close

डिजिटल नेपालका लागि विश्वविद्यालयलाई प्रविधि र अनुसन्धान बजेट दिन सांसद साहको माग

टेकपाना टेकपाना

चैत २४, २०८२ १४:८

डिजिटल नेपालका लागि विश्वविद्यालयलाई प्रविधि र अनुसन्धान बजेट दिन सांसद साहको माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अरबिन्द साहले डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद साहले सूचना प्रविधि (आईटी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र इन्टरनेट अफ थिंग्स (आईओटी) सम्बन्धी रिसर्च तथा डेभलपमेन्टको बजेट सिधै विश्वविद्यालयहरूलाई प्रदान गर्न सरकारसँग माग गरेका हुन् ।

मुलुकलाई प्रविधिमैत्री बनाउन र दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक संस्थाहरूलाई अनुसन्धानमा सहभागी गराउनुपर्नेमा उनको जोड थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद बनेका साहले भने, “डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न आईटी, एआई र आईओटी सम्बन्धी रिसर्च तथा डेभलपमेन्टको बजेट विश्वविद्यालयहरूलाई प्रदान गरियोस् ।”

प्राज्ञिक क्षेत्र र सरकारी कार्यसम्पादनबीचको दूरी घटाउन सांसद साहले एक प्रस्ताव समेत अघि सारेका छन् । उनले विश्वविद्यालयका विद्यार्थीहरूलाई सरकारी मन्त्रालय तथा विभागहरूमा अनिवार्य रूपमा ६ महिनाको प्रयोगात्मक (प्र्याक्टिकल) कोर्षको व्यवस्था गर्न माग गरे ।

यसका साथै, सांसद साहले कृषि क्षेत्रमा आत्मनिर्भरताका लागि समयमै मलखाद र सिँचाइको व्यवस्था गर्न तथा झन्झटिलो कृषि बीमालाई विस्थापित गरी डिजिटल कृषि बिमा लागु गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

 

पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १४:५३