गाली मात्र होइन, ज्यान मार्ने र एसिड छ्याप्ने धम्कीसम्म पुग्यो साइबर बुलिङ: रामकुमारी झाँक्री
चैत २३, २०८२ १८:३३
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका महिला सांसदहरूको टोलीले सामाजिक सञ्जालमा बढ्दै गएको साइबर बुलिङ र महिलामाथिको दुर्व्यवहार नियन्त्रणको माग गर्दै सोमबार साइबर ब्युरोमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेतृहरूको टोलीले भोटाहिटीस्थित ब्युरो पुगेर पछिल्लो समय भर्चुअल प्लेटफर्ममार्फत महिला र विशेषगरी किशोरीहरू साइबर बुलिङ, अपमानजनक व्यवहार, घृणा र नकारात्मक टिप्पणीको सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।
ध्यानाकर्षण पत्रमा यस्ता गतिविधिले पीडितहरूको आत्मसम्मानमा ठेस पुग्नुका साथै उनीहरूको मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरिएको छ ।
टोलीले ब्युरो प्रमुखलाई बुझाएको सात बुँदे मागमा साइबर बुलिङ सम्बन्धी उजुरीहरूको छिटो र प्रभावकारी अनुसन्धान हुनुपर्ने, पीडितलाई सहज रूपमा उजुरी दिने र मनोवैज्ञानिक सहयोग पाउने वातावरण सिर्जना गरिनुपर्ने तथा दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही सुनिश्चित गरिनुपर्ने विषय समेटिएका छन् ।
सांसदहरूले कुनै पनि हालतमा दोषीले उन्मुक्ति पाउन नहुने र महिलाहरूको अनलाइन सुरक्षाका लागि प्रहरीले प्रभावकारी निगरानी बढाउनुपर्नेमा जोड दिएका छन् । साथै, सामाजिक सञ्जालमा हुने दुर्व्यवहार विरुद्ध विभिन्न सङ्घ-संस्थासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न समेत उनीहरूले आग्रह गरेका छन् ।
ब्युरो बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेतृ एवं सांसद रामकुमारी झाँक्रीले साइबर बुलिङको प्रकृति पछिल्लो समय निकै भयावह र हिंसात्मक बन्दै गएको बताइन् । “पहिले सामाजिक सञ्जालमा गालीगलौज मात्र हुन्थ्यो, जुन अलिअलि सहने खालको हुन्थ्यो,” झाँक्रीले भनिन्, “तर अहिले त 'तिमीलाई आजै उठाउँछु', 'तिम्रो लोकेसन ट्र्याक गरिरहेको छु', 'तिमी कहाँ बस्छौ मलाई थाहा छ' भन्दै ज्यान मार्ने, एसिड छ्याप्ने, बेपत्ता बनाउने र घरमै आगो लगाउनेसम्मका धम्कीहरू आउन थालेका छन् ।”
सांसद झाँक्रीले धेरै महिला, भाइबहिनी र केटाकेटीहरू समेत यस्तो साइबर बुलिङको सिकार भइरहेको बताउँदै यसलाई रोक्न प्रहरीले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले थपिन्, “नीतिगत हिसाबले के गर्नुपर्छ र कानुन कसरी बनाउने भन्ने कुरा हामी संसद्मा गर्ने नै छौँ, विज्ञहरूसँग छलफल पनि गरिरहेका छौँ । तर अहिले भइरहेका जघन्य खालका साइबर अपराधमाथि प्रहरीले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।”
पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १८:४२
