५२ वर्षपछि पुनः चन्द्रमामा मानव पठाउँदै नासा, यस्तो छ ‘आर्टमिस २’ को भव्य तयारी
चैत १४, २०८२ २१:१
काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि पुनः चन्द्रमामा मानव पठाउने ‘आर्टमिस २’ मिसनका लागि अन्तिम तयारी तीव्र पारेको छ । आगामी अप्रिलमा प्रक्षेपण गर्ने लक्ष्य राखिएको यो मिसनको सफलता र अन्तरिक्ष यात्रीको सुरक्षाको सम्पूर्ण कमान टेक्ससको ह्युस्टनस्थित क्रिस्टोफर सी. क्राफ्ट जुनियर मिसन कन्ट्रोल सेन्टरबाट परिचालन गरिनेछ ।
सन् १९६० को दशकमा सुरु भएको अन्तरिक्ष दौडको समयमा जस्तै यसपटक पनि मिसन कन्ट्रोल नै चन्द्रयात्राको मुख्य केन्द्र रहनेछ । तर, अपोलो मिसनको तुलनामा २१औँ शताब्दीको यो आधुनिक कन्ट्रोल सेन्टर प्रविधि र कार्यशैली दुवै हिसाबले पूर्ण रूपमा परिमार्जित भएको छ ।
अपोलोदेखि आर्टमिससम्म: के फेरियो ?
अपोलो मिसनका बेला कन्ट्रोल रुममा ठुला बटन भएका कन्सोल, सेता र काला मोनिटरहरू र धुमपानका कारण भरिने धुवाँ सामान्य मानिन्थ्यो । तर, नयाँ आर्टमिस मिसन कन्ट्रोलमा ती पुराना प्रविधिलाई टचस्क्रिन, किबोर्ड र आधुनिक एलईडी लाइटहरूले विस्थापित गरेका छन् ।
प्रविधि मात्र नभई जनशक्तिमा पनि ठुलो परिवर्तन देखिएको छ । अपोलो युगमा मिसन कन्ट्रोलमा प्रायः गोरा जातिका पुरुषहरूको मात्र बाहुल्यता थियो । तर, अहिलेको आर्टमिस टोलीमा महिलाहरूको नेतृत्वदायी भूमिका र विविधतापूर्ण दक्ष जनशक्ति सहभागी छन् ।
आर्टमिस २ की ९ फ्लाइट डाइरेक्टरमध्ये एक फियोना एन्टकावियाक भन्छिन्, “पहिलो फ्लाइट डाइरेक्टर क्रिस क्राफ्टले बनाएको संरचनाले समयको परीक्षा पास गरेको छ, तर अहिलेको टोली धेरै समावेशी र प्रविधिमैत्री छ ।”
मिसनको मुख्य चुनौती र सुरक्षा
आर्टमिस २ मिसन १० दिनको हुनेछ, जसमा चार अन्तरिक्ष यात्रीहरूले विशाल ‘एसएलएस' रकेट’ र ‘ओरियन’ क्याप्सुलमार्फत चन्द्रमाको परिक्रमा गर्नेछन् । ह्युस्टनमा रहेको टोलीले २४सै घण्टा तीन सिफ्टमा काम गर्दै अन्तरिक्ष यात्रीको मुटुको धड्कनदेखि रकेटको मार्गसम्म निगरानी गर्नेछ ।
मिसनको सबैभन्दा कठिन घडी ट्रान्सलुनार इन्जेक्सन हुने बताइएको छ । यो यस्तो निर्णय हो, जसमा अन्तरिक्ष यानलाई चन्द्रमाको कक्षमा पठाउन ‘गो’ वा ‘नो-गो’ भनी निर्णय गरिन्छ । एकपटक चन्द्रमातर्फ लागेपछि सुरक्षित रूपमा पृथ्वी फर्कन निकै कम विकल्पहरू बाँकी रहन्छन् ।
यसका साथै, चन्द्रमाको पछाडि जाँदा करिब ४० मिनेटसम्म पृथ्वीसँगको सञ्चार पूर्ण रूपमा विच्छेद हुनेछ । उक्त समयमा अन्तरिक्ष यात्री र कन्ट्रोल रुमबिच कुनै सम्पर्क हुने छैन ।
जोखिम र पूर्वतयारी
अन्तरिक्ष यात्रा सधैँ जोखिमपूर्ण हुन्छ । सन् २००३ को कोलम्बिया सटल दुर्घटनालाई स्मरण गर्दै ओरियन मिसन इभ्यालुएसन रुमका प्रमुख ट्रे पेरीम्यान भन्छन्, “कोलम्बिया दुर्घटनाले ममा गहिरो छाप छोडेको छ । हामीले गर्ने हरेक सानो काम अन्तरिक्ष यात्रीलाई सुरक्षित घर फर्काउनका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।”
कुनै पनि प्राविधिक त्रुटि नहोस् भन्नका लागि टोलीले महिनौँदेखि कृत्रिम अभ्यास गरिरहेको छ । तीन घण्टाको अभ्यासमा १० ओटा समस्या आइपर्दा कसरी समाधान गर्ने भन्नेबारे टोलीलाई दक्ष बनाइएको छ ।
ओरियन क्याप्सुल पृथ्वीको वायुमण्डलमा फर्कँदा करिब २५ हजार माइल प्रतिघण्टाको गतिमा हुनेछ र यसले २,००० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्नुपर्नेछ । यो नै मिसनको सबैभन्दा खतरनाक चरण मानिएको छ ।
अन्तरिक्ष यात्रीको सुरक्षा र मिसनको लक्ष्य पूरा गर्नु नै मिसन कन्ट्रोलको अन्तिम उद्देश्य रहेको नासाले जनाएको छ । यस मिसनले भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्ने र मङ्गल ग्रहसम्म पुग्ने नासाको महत्त्वाकांक्षी योजनाका लागि जग बसाल्ने विश्वास गरिएको छ ।
-बीबीसीको सहयोगमा
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ २१:१
