले आफ्नो नयाँ साङ्गीतिक कोसेली 'जय महाकाली' युट्युबमार्फत सार्वजनिक गरेका छन् । राजनीतिक व्यस्तताका बाबजुद उनले आफ्नो साङ्गीतिक पहिचानलाई निरन्तरता दिँदै आफ्नो युट्युब च्यानलमा यो गीत ल्याएका हुन् ।

आजै बिहीबार, १२ चैत २०८२ का दिन उनले प्रतिनिधिसभा सदस्य (सांसद) को रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । साथै आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेपछि उनको प्रधानमन्त्री बन्ने बाटो औपचारिक रूपमा खुलेको छ । कार्यतालिका अनुसार बालेन शाहले भोलि शुक्रबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम तय भएको छ ।

राजनीतिक जीवनको यो ऐतिहासिक मोडमा सार्वजनिक गरिएको 'जय महाकाली' गीतमा बालेनले स्वप्निल, क्रोनिकज बिट्स र फोसिलसँग सहकार्य गरेका छन् ।

गीतमार्फत उनले देशप्रेम र गोर्खाली वीरताको बखान गरेका छन् । 'जननी हो जय नेपाल' को उद्घोष गर्दै सुरु हुने यो गीतले 'जय महाकाली, आयो गोर्खाली' भन्दै नेपालीहरू अब कसैसँग नडराउने दृढता व्यक्त गरेको छ । बालेनले गीतमार्फत आफ्नो मुटुभरि आँट रहेको र दाजुभाइको साथ लिएर नेपाल आमाको शिर उच्च बनाउने कसम खाएका छन् । गीतमा 'यो पालोमा कालटीका, महाकालीको आशीर्वाद' भन्दै आफूलाई रोक्न खोज्नेहरूलाई कडा चुनौती दिइएको छ ।

गीतमा व्यक्त भाव अनुसार अब घर-घरमा हाँसो खुसी पुग्ने र नेपालीहरूको एकताको बलले नयाँ इतिहास रचिने उल्लेख छ । तराई जस्तो छाती, पहाड जस्तो शिर र सगरमाथा जस्तो चिसो निधार भएको र काममा बाधा पुर्‍याउने बैरी र अवरोधहरूलाई 'घाँटी न्याक्ने' जस्ता कडा शब्दहरू मार्फत उनले आफ्नो आक्रामक कार्यशैलीको सङ्केत दिएका छन् ।

'आगो बनी पोल्नेछु म, चिसो पनि बरफ झैँ' भन्दै उनले विश्वले नेपाललाई फरक र अनुपम ढङ्गले हेर्ने दाबी गरेका छन् । भुइँचालो झैँ गर्जिने र एकताको बलले अखण्ड नेपालको रक्षा गर्ने भाव गीतमा समेटिएको छ । विश्वमा नेपाली झन्डा फहराउने लक्ष्यका साथ गीतको समापन गरिएको छ ।

प्रधानमन्त्रीका रूपमा उनको आगामी कार्यकालको संकल्पलाई समेत गीतमा प्रतिविम्बित गर्न खोजिएको छ । एकातिर देशको सर्वोच्च कार्यकारी पद सम्हाल्ने तयारी र अर्कोतिर यस्तो ओजपूर्ण गीतको सार्वजनिकले उनका समर्थकहरू माझ ठुलो उत्साह थपेको छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ २०:२०