close

श्रम मन्त्रालयले भन्यो: ट्रेनी कर्मचारीलाई न्यूनतम पारिश्रमिक सहितका सुविधाबाट वञ्चित नगर्नू

टेकपाना टेकपाना

चैत २३, २०८२ १७:९

श्रम मन्त्रालयले भन्यो: ट्रेनी कर्मचारीलाई न्यूनतम पारिश्रमिक सहितका सुविधाबाट वञ्चित नगर्नू

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमी (ट्रेनी) को रूपमा काममा लगाइएका व्यक्तिलाई कम्तीमा न्यूनतम पारिश्रमिक सुविधा उपलब्ध गराउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुन अनुसार न्यूनतम पारिश्रमिकसँगै बिरामी बिदा तथा उपदान, पञ्चकोष, बीमा लगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने विषय स्मरण गराएको हो ।

“यस मन्त्रालयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकको रूपमा कार्यरत स्वास्थ्यकर्मी/नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीका साथै अन्य विभिन्न प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूबाट तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाहरू नपाएको भन्ने उजुरी तथा गुनासोहरू प्राप्त भएका छन् । यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

श्रम ऐन तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदातालाई मन्त्रालयले अनुरोध गरेको छ । यस विपरीत न्यूनतम पारिश्रमिक लगायतका सुविधाहरूबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन आकर्षित हुने विषय समेत स्पष्ट पारिएको छ ।

“उक्त कानुनको स्वतः स्फूर्त परिपालना गर्न सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरूलाई हार्दिक अपिल गरिन्छ,” विज्ञप्तिमा अगाडि भनिएको छ ।

श्रम ऐन २०७४ को दफा १८ अनुसार रोजगारदाताले काम सिकाउँदै तालिम दिने गरी कुनै व्यक्तिलाई काममा लगाउन सक्ने व्यवस्था छ । तर यस्तो तालिम अवधि एक वर्षभन्दा बढी हुन नहुने भनिएको छ । यसरी तालिमीको रूपमा काममा लगाइएको व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चय कोष, बिमा लगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने हुन्छ ।

साथै तालिम अवधि सकिएपछि तालिमीलाई काममा राख्न रोजगारदाता बाध्य नहुने र सोही रोजगारदाताले सोही तालिमीलाई काममा राखेमा निजको हकमा परीक्षणकाल लागु नहुने प्रावधान उक्त दफामा रहेको छ ।

ट्रेनी र प्रशिक्षार्थीको विषयमा भने ऐनले फरक किसिमले व्याख्या गरेको छ । ऐनको दफा १६ अनुसार कुनै प्रतिष्ठानले कुनै शिक्षण संस्थासँग सम्झौता गरी त्यस्तो संस्थाको स्वीकृत पाठ्यक्रम अनुसार कुनै व्यक्तिलाई प्रशिक्षार्थीको रूपमा काममा लगाउन सक्छ ।

त्यस्तो प्रशिक्षार्थीलाई श्रम ऐनले श्रमिक नमानिने स्पष्ट पारेको छ । तर स्वीकृत पाठ्यक्रम विपरीत काममा लगाएमा भने निजलाई नियमित रोजगारीमा रहेको श्रमिक मानिन्छ । साथै प्रशिक्षार्थीलाई काममा लगाउँदा दैनिक आठ घण्टा तथा साप्ताहिक ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नहुने र व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्था प्रशिक्षार्थीको हकमा श्रमिक सरह लागु हुने कुरा ऐनमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १७:३४