दुई प्रधानमन्त्री फेरिँदासम्म प्रधानमन्त्री कार्यालयको आधिकारिक टिकटकमा अझै ओलीकै फोटो
चैत १३, २०८२ १८:५८
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक टिकटक अकाउन्टमा अझै पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै तस्बिर राखिएको पाइएको छ । सत्ता नेतृत्वमा दुईपटक हेरफेर भई नयाँ प्रधानमन्त्री नियुक्त भइसक्दा पनि सरकारी अकाउन्ट अपडेट नभएको देखिएको हो ।
२२ जनवरी २०२५ देखि सञ्चालनमा आएको ‘@pmonepal’ युजरनेम रहेको उक्त अकाउन्ट ‘भेरिफाइड’ छ । ८९३ फलोअर रहेको उक्त अकाउन्टमा पूर्वप्रधानमन्त्री ओलीकै मात्र भिडिओहरू छन् भने प्रोफाइल तस्बिर पनि ओलीकै छ ।
ओलीले राजीनामा दिएको झन्डै सात महिना पुग्न लाग्दा समेत प्रधानमन्त्री कार्यालयले अकाउन्टको प्रोफाइल पिक्चर र विवरण परिवर्तन गरेको छैन । देशमा भएको २३ र २४ भदौको जेनजी विद्रोहपछि तत्कालीन प्रधानमन्त्री ओलीले २४ भदौमा पदबाट राजीनामा दिएका थिए । त्यसको तीन दिनपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन भएको थियो ।
६ महिनाभन्दा बढी समय देशको नेतृत्व सम्हालेर कार्की १३ चैत (आज) देखि बिदा भइसकेकी छन् भने नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् ।
तर, ६ महिनाभन्दा लामो समय सरकारको नेतृत्व गरेकी सुशीला कार्कीको कार्यकालमा उक्त आधिकारिक टिकटक अकाउन्टमा नयाँ सरकारका कुनै पनि गतिविधि र जानकारी अपडेट गरिएनन् । यतिसम्म कि कार्कीको बिदाइ र नयाँ प्रधानमन्त्रीमा बालेन शाहको नियुक्ति भइसक्दा समेत अकाउन्टमा तत्कालीन प्रधानमन्त्री ओलीकै तस्बिर कायम छ ।
निवर्तमान प्रधानमन्त्री कार्कीले पदभार सम्हालेको केही समयमै उनको व्यक्तिगत टिकटक अकाउन्ट सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा आएको करिब छ महिनाको अवधिमा उक्त अकाउन्टमा ४५ हजारभन्दा बढी फलोअर पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा समेत उनको व्यक्तिगत टिकटकको लिङ्क राखिएको छ । तर कार्यालयको आधिकारिक टिकटक अकाउन्टलाई भने बेवास्ता गरिएको छ ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १९:८
