विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न ‘बोर्ड अफ ट्रस्टी’ मोडलको प्रस्ताव
चैत १८, २०८२ ७:४९
काठमाडौँ । नेपालका विश्वविद्यालयहरूलाई दलीय राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त गरी स्वायत्त बनाउन ‘बोर्ड अफ ट्रस्टी’ मोडलको अवधारणा अघि सारिएको छ । जेनजी पुुस्ताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ ले उच्च शिक्षामा प्राज्ञिक र प्रशासनिक स्वतन्त्रता सुनिश्चित गर्न यस्तो प्रस्ताव गरेको हो ।
मार्गचित्रको प्रतिवेदन अनुसार हाल नेपालका विश्वविद्यालयहरूमा उपकुलपतिदेखि तल्लो तहका पदाधिकारीको नियुक्ति योग्यता र क्षमताभन्दा पनि राजनीतिक आस्था र भागबन्डाका आधारमा हुने गरेको छ । यसले गर्दा विश्वविद्यालयको समग्र शैक्षिक वातावरण नै बिग्रिएको ठहर गरिएको छ । विश्वविद्यालयहरू ज्ञान उत्पादन र अनुसन्धानको केन्द्र हुनुपर्नेमा हाल केवल शैक्षिक प्रमाणपत्र वितरण गर्ने सामान्य शिक्षण केन्द्रमा मात्र सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै भर्ना, परीक्षा र नतिजा प्रकाशनको कुनै निश्चित समयतालिका नहुँदा विद्यार्थीहरूको महत्त्वपूर्ण समय खेर गइरहेको र यसले गर्दा युवाहरू विदेश पलायन हुने क्रम बढिरहेको मार्गचित्रमा उल्लेछ छ । राजनीतिक शक्ति सङ्घर्षको चपेटामा विश्वविद्यालयहरू रहेको उल्लेख गर्दै मार्गचित्रमा भनिएको छ, “विश्वविद्यालयहरू विद्यार्थी, प्राध्यापक एवं पदाधिकारीको त्रिकोणीय राजनीतिक शक्ति सङ्घर्षको चपेटामा रहेका छन् ।”
यस्ता विद्यमान समस्या समाधानका लागि विश्वविद्यालयहरूलाई सरकारी र राजनीतिक नियन्त्रणबाट पूर्ण रूपमा अलग गरिनुपर्ने तर्क मार्गचित्रले अघि सारेको छ । यसका लागि विश्वविद्यालयहरूलाई स्वायत्त ‘बोर्ड अफ ट्रस्टी’ मार्फत सञ्चालन गर्न र नयाँ ‘उच्च शिक्षा सङ्घीय कानुन’ निर्माण गरी पूर्ण स्वायत्तता प्रदान गर्न सुझाव दिइएको छ ।
संस्थागत सुधारकै क्रममा विश्वविद्यालय अनुदान आयोग (यूजीसी) लाई पुनर्संरचना गरी अधिकारसम्पन्न ‘उच्च शिक्षा आयोग’मा रूपान्तरण गरेर एकद्वार प्रणालीबाट नियमन तथा अनुदान व्यवस्थापन गर्न समेत सुझाव दिइएको छ । मार्गचित्रले विश्वविद्यालयका सबै तहका नियुक्तिहरू खुला प्रतिस्पर्धा र कार्यसम्पादन सम्झौताका आधारमा मात्र गर्ने गरी कानुनी व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।
यो योजना कार्यान्वयन गर्ने जिम्मेवारी एक वर्षको समयसीमा निर्धारण गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई तोकिएको छ ।
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ ८:२
